लेखक : पुरुसोतम भण्डारी

कहिले जन्मियौ , कहिले हुर्कियौ , कहिले बढ्यौ , कहिले पढ्यौ , कहिले राजनितिमा लाग्यौ र कहिले मेयर भयौ , हेर्दाहेर्दै समयले कहाँ पुर्यायो , आज हामो शहर बिराटनगरको , महानगरपालिकाको मेयर जस्तो गरिमामय पदमा विजय हासिल गरेकोमा , धेरै धेरै बधाई छ ! बधाइका साथसाथै मुरिमुरी शुभकामना पनि छ , भलो होस , राम्रो होस , शुभ होस !

हाम्रो देशको ,हाम्रो नेपाली समाजको मेन्ट्यालिटी कत्तिको अध्ययन गरेकाछौ , तिमिले ? यो बडो जेलिएको छ , नराम्ररी गजमजिएको छ ! यहाँ को कत्तिबेला आफ्नो हुन्छ र कुन क्षण पराया भैसकेको हुन्छ , भेउ पाउन बडो गार्हो छ ! मानिस हेर्दै , उसका कुरा सुन्ने बित्तिक्कै उसको स्वभाव पढ्न कत्तिको सिपालु छौ ?सिपालु भए त त्यस्ता मानिसहरुसङ्ग डिल गर्न सजिलो हुनेछ , नत्रभने तिनै मानिसले कत्तिबेला तिमिलाई भगवान या राक्षशको पगरी गुथाई दिनेहुन , भेउ पाउन गार्हो हुन्छ ! कत्तिबेला गुणैगुणले भरिएको भन्दिने हुन र कत्तिबेला अबगुणको बोरै भिराईदिने हुन , भेउ पाउन गार्हो छ !

मलाई लाग्छ , हाम्रो नेपाली समाजमा हामी त्यस्ता जीव भैसकेका छौँ , जो बर्षातको समयमा अलिकती माटो खोस्रीएर हेर्दा जसरी स्याउस्याउ मुख बाउदै गड्यौलाहरु देखापर्छन नि , हो त्यसरिनै ठूलो पद पाउने ब्यक्तिका अगाडि मुख बाउदै आउनेछौं , म स्वयं पनि आउन बेर लाउदिन ! तर म आफुलाई नियन्त्रण गर्न सक्छु भन्ने कुरोमा म आफैं ढुक्क छु ! किनभने म भित्रको यो गड्यौलोरुपी लोभी मानव चरित्रलाई मेरो आफ्नो पेशा , यहि शैक्षिक पेशाले गर्दा , हेर हेर शिक्षक भएर पनि गड्यौलो जस्तो मुख बाउदोरहेछ भनेर मेरा साथिभाई , छरछिमेकिले र अन्य चिरपरिचितले जिस्क्याउछन भन्ने नैतिक डरले पनि म आफैंले आफैंलाई नियन्त्रण गर्न सक्छु ! मैले आजसम्म आफ्नो यो इज्जत जोगाएर राखेको पनि यहि नियन्त्रण गर्नसक्ने शक्तिले हो , आत्मनिर्णयको शक्तिले हो , कानुनको डरले हो , नैतिकताको डरले हो ! नत्रभने मैले पनि अनैतिक कार्यगर्ने , चोर्ने , मानव-बेचबिखन गर्ने मौका पाएको थिएँ ! मेरै क्षेत्रमा ,यहि हौ अपाङ्गताको क्षेत्रमा एउटा सहयोगी लादै विदेशमा छोड्दै पैसो कमाउनुपर्छ है भन्दै मेरो घर धाउने मान्छे थिए ! मैले त्यसो किन गरिन , थाहा छ ??? कानुनको डरले ,इज्जत जाने डरले र नैतिकताको डरले ! त्यसैले तिमिपनी अनैतिक बाटो देखाउने मानिसहरु बाट टाढै बस्नु है !

हिजो मलाई मेरै सामुन्नेमा एउटा प्यारो भाईले भने ,” सर पनि बलेकै आगो त ताप्नु हुन्छ नि ! नभए यो भिडमा किन आउनुहुन्थ्यो ?” ती भाईलाई त मैले जवाफ दिइन तर तिमिलाई भन्दैछु सुन ,” म बेलुकी सधैं हावा खान घर बाहिर निस्किन्छु !धेरैजसो म घर नजिकैको पिपल चोक जान्छु ! तिम्रो विजय जुलुश आउँदैछ भन्ने सुनेर हामी दुई-चार जना तिम्रो जुलुश हेर्न सडकको किनारामा उभिएका थियौं ! हामी त हात मात्रै हल्लाएर उभिईरहेका थियौं ! तिनै प्यारो भाईले मलाई अबिर किन्ने सल्लाह दिए ! र मैले अबिर किन्न लगाएर मेरो सहयोगी भाईलाई अलर्ट गराए ! मैले सोचेको थिएँ , तिमी गलेका छौ , गाडी बाट ओर्लिन भ्याउदैनौ किनकी तिमिले अझै धेरै ठाउँमा जानुथियो ! तर तिमी गाडी बाट ओर्लियौ र हामी नजिक आयौ ! हामिले अबिर लाईदिने मौका पायौं , शुभकामना दियौं र फोटा खिच्यौ ! त्यसपछी तिमिलाई बिदाई गर्यौ ! ” पछि तिनै भाईले मलाई बलेको आगो ताप्नुहुन्छ भने !

हो , म पनि जाडो भएको बेला बलेको आगोनै ताप्छु तर अचेल हिटरको जमानामा किन ताप्नुपर्यो बलेको आगो , हो कि हैन भन त ? यदि मैले चाहेको भए , पिपल चोकको सडकमा उभिनु भन्दा तिम्रो घर जान्थे नि , नजिक पनि हुन्थ्यो , शुरक्षित पनि हुन्थ्यो ! मैले पढाएका भाईबहिनिले कत्रो खातिर पनि गर्थे होला , आमा कत्ती खुशी हुनुहुन्थ्यो होला , मिठाई खाइन्थ्यो होला ! वातावरण नै अर्को हुन्थ्यो नि , हैन र ? तर म गैन , किन ? म आफैं ब्यस्त ,पढाउने मास्टर , समयनै मिलेन ! उम्मेदवारी दिएपछी मैले आमालाई शुभकामना दिन तिम्रो घर गए , त्यो मेरो कर्तब्य थियो ! चुनावको बेला तिम्रो गुणगान गरिदिए , त्यो पनि मेरो कर्तब्य थियो ! भोट हाल्ने बाकशमा तिमिलाईनै भोट हाले , त्यो पनि मेरो कर्तब्य थियो ! तिमिले जितेपछी त हाम्रो उपहार , शुभकामना र बधाई अटोमेटिकल्ली पाईहाल्यौ नि , हैन र ? त्यसैले अरुसरह हतारहतार म तिम्रो घर गईन !

भ्याएको बेला जहाँ भेटे, त्यहीँ आशीर्वाद दिए ! किन भन्दा मैले आफुले आफैलाई नियन्त्रण गरेको थिएँ ! जित्नु भन्दा पहिला हजारौं पटक तिम्रो घर गएको छु , त्यसको भिन्दै महत्व छ ! अब तिमिलाई आपत परेको बेला बाहेक , अरुबेला मलाई आपत पर्यो भनेर नाजायज माग लिएर तिम्रो घर आउँदिन है , अन्यथा नलिनु ! म गड्यौलो हुन चाहन्न !

तिमिलाई फेरि एकपटक धेरै धेरै बधाई एवम शुभकामना है ! पुरु !


प्रतिक्रिया लेख्नुहोस