नेपालद्वारा मलेसिया ५ विकेटले पराजित , सन्दिपले लिए एक्लै ७ विकेट

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित , सन्दिपले लिए एक्लै ७ विकेट

सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो जित निकालेको हो  ।

बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले मात्र २२ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

 मलेसियाविरुद्ध खराब सुरुवात गरेको नेपाललाई  मध्येक्रममा ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र दिपेन्द्र सिंह एरीले टिकेर खेल्दै जित दिलाएका हुन् ।

नेपालको जितमा दुवैले ५३ रनको साझेदारी गरे । रोहितले अविजित ३४ तथा दिपेन्द्र १९ रनमा अविजित रहे । त्यस्तै सन्दिप सुनारले १५ तथा अनिल साहले १२ रन बनाए ।  मलेसियाका लागि भिरणदिप सिंहले ३ तथा हाफिजुदिन गफारले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ३५ ओभर १ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । मलेसियाविरुद्ध टस जितेपछि पहिले बलिङ गर्ने कप्तान सन्दिप लामिछाको निर्णय सहि साबित भयो । नेपाली बलर हावी भएपछि मलेसियाको पारी सुरुबाटै धर्मराएको थियो । मलेसियाका ओपनर सायद जजिजले ४६ रन बनाएपनि अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । यस्तै मलेसियाका कप्तान भिरणदिप सिंह र शूनभिन्दर सिंहले समान १० – १० रन जोडे ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान सन्दिपले किफायती बलिङ गर्दै मात्र १३ रन खर्चिएर ७ विकेट लिए । योसँगै सन्दिपले जारी प्रतियोगितामा २३ विकेट आफ्नो नाममा लेखाएका छन्  । यस्तै साहब आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।

डबल राउण्ड रोबिनका आधारमा जारी एसिया क्षेत्रको छनोटमा नेपालले मलेसियालाई दोस्रो पटक पराजित गरेको हो । नेपालले छनोटको दोस्रो खेलमा पनि मलेसियालाई ५ विकेटले नै हराएको थियो ।  यो जितसँगै नेपालले विश्वकपमा छनोट हुने गणितीय सम्भावनालाई कायम राखेको छ । अब नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्ने छ । नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानलाई भारी अन्तरले पराजित गर्नु पर्ने हुन्छ । तर, आफ्नो तेस्रो खेलमा अफगानिस्तानसाग १४१ रनको लज्जास्पद हार बेहोरिसकेको नेपालको लागि त्यो सहज भने हुने छैन ।

छनोटमा नेपालले ५ खेलमा ४ मा जित र १ खेलमा हार ब्यहोरेको छ । र, नेपाल ८  अंकसहित दोस्रो स्थानमा छ । लगातार चार खेल जितेको अफगानिस्तान ८ अंक जोडेर शिर्ष स्थानमा छ ।  छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्