कृष्ण अधिकारी

कृष्ण अधिकारी

२०११ श्रावण १६ गते जन्मनु भएका कृष्ण अधिकारी परिचित पत्रकार तथा लेखक हुनुहुन्छ । लामाे समय पत्रकारीताकाे अनुभव संगाल्नु भएकाे अधिकारीकाे जर्मनी यात्रा स्मृति २०५६ मा र कथासङ्ग्रह ‘कान्छो सार्की’ २०६८ प्रकाशित छन् । समसामायिक विषयमा लेखिएका उहाँका लेखहरु राष्ट्रिय पत्रपत्रिकामा नियमितरुपमा प्रकाशित हुँदै आएका छन् ।
कृष्ण अधिकारी

मानसरोवरको किनारमा बास बस्नु जिन्दगीको ठूलै काम जस्तो लागेको थियो । चिसोका कारण बेलुका मञ्जुदेवी प्रसादको अवस्था देख्ता मानसरोवरमा कसरी नुहाउने भन्ने चिन्ता बढेको थियो । करोडौँ मान्छेले मानेको पवित्र जलमा वहाँदेखि आएको मान्छेले ननुहाइ जानु त मिल्ने कुरै भएन । एकजना विद्वानले आफ्नो पुस्तकमा लेखेको कुरा त्यतिखेरै सम्झिएँ मैले । उनले लेखेको सार यस्तो थियो ‘आद्य शङ्ककराचार्य मानसरोवर यात्रामा गएका थिए । शङ्ककराचार्य न्यासध्यान धर्मकर्ममा परङ्गत त हुने नै भए तर योग साधनामा उनको चित्त गएको थिएन । उनी मानसरोवरको किनारमा गएर नुहाउन थाले । नुहाइसकेर यसो परतिर हेर्छन् त एकजना लामा मानसरोवरको पानी घटाघट पिउँदै थिए । उनका मलद्वार र लिङ्गद्वारबाट त्यो खाएको पानी निस्केर गइरहेको थियो । त्यो देखेपछि शङ्ककराचार्यले अर्थ लगाए– यी लामाले मलाई भन्दैछन्, ब्राह्मण ! त्यसरी बाहिर मात्र पखालेर कसरी देह शुद्ध हुन्छ ? यसरी पो अन्तरदेह शुद्ध गर्नुपर्छ त ।’ यो कुराले मेरो हिम्मत बढ्यो एउटा प्लाष्टिकको मग र घरका लागि जल ल्याउने बोतल बोकेर मानसरोवरको किनारमा पुगेँ । सूर्यका अत्यन्तै कमजोर किरण थिए तर अक्सिजन विनाको निर्दयी हुरी निरन्तर चलिरहेको थियो । कानमा रुवा ठुसेँ, हावा नछिरोस् भनेर । लुगा फुकालेर ढुङ्गाले थिचेँ, हुरीले नउडाओस् भनेर । मग लिएर पानीमा गएँ, पानी त वरफ पो भएको रहेछ । दुई मुड्की हान्दा फुट्यो र तलको पानी भेटियो । त्यो पानी दुई मग टाउकादेखि खन्याएँ र शरीरमा बग्दै गरेको पानीलाई तेल दलेजस्तो शरीरमा दलेँ । नुहाउनु भनेको यति नै सम्भव भयो । लुगा लगाएँ, यति काम मैले यति छिटो गरेँ कि मैले जम्मा सातपल्ट मात्रै सास फेरेँ हुँला । हाम्रो यात्रा अझैँ बाँकी नै थियो । त्यो बाँकी यात्रा अझ कठिन थियो । हाम्रो बस मानसरोवरको पूर्वी किनाराबाट दक्षिण लाग्यो । पहिले त मानसरोवरको त्यो पूर्वी किनारमा दुई रात राखियोस् भन्ने माग गरेका थिए यात्रुले तर त्यहाँको बसाइको वेथिति भोगेपछि सबै चुपचाप बाटो लागेका थिए । हाम्रो बस मानसरोवरलाई दाहिने पारेर कच्चीबाटो जाँदै थियो । समुद्र सतहदेखि ४५९० मिटरको उचाइमा रहेको यो पवित्र तालको गहिराइ सरदर ९० मिटर छ भने ३२० स्क्वायर किलोमिटरमा फैलिएको छ । यसको परिक्रमा गर्न भने ८८ किलोमिटर