हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन, एसिया कपमा छानियो

हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन, एसिया कपमा छानियो

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेको छ । मलेसियामा आइतबार भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । एसीसी यू–१९ इस्टर्न रिजनको उपाधिसँगै नेपालले एसीसी यू–१९ एसिया कपमा क्रिकेटमा स्थान बनाएको छ । एसिया कप आगामी नोभेम्बरमा हुनेछ । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानजस्ता बलियो टोलीको सहभागिता हुनेछ ।

मलेसियाको किनरारा ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४  ओभर ४ बलमा  ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान दिपेन्द्र सिंह एरीले २२ रन जोडे । दिपेन्द्रले प्रनित थापा मगरसँग चौथो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । प्रनित १९ रनमा अविजित रहे ।

त्यसअघि नेपालका ओपनर सन्दिप सुनारले १९ तथा अनिल कुमार साहले १६ रन बनाएका थिए ।  नेपालले ओपनर आसिफ शेखलाई मात्र १ रनमा गुमाएको  थियो । हङकङका करण दिप सिंहले तीन तथा झाथावेध एसएसले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाएको थियो । खराब सुरुवात गरेको हङकङले पहिलो ओभरमै ओपनर  राग कपुरलाई सुन्य रनमा गुमाएको थियो । उनलाई नेपालका नन्दन यादवले पहिलो ओभरको पाँचौ बलमा पेभेलियन फर्काएका थिए ।

पहिलो विकेट सस्तैमा गुमाएपनि हङकङलाई मध्यक्रमका ब्याट्सम्यानले सम्हाल्ने कोशिश गरेका थिए । हङकङका हरपृत सिंह र कप्तान झाथावेध एसएसले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । रन आउट हुनुअघि झाथावेध एसएसले १६ रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा आउट भएका ओपनर हरपृत सिंहले २० रन बनाए । हङकङको स्कोर मात्र ४५ रन हुँदा हरपृतलाई शाहव आलमले पेभेलियनको बाटो देखाएका थिए ।

हरपृत आउट भएपछि हङकङले लगातार विकेट गुमायो । हङकङले  थप ३१ रन जोड्दा सात विकेट गुमाएको थियो । त्यसपछि हङकङका वाकोस खानले मात्र १५ रन जोडन सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

हङकङलाई कम स्कोरमा रोक्न नेपाली बलर शाहव आलम र सन्दिप लामिछाने समान ३ – ३ विकेट लिए  । सन्दिपले ६ ओभर १ बलमा १ मेडनसहित  मात्र ८ रन खर्चिएका थिए भने शाहबले ७ ओभर बलिङ गर्दै १५ रन खर्चिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह एरी र नन्दन यादवले समान १ – १ विकेट लिए ।

इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भने नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो । यता, छनोटको समूह बि मा रहेको हङकङ पनि समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्