कृष्ण अधिकारी

कृष्ण अधिकारी

२०११ श्रावण १६ गते जन्मनु भएका कृष्ण अधिकारी परिचित पत्रकार तथा लेखक हुनुहुन्छ । लामाे समय पत्रकारीताकाे अनुभव संगाल्नु भएकाे अधिकारीकाे जर्मनी यात्रा स्मृति २०५६ मा र कथासङ्ग्रह ‘कान्छो सार्की’ २०६८ प्रकाशित छन् । समसामायिक विषयमा लेखिएका उहाँका लेखहरु राष्ट्रिय पत्रपत्रिकामा नियमितरुपमा प्रकाशित हुँदै आएका छन् ।
कृष्ण अधिकारी

उन्मुक्त कलम–९

गाडीभन्दा बाहिर धेरैबेर बस्नु राम्रो हुँदैन । जति पत्र र जति मोटा ज्याकेट लगाए पनि चिसो भै जाने । त्यहाँको खतरनाक कुरा भनेको चाहिँ हुरी नै हो । जसरी लु चल्दा कानमा रुवा हाल्नुपर्छ, त्यसैगरी त्यो हिमाली मरुभूमिमा चल्ने हुरी कानबाट छिर्न नपाओस् भनेर रुवा खाँद्नुपर्ने । लाज भनेको त सहज परिस्थितिमा मात्र लाग्ने रहेछ । गाइडले “पेसाब फेर्न टाढा नजानुहोस्” भनेपछि सबैले मानेर नजिकै आँखा चिम्लिएर बसे । लाज त आँखामा पो हुने रहेछ क्यारे ।
गाडीभित्र पसेपछि डराउनु पर्दैन । न्यानो छ, चिसोले सारै चिमोट्तैन । गाडी सुविधासम्पन्न छ । चीन सरकारले भरखर भरखर बनाएको बाटो झण्डै झण्डै युरोपेली मापदण्डको छ । सय किलोमिटर प्रतिघण्टामा गाडी गुड्दा गाडी उफ्रिदैन । मेरी हजुरआमाले देख्नुभएको भए शिवपार्वतीले पटाहा लगाएर सम्याएको ठाउँ रहेछ भन्नु हुन्थ्यो होला । ५२०० मिटरको उचाइ पार गरेर हामी त्यस्तै उपत्यकामा गुड्दै गयौँ ।
हामीले यात्रा गरिरहेको भूमि प्रारब्धले चीन हो तर हामीले इतिहासकालमा चिने अनुसार चाहिँ भोट हो । भोट भनेको तिब्बत । हामी घरिघरी पृथ्वीको थाप्लामा हिँडिरहेका छौँ जस्तो लाग्थ्यो । हामीभन्दा तल लटरम्म हिउँ फुलेका हिमालहरू देखिन्थे र त्योभन्दा तल हिउँ विनाको टाकुरा देखिन्थे । अचम्म मान्नुपर्ने कुरा के थियो भने कतिपय हिमालहरूभन्दा माथि हामी थियौँ तर त्यहाँ हिउँ थिएन । त्यहाँ हिउँ किन छैन ? सबै यात्रुको जिज्ञासा थियो तर समाधान थिएन । हामीले गफैगफमा निचोड निकालेका थियौँ “यो यात्राको रुटमा अर्थात् यो जमिनभित्र त्यस्तो खनिज होला जसको कारण हिउँ जम्न नपाओस् ।” यो केवल हाम्रो तर्कबाट निस्केको राय मात्र हो । सही नमाानीहाल्नु होला पाठकगण । हिउँ नजम्नु पर्ने कारण अरू नै हुन सक्छ ।
बाटामा भेडाका वथान देखिए । प्रकृतिले पनि किन व्यङ्ग्य गरेको हो नि प्राणीमाथि ? चुचुराहरूमा हिउँ छ हामी हिँड्ने बाटोको दायाँ बायाँ हिमताल देखिन्छन् अर्थात् पानी छ तर झार छैन, दूबो छैन रुख विरुवा छैन । केवल बालुवा छ, ढुङ्गा छन्, अक्सिजन नभएको अप्रिय हावा छ । यस्तो ठाउँमा किन भेडाका वथान दिएको होला प्रकृतिले ? भन्ने लाग्यो । के खाएर बाँचेका होलान् भेडा भन्ने लाग्यो तर नजिकै पुगेर हेर्दा लाग्थ्यो खान नपाएका भेडा हैनन् । त्यसैले लाग्यो सृष्टि गर्न जान्ने प्रकृतिले पालन गर्न पनि जान्दोरहेछ क्यारे ।
