भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिज

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिज

एजेन्सी । घरेलु टोली भारतले न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी क्रिकेट सिरिज जितेको छ । मंगलबार राति बर्षाले प्रभावित भएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ६ रनले पराजित गर्दै भारतले सिरिज आफ्नो बनाएको हो ।

बर्षाको कारण ढिला सुरु भएको खेल ८ ओभरमा छोट्टाएको थियो । ओभर छोट्टाएको खेलमा टस हारेर भारतले पहिले ब्याटिङको निम्तो पायो । र, भारतले पुरै ८ ओभर खेल्दै ५ विकेटको क्षतिमा ६७ रन बनायो । भारतका मनिस पाण्डेले १७ तथा हार्दिक पाण्डयले अविजित १४ रन बनाए । त्यस्तै कप्तान बिराट कोहलीले १३ रन बनाए । न्युजिल्यान्डका इश सोधी र टिम साउथेले समान २ – २ विकेट लिए ।

भारतले दिएको ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको न्युजिल्यान्डले पुरै ओभर खेल्दै ६ विकेट गुमाएर मात्र ६१ रन बनाउन सक्यो । न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमले अविजित १७ तथा ग्लेन फिलिप्सले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख रन जोड्न सकेनन । भारतका जस्प्रित बुम्राहले २ तथा भुवनेश्वर कुमार र कुलदिप यादवले समान १ – १ विकेट लिए ।

यो जितसँगै भारतले न्युजिल्यान्डविरुद्धको ३ खेलको टि – ट्वान्टी सिरिज २ – १ ले आफ्नो बनायो । यसअघि दिल्लीमा भएको पहिलो खेलमा भारत ५३ रनले विजयी भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्ड ४० रनले विजयी भएको थियो । त्यस्तै भारतले यसअघि न्युजिल्यान्डसंगको एक दिवसीय सिरिज समेत जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्