९ माघ २०७६, बिहीबार

सेनाकै ब्यारेकमा छिरेका सेनाका नक्कली अधिकृत विराटनगरबाट पक्राउ

विराटनगर । आफूलाई नेपाली सेनाको अधिकृत बताउँदै सेनाकै ब्यारेकमा छिरेका एक युवक विराटनगरबाट पक्राउ परेका छन् ।विराटनगर विमानस्थन सुरक्षामा रहेको बेसक्याम्पमा गएर उपसेनानी (लप्टन) बताउँदै चिया पिएर हिंडेका युवकलाई बुधबार साँझ सेनाले पक्राउ गरेको छ ।

सुनसरीको दुहबी–३ घर भएका शुभमबिक्रम चन्दलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ । विमानस्थलमा चन्दको क्रियाकलापका बारेमा सूचना आएपछि नियन्त्रणमा लिइएको सेनाको मोरङस्थित थलाहा गणका सहसेनानी खड्ग निरौलाले बताए । सेनाले सोधपुछका क्रममा चन्दले सैनिक निर्देशनालयको प्राड बिवाक (कानुन महाशाखा)मा कार्यरत रहेको बताएका थिए ।

विराटनगरबाट यति एयरको जहाजबाट काठमाडौं जान विमानस्थल गएका बेला सेनाको सुरक्षा पोष्टमा चन्द पुगका थिए । पिउँदै गरेको चिया नसकी शौचालय जान हिंडेका उनी फर्र्किएनन् ।

उनले विमानस्थलमा टिकट जाँच गर्ने ठाउँमा सेनाको नक्कली परिचयपत्र देखाएका थिए । सेनाको सोधपुछका क्रममा ठकुरीले आफू उपरथी ईश्वर हमालको छोरीपट्टीको नाति बताएका थिए । चन्दले आफू १ नम्बर बाहिनी अड्डा काठमाडौंमा कार्यरत रही बिदामा रहेको बताएका थिए ।

उनी यसअघि पनि पक्राउ परेर कारवाही भोगिसकेका ब्यक्ति हुन् । २०७४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी चौधरीको चुनाव प्रचारका क्रममा पक्राउ परी १ लाख ५० हजार रूपैयाँ धरौटीमा छुटेका थिए ।

उनको साथबाट नक्कली परिचयपत्र पनि फेला परेको छ । पक्राउ परेका ठकुरीले एकै पटक तीन वटा नक्कली परिचयपत्र बनाएको खुलेको मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

यसअघि पक्राउ पर्दा प्रयोग गरेको परिचयपत्रमा हालको परिचयपत्रमा उल्लेख भएको नामको पछाडि ठकुरीसमेत थपिएको पाइएको उनले बताए । २०७४ मा पक्राउ पर्दा उनलाई नक्कली परिचयपत्र बनाएर दिने ब्यक्ति पनि पक्राउ गरेर २५ हजार रूपैयाँ धरौटीमा छुटेको बताइएको छ ।

ती ब्यक्तिका बारेमा पनि प्रहरीले पूनः अनुसन्धान थालेको छ । चन्दका बारेमा सूक्ष्म अनुसन्धान शुरू गरी कारवाहीको तयारी भइरहेको नायब उपरीक्षक थापाले बताए । उद्घोष दैनिकमा छ

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस