नेपालको यू–१९ क्रिकेट टिमको विजय सुरुवात

नेपालको यू–१९ क्रिकेट टिमको विजय सुरुवात

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले विजय सुरुवात गरेको हो  ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा सिंगापुरले दिएको ७४ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो  । सिंगापुरले दिएको सामान्य रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले सुरुआत भने खराब गरेको थियो । मात्र ९ रन जोड्दा नेपालले २ विकेट गुमाईसकेको थियो । तर, प्रनित थापा मगरले २३ रन जोड्दै नेपालको जितको आधार तय गरेका थिए । यस्तै नेपालका लागि अनिल कुमार साहले १९ तथा रोहितकुमार पौडेल ११ रनमा अविजित रहे  । सिंगापुरका लागि गोपीनाथ आचार र सुनील आर्यमानले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि सिंगापुरले २९ ओभरमा अलआउट हुदैँ ७३ रन बनाएको थियो ।  नेपाली कप्तान सन्दिप लामिछानेले किफायती बलिङ गरेपछि सिंगापुर सस्तैमा समेटिएको थियो । सिंगापुरका लागि ब्रिगु आयरले अविजित ४२ तथा सिन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिपले मात्र २१ रन खर्चिएर ५ विकेट लिए । यस्तै  साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।

जितसँगै नेपालले २ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । नेपालले अब मंगलबार मलेसियाको सामना गर्नेछ भने तेस्रो खेलमा नेपालले बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

डबल राउण्ड रोबिनका आधारमा हुने छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्