प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कस्तो हुन्छ मतपत्र ? 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कस्तो हुन्छ मतपत्र ? 

काठमाडौं । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी तीव्रताका साथ भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको छ । तर, एउटै मतपत्रबाट दुई तहका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले मतपत्र कस्तो हुन्छ भन्ने आम कौतुहलता छ । निर्वाचन अयोगले मतपत्रको नमुना सार्वजनिक नगरे पनि ऐनको व्यवस्था र दलहरुबीचको समझदारीका आधारमा समानुपातिकको मतपत्र छपाई सुरु भएको हो ।
समानुपातिकका लागि १ करोड ७० लाख मतपत्र छपाई गरिने आयोगले जनाएको छ ।

तर, प्रत्येक्ष निर्वाचनका लागि भने कात्तिक ५ गते मनोनयन दर्ता भएपछि परेको उमेदवारीअनुसार मतपत्र छाप्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

कस्तो हुन्छ मतपत्र ? 

यसअघि प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकमा एउटा पार्टीको एउटा मात्र चिन्ह रहने बताइएको थियो । तर, प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन चाहने सबै दल प्रदेशसभाका लागि निवेदन नदिएकाले एउटै मतपत्रमा दुई खण्डमा विभाजन गरी छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब समानुपातिक मतदानका लागि पनि एउटै मतपत्रका दुई खण्डमा एक/एक ओटा छाप लगाउनुपर्ने भएको छ । माथिल्लो खण्डको भोट प्रतिनिधिसभाको समानुपातिक प्रतिनिधिको लागि हुनेछ भने तल्लो भोटले प्रदेशसभाको समानुपातिक प्रतिनिधि चयन गर्नेछ ।

प्रत्यक्षका लागि भने उमेदवारीअनुसार मतपत्र छापिनेछ ।

प्रतिनिधिसभाको समानुपातिक मतपत्र

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट ८८ दलले भाग लिन निवेदन दिएका छन् । मतपत्रमा पुराना दललाई दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त मतका आधारमा निर्वाचन चिन्ह राखेर छपाई सुरु गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।

त्यस्तै, नयाँ दलको हकमा दल दर्ताको मितिका आधारमा चिन्ह मतपत्रमा राखिएको छ ।

प्रदेशसभाको समानुपातिक मतपत्र 

एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि चिन्ह राखिएको मतपत्रमा प्रदेशको  समानुपातिक मतदानका लागि तल्लो भागमा सम्बन्धित प्रदेशको दल दर्ताका आधारमा चुनाव चिन्ह राखेर मतपत्र छपाई सुरु गरिएको छ ।

उदाहरणका लागि प्रदेश नं १ मा समानुपातिकका लागि ८७ दलले इच्छा देखाएका छन् । अब, एक नम्बर प्रदेशमा तल्लो भागको मतपत्रमा ८७ चिन्ह राखेर छपाई सुरु गरिएको छ ।

जसले गर्दा सबै प्रदेशमा दल दर्ताका आधारमा मतपत्रमा चुनाव चिन्ह राखिने आयोगका प्रवक्ता ढकालले जनाए ।

प्रत्यक्षका लागि ३३० प्रकारका मतपत्र

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र भने ३३० प्रकारका हुने भएका छन् । प्रतिनिधिसभाका लागि १६५ क्षेत्र र प्रदेशसभाको लागि ३३० क्षेत्रमा पर्ने उमेदवारीअनुसार मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

प्रत्येक्षतर्फ पनि दुई तहको निर्वाचनका लागि एउटै मतपत्रमा माथिल्लोमा प्रतिनिधिसभाका उमेदवार र तल्लो भागमा प्रदेशसभाका उमेदवारका लागि चिन्ह राखिने छ ।जसले गर्दा मतपत्रको ३३० प्रकारका मतपत्र हुनेछन् । प्रत्येक्षतर्फ एउटै मतपत्रको दुई खण्डमध्ये माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभाका उमेदवारका लागि मतदान गर्न पाउने आयोगले जनाएको छ । जसले गर्दा समग्रमा एकजना मतदाताले दुई मतपत्रका चारवटा चिन्हमा मतदान गर्न पाउँछन् । - बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्