( कोहीसँग मेल खाएमा संयोग मात्रै हुनेछ )

हस्पिटलमा दिनहुँजसो कोही न कोही बिरामी मरे कै हुन्थे । रुवाबासी भए कै हुन्थ्यो । तर यस्तो हुँदापनि म मर्ने दिन अाएन ? यहाँ भएका सबै बिरामीहरु एक एक गर्दै माथि जाँदा म जान सकिन । जान चाहेर मात्रै नहुने रहेछ ।
किन मान्छेहरू मर्न भन्दा बौलाउन जाती भन्छन् ? यदी हाँसेर खुशीसाथ बाँच्न पाइँदैन भने बाँचेर के काम ? यो स्वार्थी संसारमा निरीह भएर बाँच्न भन्दा त माथि कित्ता काटेर जान जाती । तर कित्ता फाँटमा पनि खाली ठाउँ हुनुपर्ने रहेछ । त्यसैले अाज सात सात महिना सम्म हस्पिटलको बेडमा हुँदा पनि जान सकेकी छैन ।
************************************************************************************
उठेर यताउता जाऊँ भने पनि हिँड्न सक्दिन । यही बेडमा बस्न त गाह्रो हुन्छ । शरीर पोलेर अाउँछ । भित्र कता हो कता दुखिरहन्छ । यस्तो दुखाइ सहन साह्रै कठिन हुने रहेछ ।
हस्पिटलमा प्रायःजसो दिनभरि एक्लै हुन्थेँ । मन भुलाउन लागि झ्यालबाट बाहिर टाढा टाढा सम्म हेर्थेँ । यतीबेला शिशिर ऋतु हुनाले प्राय बोट विरुवाहरु पात झरेर खिङग्रिङ परेका थिए ।झट् हेर्दा सुके जस्ता देखिन्थेँ । तरपनि सुकेका हुँदैनथे । वसन्त ऋतुको अागमनसँगै ती बोटहरुमा पालुवा पलाएर पूर्णरूपमा अाफ्नो हरियाली स्वरुपमा फर्कन्थे । यही मौसममा धेरै बोट विरुवाहरु फूल्छन् , केही समय सौन्दर्य छर्छन् शोभा दिन्छन् र झर्छन् भने कुनै फल्छन् पनि ।

यसैगरी पतझर पछिको हरियाली र हरियाली पछिको पतझर अाइरहने र गइरहने प्रकृतिको नियम हो । शिशिर ऋतु पछि वसन्त अाए झैं मानव जीवनमा पनि दु:ख पछिको सुख र सुख पछिको दु:ख अाउने जाने गर्नु पर्ने हो । तर मलाई कहिल्यै सुख अाएन ।

***********************************************************************************
हजुरअामाले मलाई सधैं भाग्यमानी छ नातिनी भन्नुहुन्थ्यो । कसरी हजुरअामा — प्रश्न गर्थेँ ?
हँसिलो अनुहार , ठूलो निधार ,हातका अौला भरी भकारीका चक्र र मङ्सिर महिनाको जन्मलाई नै उहाँले म भाग्यमानी भएको घोषणा गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो जिन्दगीमा तैंले अाँशु झार्न पर्दैन नानी ।

अहिले हजुरअामाका कुरा सम्झन्छु । जिन्दगीलाई नियाल्छु र सोच्छु । मैले सुख , सन्तोष पाएको र अाँसु नझारेको क्षण सायद कमै छन् होला ।
उमेर सानो भएपनि बाँसको मुना जस्तै सलक्क बढेकी थिएँ । निकै हृष्टपुष्ट देखिन्थेँ । सानै उमेरमा ठूलो देखिनु पनि अभिसाप नै रहेछ क्यार । उमेरलाई ख्याल नगरिकन उचाइलाई ख्याल गरेर बिहेका प्रस्ताव अाउन थाले । बुबाले पनि अाखिर छोरीको जातलाई दिनै पर्छ सोच्नु भयो र दिनु भयो ।
*************************************************************************
जति बेला मेरो बिहे भएको थियो त्यतिखेर मैले भर्खरै S.L.C दिएर बसेकी थिएँ । चिने जानेको कुलकुटुम्ब , पढेको जागिरे केटो । सायद यत्तिको ठाउँमा छोरीलाई दिए छोरी सुखी हुन्छे भन्ने सोचेरै होला दिनु भएको पनि । बिहे भएको केही महिनापछि उक्त परिक्षाको नतिजा प्रकाशन भयो । प्रथम श्रेणीमा पास भएँ । मेरो कलेज पढ्ने ठूलो ईच्छा थियो । तर मेरो ईच्छा सिसा फुटे सरी चकनाचुर भएर फुट्यो । घरायसी कारण देखाएर पढ्नबाट बन्चित गराइयो ।

घरको परिस्थिति बुझ्दा मलाई घर कै चौघेराभित्र बाँधेर राख्ने छाँट देखियो । घरभित्र बाहिर गोठ र खेतबारीमा नै मेरो जीवन सिमित पार्नु पर्ने देखेर ज्यादै दुखी भएँ । पढ्न पाउँछु कि भनेर घरका सम्पूर्ण सदस्यहरुसँग अनुनय विनय गरेँ । श्रीमानका पाउ परेेँ । तर कसैको पनि म माथि दया पलाएन । जीवनमा कलम समाउने अभिलाषा पालेकी म हँसिया ,कुटो कोदालो र गोबर समाएर बस्नु पर्यो। मेरो मन पढ्नको लागि पूर्णरूपमा मरे तापनि भित्रभित्र जागिरको खोजी गरिरहेकी थिएँ । तर कतै पाउन सकेकी थिइन ।
***************************************************************************
यसरी झ्यालबाट बाहिर हेरेर विगत सम्झँदै गर्दा कहिलेकाहीँ हजुरलाई कस्तो छ —– भन्दै नर्स अाइ पुग्थिन् ।
बाँच्ने अाशा नै नभएकी मलाई के हुनु छ र ? किन हजुरहरुले मलाई मर्ने इन्जेक्सन दिन सक्नु हुन्न ? बाँच्ने अाशा नै नभएका बिरामीहरुले मर्न चाहेमा मर्न पाउने प्रावधान यहाँ किन छैन ? मलाई मारि दिनुहोस् । म मर्न चाहन्छु भन्दै नर्ससँग अाफ्ना पीडा पोख्थेँ ।
मेरा कुराले नर्स दंग पर्थिन् र भन्थिन् —- चिन्ता नगर्नुहोस् , अब हजुर ठिक भएर घर गई फेरि अाफ्नो सम्पूर्ण काम गर्न सक्नुहुनेछ । तर हजुर किन बेला बेलामा हस्पिटलमा चेक गर्न अाउनु भएन ? हजुर अाफैँ शिक्षक , सबैलाई स्वास्थ्य सम्बन्धि ज्ञान बाँड्नु पर्ने व्यक्ति । झन् आफैं कहिल्यै पनि चेकअप गर्न नअाउनु भनेको कुरा त अचम्मैको कुरा हो नि — प्रश्न गर्थिन् ।