बाटो हिँड्नु पर्छ । मानसरोवर उद्गमस्थल रहेका नदीहरूमा सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली हुन् । मानसरोवरको पूर्वी किनारा, जहाँ हामी बास बसेका थियौँ त्यहाँबाट दक्षिणमा नजिकै देखिन्थ्यो एउटा हिमाल । हामी त्यही हिमाललाई ताकेजस्तो गरेर सरोवरको किनारै किनार हिँडेको डेढघण्टासम्म पनि त्यसको हाराहारी पुग्न सकेन हाम्रो गाडी । एकातिर अनन्त जल भण्डार भएको सरोवर र अर्कातिर हिम भण्डार । हिमालको मजा लिदै दक्षिण हिँडिरह्यौँ हामी । यो हिमालको नाम भन्न सक्छौ भाइ ? मैले शेर्पा भाइसँग प्रश्न गरेँ । ‘गुर्ला मन्धता’ उसले भन्यो । मैले बुझिन र सोधेँ के रे ? अर्को भाइले भन्यो गुरु मण्डला । गुरु मण्डला हो कि गुर्ला मन्धता हो मैले बुझ्न सकिन । हिमाल एकदमै सुन्दर थियो । नेपाल र तिब्बतको सीमास्तम्भ भएर उभिएको होला यो हिमाल भन्ने लाग्यो मलाई । एउटा शेर्पा भाइले जानकारी गरायो, यो गुर्ला मन्धता हिमाल सारै लच्छिनको हिमाल मानिन्छ र यसको आसपासमा बस्ने मान्छे कोही गरीब हुँदैन, कोही रोगी हुँदैन भन्ने मान्यता छ सर ! साँच्चै त्यो क्षेत्रमा सबै मान्छे धनी छन् कोही दुःखी छैनन्, ती शेर्पा भाइले थपे । नजिक पुगेपछि हिमालको रमणीयता सकियो । किनभने हिमाल हैन हिमालको फेद मात्र देख्न सक्थ्यौँ हामी । गुरु मण्डला हिमाल हाम्रो बायाँबाट छोडिन लाग्यो । दायाँ छ मानसरोवर त्यो पनि सकिदै छ अर्थात् हामी सरोवरको दक्षिणमा पुगेका छौँ । हाम्रो गाडी एउटा सानो पहाड उक्लियो । त्यहीँबाट देखियो राकस ताल । राकस ताललाई राक्षस ताल पनि भनिन्छ । मानसरोवर जस्तो मिलेको ताल छैन राकस ताल तर मानसरोवर भन्दा केही न केही ठूलो छ यो ताल । स्वाऽऽ गर्ने आवाज निस्कन्छ यो राकस तालबाट । नुनिलो पानी छ भनिन्छ तर त्यो तालमा कोही तिर्थालु जाँदेनन् । कसैले श्रद्धाभक्ति दर्शाउँदैनन् । अघिसम्म मानसरोवर र कैलाश पर्वतका नाउमा नारा घन्काउनेहरू पनि चुपचाप लागेर राक्षस ताललाई हेरिरहे । हाम्रो गाडी केही ओरालो झ¥यो र राक्षस तालको नजिकैबाट उत्तर गएको राजमार्गबाट उत्तर नै लाग्यो । निक्कै समय हिँडेपछि मात्र मानसरोवर र राक्षस तालको क्षेत्र समाप्त भएको अनुभव गरियो । दुवैतर्फ हिमाल देखिने यो उपत्यकामा कुनै समय समुद्र थियो होला । अनेकन प्रलयका कारण महासागर अर्कै ठाउँ पुग्यो र यहाँँँ हिमाल बन्यो । यहाँ वनस्पति उम्रिने भएको भए यो बालुवा माटोमा परिणत भइसक्थ्यो होला । वनस्पतिको जीवन नभएकै कारण हजारौँ लाखौँ वर्षदेखि बालुवा छ । हुरीले एक ठाउँबाट अर्को ठाउँमा सार्छ तर बालुवा सधैँ बालुवा नै रहन्छ । यो हिमाली मरुभूमि हो । हामी पश्चिमोत्तर जाँदैछौँ दार्चेनतिर । दार्चेन भनेको कैलाश परिक्रमाको वेसक्याम्प हो ।

प्रतिक्रिया लेख्नुहोस