२९ मंसिर २०७६, आईतवार

विराटनगरको बैजनाथपुरमा उपभोक्ता समितिको पत्रकार सम्मेलन, भ्रष्टाचार नगरेको दाबी

विराटनगर । विराटनगर–१९ मा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान निमार्णमा भ्रष्टाचार भएको भन्ने विषय प्रदेश १ सभामा उठेपछि सम्बन्धित निकायले खेल मैदानमै पत्रकार सम्मेलन गरेर भ्रष्टाचार नगरेको दाबी गरेको छ ।
बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिका अध्यक्ष नवीन घिमिरेले पत्रकार सम्मेलनमा पिच र मैदान बनाउन कुनै किसिमको कमसल समान प्रयोग नगरेको जानकारी दिनुभयो । भ्रष्टाचार गरेको र काम नै नभई विभिन्न शीर्षक बनाएर बिल भौचर पेस गरी रकम हिनामिना गरेको आरोपमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो ।
घिमिरेले रंगशालामा गरिएको काम र बिल रुजु गर्न चुनौती पनि दिनुभयो । जेठ तेस्रो सातामा सम्झौता भएर काम सुरु गरेको बताउदै उहाँले मुम्बईका क्युरेटरलाई ल्याएर पिच र मैदानमा अन्तर्राष्ट्रिय मैदानको फर्मुला प्रयोग गरी काम गरिएको दावी गर्नुभयो ।
मैदानमा ५ वटा अन्तर्राष्ट्रिय पिच बन्ने छन् । मैदान व्यवस्थापन समिति र प्रदेश सरकारबीच ८५ लाख रुपैयाँमा मैदान तयार गर्ने सम्झौता भएकोमा अहिलेसम्म २६ लाख ५७ हजार रुपैयाँ खर्च भएको र सरकारलाई त्यही खर्च अनुरुपको बिल भौचर पेश गरेको अध्यक्ष घिमिरेले बताउनु भयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस