लघुकथा : चटक  – नानि भारद्वज

लघुकथा : चटक  – नानि भारद्वज

यस्तै मध्यान्हको समय हुँदो हो ।बजारको चोकमा मानिसको निकै चहलपहल थियो।म पनि त्यस चोकमा झुल्केको मात्र थिएँ।

ति••••••रि••••••रि ! बाँसुरीको आवाजले सबैको ध्यान तान्छ।म पनि बाँसुरी धुन तिरै तानिन्छु। मानिसहरू बाँसुरी बाधक(चटकी)लाई घेरेर गोलाकार भएका छन्।

रन्केर एकसरो बाँसुरी फुक्दै सरर एक फन्को घुमे पछि चटकी फलाक्न थाल्छ।
" मो थुप्रै खेला देखाउँछु हुजुर ! मो प्रसिद्ध जादुगर पिसी सरकारको चेला छ हुजुर! मोइले उहिँको दिक्षासे यो चटक कर्न सिखेको छ हुजुर !

फेरि डम्मरु र बाँसुरी संग संगै :

पिटिङ टिङ पिटिङ टिङ•••••! पिट्रिङ पिट्रिङ पिट्रिङ ! ति•••• रि•• •रि !

"मो संग थुप्रै आइटम छ हुजुर ! ध्यान दिएर हेर्नुहोला हुजुर ! कोहि पनि हल्ला नकरी शान्त भई बस्नुस् हुजुर !

बिभिन्नखाले बजारूहरू चटकी तिर ध्यान मग्न भई हेरिरहेकाछन्।अगडि वृतमा केटाकेटीहरू छन्।दोश्रो तेश्रोमा कोहि कोदालो बोकेका, कोहि हम्मर र पेचकस बोकेका,कोहि पत्रिका बोकेका दर्शकहरूको कमि थिएन।पछाडिकाहरू खुट्टाका बूढी औंलाले टेकेर घाँटी तन्काई तन्काई चटक हेरिरहेकाछन्।म यस्ता चटक हेर्दा हेर्दा आफूलाई खप्पिस ठान्थेँ।बहुत चनाखो जस्तो आफूलाई महशूस गर्दै म पनि पछाडिकै वृतमा गई थप्पिएँ। चटकीले आफूसंग भएका सबै आईटमको परिचय गरायो।ती मध्ये एउटा आइटम नोट डढाएर खरानी बनाएर फेरि नोट बनाउने उस्को विशेष आइटम थियो।झोलामा भएका जादुका सामान देखाउँदै उसले भन्यो " जोरले ताली पिट्नुस् हुजुर !" सबैले आ-आफ्नै पाराले ताली पिटे।कोदालो बोकेका मान्छेले कोदालैमा हात थप् थपाए।त्यसरी नै पेचकस र पत्रिका बोकेकाले पनि सोहि गरे।

चटकी भन्दैछ "हातमा मुठ्ठी नबनाउनुस् हुजुर ! गोजीमा हात नराख्नुस् हुजुर !नत्र यहाँ जादु दिख्दैन हुजुर !"

त्यति बेलै दक्षिण पश्चिमबाट ठूलो हुरी चल्यो। आकास पनि कालो बादलले ढाकियो।एकैछिनमा साह्रा बजार धुलोले कुहिरी मण्डल भयो।मान्छे तितर वितर भए।

"ए हे ! मेरो त धानको बिउ लाने पैसा थियो कस्ले पकिट बाटै चोरेछ " कोदालो बोकेका मान्छे।

"ए हे ! मेरो पनि पैसा छैन ! " पेचकस बोकेका मान्छे।
" लौ न नि ! मेरो त पर्स हात बाटै गायब भो !"एक अधबैँसे महिला।

ला ! मेरो पनि पो ••••••! पत्रिका बोकेका मान्छे।

यस्तै हल्लाकै बिचबाट चटकी कुहिरी मण्डलमा बिलायो।

म पनि लामो स्वास् तान्दै बाटो नाप्छु :" ए हे ! ठूलेलाई ओखति पो लानु पर्ने थियो "भन्दै पेन्टको पछाडिको पकेट छाम्छु त मेरो पनि पो पकेट काटेको रहेछ त!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्