प्रेम देवान
विराटनगर ४ असार । दोस्रो चरण अन्तर्गत असार १४ गते हुने स्थानीय तह चुनावका लागि आइतबार विहानैदेखि विराटनगरमा दलहरुले उत्साहपूर्वक आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन् ।आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले एक महानगरपालिका, आठ नगरपालिका र आठ वटै गाउँपालिकाका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको एक महानगरपालिका विराटनगरमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।मेयर पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलबाट ५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा प्रल्हाद शाहले उम्मेदवारी दार्त गराएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको संघिय समाजवादीका तर्फबाट उमेश यादवले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, नेपाली कांगे्रसबाट भीम पराजुली, लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको नेकपा एमालेबाट विनोद ढकाल, चुरेभावर पार्टीबाट घनश्याम टन्डनले उम्मेदवारी तर्दा गराएका छन् ।त्यस्तै, स्वतन्त्रबाट मेयरमा ८ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अर्याल, ताराबहादुर तामाङ, गणेशराज विष्ट, सन्तोष सरकार, लीलामोहन राजवंशी र शिव पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपमेयरमा दलबाट ५ जना तथा स्वतन्त्रबाट पनि ५ जनाले नै उम्मेदवारी दर्ता गराएका छन् । दलबाट नेकपा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने, नेपाली कांग्रेसबाट इन्दिरा कार्की, फोरम लोतान्त्रिकबाट सूची चौधरी, नेकपा मालेबाट पाण्डव पासवान र राप्रपाबाट शोभा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, स्वतन्त्रबाट उपमेयरमा श्यामप्रसाद घिमिरे, उत्तम ढुंगेल, मुन्ना खान, खुसीलाल यादव र कुरवान मियाँले उम्मेवारी दर्ता गराएको क्षेत्रिय निर्वाचन कार्यलय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलले जानकारी दिए ।त्यस्तै, जिल्लाका अन्य आठ नगरपालिका र आठ गाउँपालिकागरी १७ वटै स्थानीय तहमा पनि दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको प्रमुख सञ्जेलले बताए । राष्ट्रिय जनता पार्टीले निर्वाचन बिथोल्न मनोनयनमा अवरोध गर्ने घोषणा गरेको भए पनि मोरङमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाइएको छ । मनोनयन दर्ता शान्तिपूर्ण रुपमा गराउन र कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।जिल्लामा सुरुमा साना दलहरुलाई दिइएको छ भने त्यसपछि एमाले, माओवादी र कांग्रेसलाई मनोनयन दर्ताको लागि समय दिइएको थियो । मनोनयन दर्ता गर्ने कार्यक्रममा दलहरुका केन्द्रीय नेताहरु पनि सहभागी भएका थिए ।



प्रतिक्रिया लेख्नुहोस