कृष्ण अधिकारी

कृष्ण अधिकारी

२०११ श्रावण १६ गते जन्मनु भएका कृष्ण अधिकारी परिचित पत्रकार तथा लेखक हुनुहुन्छ । लामाे समय पत्रकारीताकाे अनुभव संगाल्नु भएकाे अधिकारीकाे जर्मनी यात्रा स्मृति २०५६ मा र कथासङ्ग्रह ‘कान्छो सार्की’ २०६८ प्रकाशित छन् । समसामायिक विषयमा लेखिएका उहाँका लेखहरु राष्ट्रिय पत्रपत्रिकामा नियमितरुपमा प्रकाशित हुँदै आएका छन् ।
कृष्ण अधिकारी

उन्मुक्त कलम–१३
मानसरोवर र राकस ताललाई छोडेर हाम्रो गन्तव्य दार्चेन भएको थियो । दार्चेनलाई तिब्बतीहरू तार्चेन पनि भन्दा रहेछन् । जे भए पनि दार्चेन भन्नु र तार्चेन भन्नु एउटै हो । दार्चेन कैलाश परिक्रमाको आधार भूमि पनि रहेछ । उही एकनासको हिमाली पठार पार गर्दै हाम्रो यात्रा एउटा बजारमा पुगेको थियो । त्यो ठूलै बजार थियो । एक दुई हजार यात्रुलाई बास दिन सक्ने यो ठाउँ बजार नभएर शहर नै थियो । र कैलाश परिक्रमाका लागि आउने यात्रुलाई बास दिनु र सामान बेच्नु बाहेक यहाँको अर्को व्यापार केही थिएन पनि । पूर्ण रूपमा हिउँले छोप्ने र तीर्थयात्रीहरू नआउने समयमा यहाँ मान्छेहरू बस्न सम्भव देखिदैन । यो दार्चेन बजार पुगेपछि हामीले केही न केही फरक महसुस गर्न पायौँ । बास बस्ने व्यवस्था त्यहीँ थियो । लज भनेको उही ठूलाठूला हल भएको, कोठा र पाइखाना भनेको सय स्क्वायर फुटका कोठामा तीन स्क्वायर फुटको दुलो भएको विस्टा खसाउने ओढार । हामी केही साथी बजार घुम्न गयौँ । केही गुम्बा देखिए र बाँकी सबै होटल र बिक्रीका लागि सामान राखिएका पसल थिए । धेरै हिँड्न सकिने कुरै भएन सास बढेर । हामी मात्र हैन त्यहीँका रैथाने शेर्पा शेर्पिनीहरू पनि विस्तारै पाइला सार्थे । तिनीहरूले विस्तारै हिँडेको देखेपछि हामीलाई सन्तोष लागेको थियो । दार्चेन समुद्र सतहबाट ४५७५ मिटर उचाइमा रहेको हिमाली शहर रहेछ । आजभोलि हामीले प्रसस्त सुनेको नाम ‘सिगात्से’बाट दार्चेनको दूरी ३३० किलोमिटर रहेछ । गुणस्तरीय राजमार्ग भएको कारण सिगात्से–दार्चेनको बाटो ३÷४ घण्टामा छिचोल्न सकिने कुरा बताए हाम्रा पथप्रदर्शक भाइहरूले । भोलिपल्ट ब्रेकफास्टपछि दश किलोमिटरको बाटो गाडीले पु¥याउने रहेछ यमद्वारसम्म । यम भनेको स्वर्ग र द्वार भनेको ढोका । त्यसैले यसलाई स्वर्गद्वार भनेर बुझिने रहेछ । हामी यमद्वार पुग्दा त्यहाँ मेला लागेजस्तो थियो । सबै तीर्थयात्रीहरू हामी पुग्नुभन्दा पहिले पुगिसकेका रहेछन् । यमद्वारबाट पस्ने मान्छेको लाइन धेरै लामो थियो । यमद्वारको पारी जानको लागि बाहिरबाट जान बन्देज थिएन तर मान्छेहरू त्यही द्वारबाट पस्न लाइन लागेका थिए । मैले लाइनमा बसेर द्वारभित्र पस्ने आँट गरिन बाहिर बाहिरै एक दुईपल्ट घुमेँ द्वारलाई दाहिने पारेर । अरू पनि धेरै मान्छेले त्यसै गरे । यमद्वार पार गरेपछि केही तल एउटा खोलाको बगर थियो, पानी थिएन । त्यही बगरमा मान्छेहरू भेला भएका थिए । कैलाश दरबार परिक्रमा गर्नका लागि घोडाको मोल–मोलाइ चलिरहेको थियो । हाम्रो नेरु १४÷१५ रूपैयाँमा चिनीया एक ‘एन’ आउँथ्यो । सोह« सय, अठार सय, दुई हजारमा घोडाको बार्गेनिङ भैरहेको थियो । हाम्रा शेर्पा भाइहरूले आफ्ना पाहुनाको झोला बोक्न नपाउने रे । त्यहीँका मान्छेलाई बोकाउनु पर्ने रे । कि आफैँ बोक कि हामीलाई बोकाऊ भन्ने रहेछन् । अर्थात् एक खालको कार्टेलिङ र एक खालको दादागिरी रहेछ त्यहाँ । यमद्वारभन्दा माथि पत्रे चट्टान थियो । माटो जति सबै पहिले नै समुद्रले बगाएर लगेको र यही चट्टान मात्र बाँकी रहेको होला जस्तो देखिन्थ्यो । त्यो पत्रे चट्टानको माथि अलिकति समतल थियो । त्यसभन्दा माथि हेर्दा पनि टोपी खस्ला जस्तो पहाड थियो तर पनि त्यहाँ हिउँ थिएन । हामी त्यही निरस र मुर्दा पहाडलाई हेरिरहेका थियौँ । एकजना मान्छे नजिकै आयो र त्यो पत्रे चट्टान माथिको समतल परेको ठाउँलाई देखाउँदै भन्यो “त्यो गिद्दले भोज खाने ठाउँ हो ।” यहाँ त कुनै चराचुरुङ्गी, प्राणी नै छैनन्, कहाँबाट आउँछ गिद्द र केको भोज खान्छ ? हामीले प्रश्न ग¥यौँ । त्यो मान्छेले यहाँको परम्परा र चलनमाथि अलिकति भूमिका बाँधेर भन्यो, कुनै मान्छे मरेपछि बौद्ध धर्म अनुसार लाशलाई त्यो ठाउँमा लगिन्छ र लामाले विधिपूर्वक लाशलाई काटेर मसिना टुक्रा बनाउँछ । त्यसपछि मान्छेहरू छोडेर हिँड्छन् र त्यहाँ गिद्धहरूको आगमन हुन्छ । यो चलनले यहाँ रहेका गिद्धहरूको पनि जीवन रक्षा हुने गर्दछ । त्यसैले त्यो ठाउँ गिद्धले भोज खाने ठाउँ भन्न सकिन्छ । ती मान्छेले भने ।


प्रतिक्रिया लेख्नुहोस