वान बेल्ट वान रोडमा आज नेपाल सदस्य बन्ने

वान बेल्ट वान रोडमा आज नेपाल सदस्य बन्ने

काठमाण्डौ । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर)अवधारणामा नेपाल शुक्रबारदेखि सदस्य सदस्य बन्ने भएको छ । ओबिओआरमा नेपालको सहभागिता सम्बन्ध बृहत् समझदारी पत्रमा नेपाल र चीनबीच शुक्रबार काठमाडौमा हस्ताक्षर हुन लागेको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र चिनियाँ राजदूत यु होङ्ले हस्ताक्षर गर्नुहुनेछ ।

न्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनसँग वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको थियो ।

दक्षिण एसिया क्षेत्रबाट श्रीलंका, बंगलादेश, पाकिस्तानपछि नेपाल चिनियाँ उक्त अवधारणाको सदस्य बन्न लागेको हो ।
अवधारणा अनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभीटी विस्तार, लगानी, ब्यापार, पर्यटन गरी विविध क्षेत्रमा सहकार्य हुनेछ । चीनले यी क्षेत्रमा नेपालमा लगानी गर्नेछ ।

वान बेल्ट वान रोडको फ्रेमवर्क भित्र रहेर सीमापार रेल, राजमार्ग, बिद्युत् प्रशारण लाइन, बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रबिधी पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ । चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत् नेपालमा चीनले यी क्षेत्रमा लगानी गर्नेछ । बेल्ट एन्ड रोड अवधारणामा सहभागि भई नेपाललाई चीन हुंदै तेस्रो मुलुकसंग पारवहन ब्यापार गर्न समेत सहज हुनेछ ।

बेल्ट एन्ड रोड अवधारणामा समुन्द्री तथा स्थल मार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिएका छन् । अन्य एक सय देशले चीनसँग समुन्द्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको चीन भ्रमण अघि नेपालले वान बेल्ट वान रोड अवधारणाको सदस्य बन्न चीनसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको हो । चीनले ९ महिना अघि उक्त समझदारी पत्रको पहिलो मस्यौदा प्रस्ताव गरेको थियो ।
पुसयता नेपाल र चीनबीच मस्यौदा दुई पटक आदान प्रदान भएको थियो । परराष्ट्रमन्त्री प्रकाश शरण महत, सचिव शंकर दास बैरागी तथा चिनियाँ राजदूत यू बीच चार दिन अघि भएको वार्तामा उक्त समझदारी पत्रको मस्यौदाको टुंगो लागेको थियो ।
प्रधानमन्त्री दाहालले चिनियां राष्ट्रपति सि जिनपिङ्संग अघिल्लो महिना बेइजिङ्मा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्दता जनाउनुभएको थियो । नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बन्न चीनसंग सन् २०१४ मै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

चीनले यही महिनाको अन्तिममा आयोजना गर्न लागेको ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलनमा उपप्रधानमन्त्री महरा, संचारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजनामन्त्री रमेश लेखक चीन भ्रमणमा जानुहुनेछ भएको छ । सरकारी टोलीमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी रहनुहुने भएको छ ।
चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल र चार जना मन्त्रीहरुलाई बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागीताका लागि निमन्त्रणा पठाएको थियो ।

चिनियां राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा घोषणा गरेको ‘बेल्ट एन्ड रोड’ अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्