विराटनगर ५ असार । सुशासन र भौतिक विकासलगायतका ६ बुँदे प्रतिबद्धतासहित नेकपा एमालेले विराटनगर महानगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ ।
एमाले विराटनगर नगर समितिको आयोजना सोमबार भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित, मेयरका उम्मेदवार विनोद ढकाल लगायतका नेताले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा दर्जन भन्दा बढी विभिन्न नारा उल्लेख छन् । यसका साथै कतिपय महत्वकांक्षी आयोजनाको निर्माण गर्ने र समग्र मोरङको जिम्मा लिने गरी घोषणा पत्रमा विषय समेटिएको छ । घोषणापत्रमा सुशासन, वातावरण संरक्षण, सामाजिक सुधार, दिगो भौतिक पूर्वाधार निर्माण, नागरिकको सहभागीतामा आधारित समृद्धिको निर्माण र वित्तिय व्यवस्थापनसम्बन्धी विषय उल्लेख छ । यसका साथै कृषि क्षेत्रको आधुनिकीकरणका लागि विभिन्न सिंचाई योजनाहरु समावेश गरिएको छ । नेकपा एमाले र फोरम लोकतान्त्रिकको तालमेलपछि विराटनगर महानगरपालीकाको एमालेबाट मेयरमा विनोद ढकाल र उप मेयरमा फोरम लोकतान्त्रीकबाट सुची चौधरीलाई उठाएको छ ।

प्रतिक्रिया लेख्नुहोस