‘हरिबहादुर’लाई आममानिससम्म पुर्‍याउन यात्रा सुरु , बिराटनगरमा जेठ २४ गते कार्यक्रम

‘हरिबहादुर’लाई आममानिससम्म पुर्‍याउन यात्रा सुरु , बिराटनगरमा जेठ २४ गते कार्यक्रम

हास्यकलाकार हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’लाई आममानिससम्म पुर्‍याउने उद्देश्यले गरिएको ‘हरिबहादुर किताब यात्रा’को शुभारम्भ शुक्रबार भयो ।

ग्राण्ड होटल ताहचलमा आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई विदाई गरेर हरिबहादुर किताब यात्राको औपचारिक शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भने, “पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पुर्‍याउने काम त्यति व्ववस्थित रुपमा गरिँदैन । यस यात्रालाई पुस्तकलाई पाठकसम्म महत्वपूर्ण काम गर्छ भन्ने लाग्छ ।’ उनले थपे, ‘चिना हराएको मान्छे’को प्रकाशनपछि आत्मकथाको एउटा लहर नै आएको थियो । ‘हरिबहादुर’को प्रकाशनपछि उपन्यास लेखनमा अर्को लहर आउँछ भन्ने मलाई विश्वास छ ।”

प्रकाशन गृह फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले भने, “फाइनप्रिन्टको स्थापना कालदेखि नै पुस्तक प्रवद्र्धनका नयाँनयाँ प्रयोग गरेर पुस्तकको बजार विस्तार गर्दे लैजाने हाम्रो प्रयास रहदै आएको छ । यो किताब यात्रा त्यसैको पछिल्लो कडी हो ।” उनले थपे, “हामी पहिले पनि किताब यात्रामा गएका छौं तर एउटा बस, एउटा ट्रकसहित १६ जनाको टिम लिएर व्यवस्थित तरिकाबाट किताब यात्रा गरिएको यो सम्भवत नेपालमा पहिलो हो ।”

लेखक आचार्यले भने, “पठनसंस्कृतिलाई व्यवसायिकतासँग जोड्ने राम्रो प्रयास हो यो किताब यात्रा । यस यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकहरुसँग प्रत्यक्ष संवाद गर्नेछु । यो मेरोलागि सर्वधा नौलो अनुभव हुनेछ । साथै, यो मेरा लागि पाठकहरुको कुरा सुन्ने राम्रो मौका पनि हुनेछ ।”
हरिबहादुर किताब यात्रा पोखरा बुटवल, दांग, सुर्खेत, कोहलपुर, धनगढी, चितवन, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली गरी ११ ठाउँमा हुनेछ । यात्राको अवधि १४ दिन हुनेछ ।

विराटनगरमा जेठ २४ गते ट्राफिक चोकमा कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्