नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल !!

नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल !!

काठमाडौं ।  नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो ।
यसअघि नेपालको राष्ट्रिय खेल दुई खेललाई लिने गरिन्थ्यो । अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्ट्रिय खेल मानिँदै आएको थियो । तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेको तीन खेलमध्ये नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल छनोट गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले युवा तथा खेलकुद मन्त्रालयले दिएको सुझावको आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको बताए । भलिबल राष्ट्रिय खेल भएको मन्त्रिपरिषद्को निर्णयसँगै अब युवा तथा खेलकुद मन्त्रालयले ‘खेलकुद विकास ऐन’ मार्फत यस खेललाई आधिकारिता प्रदान गर्नेछन् ।
पछिल्लो समय राष्ट्रिय खेलबारे बहस हुन थालेपछि सरकारले दुई बर्षअघिबाट राष्ट्रिय खेलको अन्योल चिर्न गृहकार्य गरिरहेको थियो । खेलकुद मन्त्रालयले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको पालामा नै नेपालको राष्ट्रिय खेल छनोट गर्न सहसचिव चूडामणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।
२०७१ पुसमा गठन भएको समितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) विद्यालय खेलकुद विभागका प्रमुख मदनजंग राणा र मन्त्रालयकै खेलकुद विभाग उपसचिव रामबहादुर हमाल सदस्य थिए  ।  उक्त समितिले ३ खेल राष्ट्रिय खेलका लागि उपयुक्त भएको प्रतिवेदन खेलकुद मन्त्रालयमा पठाएको थियो ।  २०७१ पुस ७ मा गठन गरेको समितिले राष्ट्रिय खेलका लागि भलिबल, तेक्वान्दो र कबड्डी खेललाई सिफारिस गरेको थियो । समितिले छनोट गरेको खेलमा यसअघि राष्ट्रिय खेल भनिँदै आएको डण्डीबियो भने पारेको थिएन । समितिले डण्डीबियो नेपालको पुरानो खेल भए पनि अन्तर्राष्ट्रिय स्तरमा पदक नपाउने र अन्तर्राष्ट्रिय खेल नहुने हुँदा छनोट नगरेको जनाएको थियो  ।
सरकारले छनोट गरेको राष्ट्रिय खेल भलिबल नेपालमा फुटबल र क्रिकेटपछि सर्वाधिक लोकप्रिय मानिन्छ । यो खेल लगभग नेपालको ७५ जिल्ला मै खेलिन्छ । भलिबल कोर्टलाई ठुलो मैदान आवश्यक नहुने कारण पनि नेपालको भौगोलिक बनावटअनुसार भलिबल सुहाउने खेल मानिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्