*************************************************************************

उनका ती प्रश्नले मेरो मनमा गाँठो पर्दथ्यो । उनलाई के थाहा मेरा व्यथाहरु । पुरानो चलनको घर सम्पूर्ण रीतिरिवाजलाई मानेर अगाडि बढ्नु पर्ने अवस्था थियो । सासू ससुरा श्रीमान लगायत सम्पूर्ण घरका सदस्यहरुले खाना खाएपछि मात्रै मेरो खाने पालो अाउँथ्यो । कहिले खाना पुग्थ्यो त कहिले हातमुख जोडेर उठ्नु पर्ने हुन्थ्यो ।
बुहारी भनेको तेस्रो दर्जाका मान्छे हुन भन्ने सोचले जरा गाडे विद्यमान समाजको एउटा मुख्य उदाहरण थियो मेरो घर । त्यसैले कसैसँग बोल्नु हाँस्नु र कुरा गर्नु परको कुरा थियो । कहिल्यै हाँसेर नथाक्ने म बिहे पछि हाँस्न पनि बिर्सिसकेकी थिएँ । जेठाजु भने अलि विद्रोही पाराको हुनुहुन्थ्यो । उहाँले घरका यस्ता पुराना चालचलनलाई फिटिक्कै मान्नु हुँदैनथ्यो । यसरी चलन बिरोधि भएको हुँदा घरमा नबसी डेरामा बस्नुहुन्थ्यो र उतै जागिर खानुहुन्थ्यो । कामको सिलसिलामा अाफू जहाँ जानुहुन्थ्यो जेठानी दिदीलाई पनि साथमा नै लानु हुन्थ्यो । उहाँहरु वर्षदिनमा एकदिन दशैको टीका थाप्न अाउनु हुन्थ्यो र तत्कालै उहीँ दिन फर्कनु हुन्थ्यो । देवर भने अलि सानै थिए । त्यसैले म नै त्यो घरकी एक्ली बुहारी भएर काम गर्नु पर्थ्यो । त्यसमाथि पनि पिजडा भित्र बाँधिएर ।
********************************************************************************
जागिरे छोरोको बिहे गरेपनि दाइजो केही पनि ल्याइन भनेर सासू ससुराको दिनदिनै भनाइ सुन्नु पर्थ्यो भने श्रीमानको त खप्की नै खानु पर्दथ्यो । एउटा शिक्षित व्यक्ति चाहेमा समाजको अामुल परिवर्तन गर्न सक्ने शिक्षकले पनि बारबार दाइजोको विषय उठाएर मानसिक यातना दिँदा मलाई सहन ज्यादै कठिन हुन्थ्यो । यस्तो परिस्थितिमा अकालमा ज्यान फाल्न मन लाग्थ्यो । म यो घरमा परिवारकी सदस्य हुन अाएकी हुँ कि दास ? यी नरपशुहरुले मलाई माया गर्ने हुन कि दाइजोलाई ? किन यो समाजमा छोरो भएर जन्मँदैमा सम्पूर्ण अधिकार प्राप्त व्यक्ति हुन पाउँछ ? बिहे गरेर ल्याएकी श्रीमतीलाई अाफ्नो अंगको रुपमा नहेरी विभिन्न बस्तुहरुसँग तुलना गर्न पाउँछ किन ? यस्तै प्रश्नहरु मनमा उब्जन्थे । मनभरि बिद्रोहको अागो बल्दथ्यो । बिद्रोह गरेरै छाड्छु झैँ लाग्थ्यो तर फेरि यही समाजको अर्को रुप हेर्थेँ र सहन बाध्य हुन्थेँ ।

दाइजो ल्याउन सके श्रीमानको र परिवारको माया पाउँछु कि भन्ठानी बुबा अामासँग बिन्ती बिसाएँ । छोरीले सुख पाउली भन्ठानेर उहाँहरु दाइजो स्वरुप अाफ्नो अंशको केही भाग काटेर घडेरी दिनुभयो । घडेरी दाइजो स्वरुप ल्याउँदा पनि घर व्यवहारमा कुनै परिवर्तन भएन ।
**********************************************************************
श्रीमान जागिरे भएर पनि तलब कति र कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा थिएन । चुरा पोते तथा अावश्यक सामान किन्न परेमा माइतीबाट नै पैसा ल्याउनु पर्थ्यो । त्यसैले जागिर खाए अाफ्नो खर्च पनि टर्ने र शरीरले पनि केही सुख पनि पाउने सोची शिक्षा अायोगमा फारम भरेँ । सबैका अाँखा छलेर पढेँ र परीक्षा दिन गएँ । संयोगबस नाम निकालेँ र प्रा . वि . स्तरमा स्थायी शिक्षक भएँ ।
बिद्यालय फरक भए पनि दुवै स्थायी शिक्षक थियौँ । देख्नेलाई कति सुन्दर भविष्य र सुखी जीवन थियो हाम्रो । डाहा गर्नेको कमी थिएन । बाहिरी दुनियाँमा सबैले अहो फलानी भन्ने भएकी थिएँ । तर भित्री दुनियाँ गजवको थियो मेरो । मेरो त्यो भित्री दुनियाँ थाहा पाउने कमै थिए होलान् ।
*****************************************************************************
जब जागिर शुरु गरेँ । मेरा अाँखाबाट रगतका अाँसु बहन शुरु गरे । केही समयपछि ठिक होला भन्दै जागिर र घर धानी रहेँ । सबैले खाएपछि खाने र घरको सम्पूर्ण काम सकेर बिद्यालय जानू पर्ने हुन्थ्यो । खाना खाएर धन्दा गर्न ढिला हुने हुँदा धेरैजसो खाना नखाइकनै बिद्यालय जान्थेँ । बिद्यालयमा पनि पेटभरि खाजा खान सम्भव थिएन । खाजा खाँदा तलब घट्थ्यो । तलब बुझे अनुसार घरमा लगेर नबुझाए सम्पूर्ण परिवार अागो हुन्थे र नानाथरी भनेर गाली गर्दथे ।

