भारतलाई पराजित गर्दै इंग्ल्यान्डले आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्यो

भारतलाई पराजित गर्दै इंग्ल्यान्डले आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्यो

भारतलाई पराजित गर्दै इंग्ल्यान्डले आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।लर्ड्समा आइतबार राती भएको फाइनलमा भारतलाई ९ रनको रोमान्चक जित निकाल्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।

होम अफ क्रिकेटको रुपमा रहेको लर्ड्स मैदानमा इंग्ल्यान्डले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारत ४८ ओभर ४ बलमा अलआउट हुँदै २१९ रनमा समेटियो । आन्या श्रुबसोलले किफायती बलिङ गरेपछि इंग्ल्यान्डले भारतमाथि रोमान्चक जित निकाल्दै उपाधि जितेको हो । उत्कृष्ट सुरुवात गरेको भारतले १९१ रन जोड्दा मात्र ४ विकेट गुमाएको थियो । ४२ ओभर ५ बलमा चौथो विकेट गुम्दा भारतलाई जितका लागि ३७ रनको आवश्यकता थियो । तर, श्रुबसोलले उत्कृष्ट बलिङ गरेपछि भारत थप २८ रन जोड्दा अलआउट हुँदै खेल इंग्ल्यान्डलाई सुम्पियो ।

भारतकी पुनम राउतले ८६ तथा हर्मनप्रित कौरले ५१ रन जोड्दै भारतलाई जितको बाटो देखाएपनि अन्य ब्याट्सवुमन चल्न नसक्दा पराजित हुन् पुग्यो । इंग्ल्यान्डको जितमा किफायती बलिङ गरेकी श्रुबसोलले ४६ रन खर्चिएर महत्वपूर्ण ६ विकेट लिए । यस्तै एलेक्स हार्टलीले दुइ विकेट लिईन् ।

 यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर २२८ रन जोडेको थियो । इंग्ल्यान्डको लागि नटालिया सिभरले ५१ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै सराह टेलरले ४५ तथा फ्रान विल्सनले ३४ रन जोडिन् । भारतकी झुलन घोस्वानीले ३ तथा पुनम यादवले २ विकेट लिईन् ।

योसंगै इंग्ल्यान्डले चौथो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । अहिलेसम्म विश्वकप नजितेको भारत भने दोस्रो पटक उपाधि नजिक पुगेर उपविजेतामा सिमित बन्न पुगेको छ । प्रतियोगिताको सेमिफाइनलमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई पराजित गरेको थियो । यता, भारतले साविकको बिजेता अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा इंग्ल्यान्डसंगको भेट पक्का गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्