आकाशमा जून टल्कँदा
म मेरी आमालाई सम्झन्छु
आमाको निधारको टीका
आमाको चौबन्दी चोली
र फाट्नै लागेको पटुकी सम्झन्छु ।

आँगनको डिलमा उभिएर आमा
माथि आकाशमा टहटह टल्किएको
जून देखाउनु हुन्थ्यो
पारि पौवाभञ्ज्याङमा–
राँको बालेर उकालो उक्लँदै गरेका
भरियाका धमिलो आकृति देखाउनु हुन्थ्यो
र, भन्नुहुन्थ्यो–
बाबु साह्रै अप्ठ्यारा छन् जीवनका बाटाहरु ।

हरेक पूर्णिमामा जून टल्कँदा
आमाको अदृश्य आकृति
प्रतिबिम्बित हुन्छन् आँखाभरि
स्मृतिको क्षितिजबाट
एकाएक हराएकी मेरी आमा
ममताकी खानी थिइन्
चिसिएको मनलाई न्यानो दिने
एउटा सुन्दर बिहानी थिइन्
कहिले घाम थिइन् कहिले पानी थिइन् ।

म भोकाएर रुँदा
जूनकै उज्यालोमा
लिटो बनाएर खुवाउँथिइन्
भ्mयाल छिचोलेर भित्र पसेको
जूनको मधुरो प्रकाश देखाउँदै
अँगेना छेऊको खटियामा सुताउँथिइन् ।

जुनसँगै गाँसिएको छ
मेरी आमाको सम्बन्ध
जब जून उदाउँछ
मेरी आमा जूनसँगै हाँसिरहेकी छन् जस्तो लाग्छ
जब जुन अस्ताउँछ
स्तब्ध हुन्छु म
र, एकोहोरिन्छु रित्तो आकाश हेर्दै
मेरी आमा त्यही आकाशमा
जून भएर बाँचिरहेकी छन् जस्तो लाग्छ ।


प्रतिक्रिया लेख्नुहोस