चुनाव विथाेल्न लागेका विप्लवका विद्यार्थी नेता माेरङबाट पक्राउ

चुनाव विथाेल्न लागेका विप्लवका विद्यार्थी नेता माेरङबाट पक्राउ

विराटनगर १ मंसिर । नजिकिंदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका विरुद्ध गतिविधी गरेको अभियोगमा मोरङको कानेपोखरीबाट विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीको टोलीले अनेरास्ववियु क्रान्तिकारीका मोरङ अध्यक्ष कानेपोखरी गाउँपालिका ४ वयरवनका २१ वर्षीय फणिन्द्र राजवंशीलाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार राजवंशीलाई कानेपोखरीको केरौनबाट पक्राउ गरिएको हो । उनी विरुद्ध प्रहरीले आज सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायतका गतिविधीमा संलग्न भएको अभियोगमा राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले एक साताको अवधिमा निर्वाचन विरोधी गतिविधी गरेको भन्दै राजवंशी सहित चार जना विप्लवका नेता कार्यकर्तालाई मोरङबाट पक्राउ गरिसकेको छ । एसपी बिसीका अनुसार पार्टीका केन्द्रीय सदस्य ताप्लेजुङ फोक्ताङ ९ का ४० वर्षीय सुमन लिम्बू र पार्टीका कोसी व्यूरो सदस्य मोरङको मिक्लाजुङ ८ का ४४ वर्षीय जितेन्द्र महरालाई पक्राउ गरिएको छ । उनीहरुलाई विराटनगर १० स्थित न्युरो अस्पतालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पार्टीका एरिया इन्चार्ज विराटनगर ६ का ६० वर्षीय कमलबहादुर खत्री (नेपाल) लाई पनि प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधी गरेको अभियोगमा प्रहरीले उनलाई घरैबाट पक्राउ गरेको हो । पक्राउ परेका विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी बिसीले दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्