जाँदा जाँदै हाम्रो बस एउटा दोबाटोमा पुग्यो र बायाँ लाग्यो । उत्तर जाँदै गरेको गाडी बायाँ लाग्नुकाो अर्थ पश्चिम लाग्नु हो । हामीले पश्चिमको बाटो समातेका थियौँ तर दोबोटोबाट पूर्व लागेको बाटो चाहिँ कहाँ जाने होला नि ! जिज्ञासा आलै थियो । हाम्रो गाइडले बतायो त्यो ल्हासा जाने बाटो हो । त्यो दोबाटो भएको ठाउँको उचाइ समुद्र सतहबाट ४५०० मिटर छ भन्ने कुरा पनि जानकारी दियो गाइडले । त्यो पूर्व लागेको बाटो पूर्व उत्तर हुँदै ल्हासा पुग्छ होला भन्ने अनुमान गरेँ मैले ।
दिउँसोको खाना खाने बेला हुँदैथियो तर खाना बोकेको ट्रक ड्राइभरले पल्टााइदिएछ रे । निदाएर पल्टाएछ ट्रक । त्यसमा अरू दुईजना केटा पनि थिए । गाइड र शेर्पा टोली चिन्तामा परेका थिए । दुर्घटनामा के कति क्षति भयो भन्ने एउटा चिन्ता थियो भने यात्रुलाई अब के खान दिने भन्ने अझ ठूलो चिन्ता थियो । झण्डै सवासय जना मान्छेका लागि १०÷११ दिनको खान्की अन्य कुराबाट पूर्ति हुन सक्ने अवस्था पनि थिएन । खबर आयो भाग्यवश केही क्षति भएनछ । चालक निदाएछ र गाडी भित्तापट्टि अडेसा लागेछ । अरू गाडीको सहायताले निकालेपछि गाडी आउँदैछ भन्ने खबरले शेर्पा भाइहरूको अनुहारमा चमक फि¥यो । खान पाइने भएकाले हाम्रो अनुहारमा पनि खुसी फि¥यो ।
ब्रह्मपुत्रको पुलमा खाना खाने कुरा जानकारी गराएको थियो नेपाली गाइडले । चिनीया गाइडसँग त कुरै हुँदैन, भाषाको समस्या छ तर पनि चिनीया गाइड नलिइ हिँड्न नपाइने बाध्यात्मक व्यवस्था रहेछ चिनीया सरकारको । त्यसैले हामीसाँग दुईवटा गाइड छन् । तिब्बती भाषामा नदीको नाम भिन्नै छ तर हामीले भन्ने त ब्रह्मपुत्र नै हो त्यहाँ पनि । म आसाममा ब्रह्मपुत्र तरेको मान्छे, यो हिमाली मरुभूमिमा पनि भेटिन्छ रे भन्दा खुशी लागेको थियो । कतिखेर पुगिन्छ ब्रह्मपुत्र जस्तो भएको थियो । नभन्दै ब्रह्मपुत्र नदीमाथि पक्की पुल देखियो परैबाट ।
पहिले–पहिले गएका साथीहरूले ब्रह्मपुत्रमा पुल छ भनेका थिएनन् तर हामीले पुल तर्न पायौँ । दुई वर्ष भयो रे यो पुल बनेको । त्योभन्दा पहिले फेरिबाट गाडी तारिन्थ्यो रे । पहिले कैलाश मानसरोवर पुगेर आउनेहरूले धेरै कच्ची बाटो हिँड्नु पर्ने कुरा बताउँथे तर हामीले जम्मा ५÷७ किलोमिटर मात्र कच्चीबाटो हिँड्नु प¥यो । यसबाट के जानकारी भयो भने यहाँ अत्यन्तै तीव्रताका साथ बाटो र पुलहरू निर्माण गरिरहेको छ चीन सरकारले ।
मानसरोवरबाट आएको पवित्र हिमनदी ब्रह्मपुत्र, पश्चिमबाट पूर्व बगिरहेको थियो । शान्त थियो, सौम्य थियो । कुनै आवाज थिएन, छाल र कुनै उत्ताउलोपना थिएन । नीलो र कञ्चन पानी थियो तर छुन जाने आँट थिएन । कसैकसैले छेउमा गएर पानी सेचन गरे शिरतिर र जय गङ्गे भने, कसैले जय शम्भो भने । खाद्यान्न बोकेको गाडी आइसकेको थियो । गाडीबाट खानेकुराका प्याकेट झिकेर शेर्पा भाइहरू बाँड्न थालेका थिए । त्यो दिनको हाम्रो लञ्च त्यहीँ थियो ।



प्रतिक्रिया लेख्नुहोस