शरिर बाहिर निस्किएको आन्द्रा काटेर राईले पाए नोबेलमा निःशुल्क उपचार

शरिर बाहिर निस्किएको आन्द्रा काटेर राईले पाए नोबेलमा निःशुल्क उपचार

अर्जुन आचार्य
विराटनगर, ३१ वैशाख ÷ खर्च अभावमा उपचार नपाएर शरिर बाहिर निस्किएको सानो आन्द्रा लिएर हिंडेका मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क सफल उपचार भएको छ ।
४० वर्षीय राईले उपचारको लागि आवश्यक रकमको अभाव भएको र उपचार नपाएको समाचार थाहा खबरमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएलगत्तै नोबेल ल्याइएका राईलाई अस्पतालले सम्पूर्ण चार्ज निःशुल्क गर्ने घोषणा गरेको थियो । १ महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताउनु भयो । ‘रकम लिएर उपचार गर्ने हो भने उनको उपचार खर्च ५ लाख बढी हुने थियो,’ अस्पतालका प्रमुख सुनिल शर्माले भन्नुभयो, ‘हामीले बेडचार्ज, औषधि तथा अपरेशन चार्ज निःशुल्क गरेका छौं ।’
अल्सर भएर डेढ वर्षअघि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको अपरेसन भएको थियो । ‘धराको विपीमा उपचार गर्दा मेरो ८ लाख रुपैयाँ पर्ने १८ रोपनी जग्गा सकियो,’ पीडित राईले भने, ‘नोबेलमा मैले खाना खर्चबाहेक अन्य खर्च लागेन ।’
प्लाष्टिको पोकोमा आफ्नो आन्द्रा बोकेर हिंड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताए । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि विपीले अपरेसन गरेपछि ६ महिनामा बोलाएको थियो । तर, खर्च अभावले राईले १५ महिनादेखि शरिर बाहिर आन्द्रा लिएर हिंड्न बाध्य थिए ।
नोबेल अस्पतालका बरिष्ठ जेनेरल सर्जन डाक्टर जे.एन. भगवतीको टोलीले उक्त उपचार गरेको हो । ‘लामो समयसम्म उपचार नहुँदा बिरामीको पेट भित्र प्रोल्याप्स (थुपै्र घाउ) भएको थियो,’ उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भने, ‘बिग्रेको भागको आन्द्रा काटेर फालियो र पुनः पहिलेकै अवस्थामा ल्याइएको छ ।’ सफल नहुने हो कि भन्ने आशंकाका बीच उपचार गरिएको र सफल भएको अस्पताल प्रमुख शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्