यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपालको लगातार दोस्रो जित

यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा  ५  विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा अासिफ शेखले २३ तथा प्रनित थापा मगरले अविजित १८ रन बनाए । मलेसियाका हफिजुद्दीनले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरको किफायती बलिङसामु २५ ओभर ५ बलमा अलआउट हुदैँ ५८ रनमा समेटिएको थियो । नेपाली बलर हावी भएपछि मलेसियाका कुनैपनि ब्याट्सम्यानले १० रनको आँकडा पुरा गर्न सकेनन् ।

मलेसियाका भिरणदिप सिंह र  हैकल खैरले  समान ९ – ९ ,सैफुल्हा मल्लिकले ८ तथा अमर हजालनले ७ रन बनाए । मलेसियालाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । सिंगापुरविरुद्धको पहिलो खेलमा पनि ५ विकेट लिएका सन्दिपले ८ ओभर ५ बलमा एक मेडनसहित मात्र १७ रन खर्चिएर ५ विकेट लिएका हुन् । यस्तै नेपालका पवन सर्फारले ३ तथा किशोर महतो र सन्दिप सुनारले समान एक एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ  । नेपालले सोमबार भएको पहिलो खेलमा घरेलु टोलि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । मलेसियाको भने यो लगातार दोस्रो हार हो । अब तेस्रो खेलमा बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्