यतिबेला सम्म देवर राजधानीमा बसेर जागिर खान शुरु गरेका थिए । पछि उनले उतै बिहे गरे । घरको सबै कुरा भोगेका हुनाले श्रीमतीलाई घरमा मुख देखाउनसम्म पनि ल्याएनन् । घर र सम्पत्ति सम्पूर्ण परिवारको साझो थियो भने त्यहाँ गर्नु पर्ने सम्पूर्ण काम मेरो मात्रै थियो ।
सुख र सन्तोषका दिन अाउँलान् भन्दाभन्दै झन् कठिनाईका दिनहरु अाइरहे । राम्रोसँग पेटभरि खाना खान नपाएर शारीरिक अवस्था नाजुक हुँदै गयो । बच्चा जन्मदा समेत माइतीमा गएर अाराम गर्न नपाएको शरीर झन्झन् कमजोर हुँदै गएको थियो ।

श्रीमान शिक्षित र शिक्षक भएर पनि विवेकशील थिएनन् । उनलाई अाफ्नो स्वार्थ पूर्ति गर्न र सम्पूर्ण तलब हातमा पार्न पाए हुन्थ्यो । उनलाई मेरो सन्चो बिसन्चोमा कुनै मतलब नै थिएन । बिसन्चो हुँदा पनि उनको मनोमानीको साधन बन्नु पर्ने हुन्थ्यो । जसले गर्दा मेरो स्वास्थ्य स्थिति दिनानुदिन नाजुक हुँदै गयो । महिनावारी हुँदा र अन्य समयमा पनि रक्तस्राव बढी हुने र लामो समयसम्म भैरहने हुन थाल्यो ।
**************************************************************************
मेरो स्थिति देखेर बुबा अामाले दाइजो स्वरुप दिनुभएको घडेरीमा घर बनाइदिनु भयो । त्यो घरमा सबै हाँसीखुशी भित्रिए तर मेरा सुखका दिन भित्रिएनन् । यतिबेला सम्म मलाई विभिन्न रोगहरुले ग्रसित पारी सकेको थियो । तल्लो पेट दुख्ने , भित्रभित्रै पोल्ने , खान नरुच्ने , हिँडडुल गर्न पनि गाह्राे हुन्थ्यो । जस्ले गर्दा म घरपरिवार लगायत श्रीमानबाट झनै हेला हुन पुगेकि थिएँ । सकि नसकी सम्पूर्ण काम गरेर बिद्यालय जान्थेँ एकदिन बिद्यालयमा नै पठाउने क्रममा बेहोस् भएछु र स्टाफहरुले मिलेर अस्पतालमा लैजानु भएछ । हस्पिटलमा सबै चेकअप गर्दा डाक्टरहरूले मलाई क्यान्सर रोग लागेर पनि फैलिसकेको जानकारी दिए । अब यसको रोकथाम भने कै काल कुरेर बस्नु थियो । त्यसैले अहिले यहाँ काल कुरेर बसेकी छु । देऊ मलाई एउटा विषको इन्जेक्सन । म मर्न चाहन्छु । म बाँचेर पनि मरे कै लास हुँ । मेरो बचाइको कुनै अर्थ छैन । अब अरुको दास र कठपुतली भएर बाँच्न चाहन्न भनेर नर्सलाई भन्दै थिएँ । त्यही बेलामा श्रीमान अाएर मायालु पाराले हात समाए । अाँखाबाट बगेका अाँसु पुछिदिए ।
बाँचुन्जेल नपाएको सहानुभूति अन्तिम घडीमा पाइरहेकी थिएँ । यो सहानुभूतिले मलाई भित्रै देखि पोलेर अायो । अन्तिम घडीमा भएपनि बिद्रोह गर्न मन लाग्यो र भनेँ —- हजुरलाई बाँचुन्जेल पुग्ने सम्पत्ति कमाइ दिएँ । घर घडेरी पनि दाइजो स्वरुप ल्याइदिएँ । मरेपछि पनि हजुरलाई नै उपदान अाउने छ । बरु मलाई कतै लगेर एक्सिडेन्ट्मा पारेर मारिदिनु भयो भने हजुरलाई जीवन विमाले पनि पैसा देला । त्यही पैसा नै हजुरको जीवनभरको साथी हुनेछ ।
मैले यति भन्दा उनका अाँखा रसाए झैँ देखिन्थे । बल्ल अाफुले गरेको अपराधको बोध गरे झै लाग्थ्यो । अपराध बोध भन्दा पनि अब कसैले छोरी दिँदैनन् कि भन्ने पश्चातापका घेराहरु उनका अनुहारमा देखिन्थे । मलाई बेडबाट उठेर हस्पिटलको झ्यालबाट बाहिर हेर्न मन लाग्यो । पहिला खिङग्रिङ्ङ परेर सुके जस्ता देखिने बोट विरुवामा पनि पात पलाएर हरिया भैसकेका थिए । फूल फुलेर फल लागेका बोटहरुमा फल खाने बेला भएको थियो ।
धेरै बेर सोचेँ र भनेँ — अाखिर जीवन के नै रहेछ त ? मेरो जीवनमा सबथोक थियो र पनि शिशिर नै रह्यो । वसन्त हुन कहिल्यै सकेन । जागिर थियो , छोरा र छोरी थिए , बुबा अामाले दिएको घर थियो तर पनि केही थिएन । न जीवन स्वस्थ ,ह्यो , न कहिल्यै सन्तोष भयो ? म किन अरुका सामु हाँसेर हिड्न सकिन ?
मेरो जीवनमा सधैं शिशिर नै रह्यो । बसन्त ऋतु अाए पनि शिशिर कै रुप लिएर अायो । वसन्त कहिले अायो गयो पत्तै भएन । जीवनमा फुलेँ । तर अरुको बगैंचामा । अाफ्नै बगैंचामा निस्फिक्री रुपमा फुल्न किन पाइन । फुलेर सुवास छरेँ अरुका लागि । फक्रे अरुको लागि ।

म कहिल्यै अाफु भएर बाँच्न सकिन र मेरा लागि बाँचिन । अरुका लागि बाँच्दा भएका सारा हाँसो र खुशी नै गुमाएँ । पीर मर्का ,सुखदु:ख नबुझ्ने हजुर शिक्षित भएर के काम लाग्यो ? जीवन भर सदा रगतका अाँसु चुवाएर बाँच्नु पर्छ भने हजुर जस्तो शिक्षित लोग्ने भन्दा अशिक्षित लोग्ने पाउन बेस । जागिरे भन्दा बेरोजगारी बेस । यस्तै कुरा भन्दै पर गन्तव्य स्थलतिर हेरिराखेकी थिएँ र देखेकी थिएँ जहाँ मेरै शरीरबाट निस्किरहेको धुँवा र अागोको मुस्लो ।


प्रतिक्रिया लेख्नुहोस