९ माघ २०७६, बिहीबार

प्रदेशमा ६ महिनामा १४ वटा टिप्पर दुर्घटना, ५ जनाको मृत्यु १५ जना घाइते

विराटनगर । प्रदेश नं. १ मा चालु आर्थिक वर्षको हालसम्म टिपरका कारण ५ जनाको ज्यान गएको छ । टिपरकै कारण १५ जना घाईते भएका छन् ।
एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका अनुसार टिपरका कारण मात्र १४ वटा सडक दुर्घटना भएको तत्याङक छ । टिपर बढी लोड भएका बेला तीव्र गतिमा कुदाउनु, अनुभव नभएका चालक, साँघुरो सडक लगायतका कारणले टिपर दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने टिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढि हुने गरेका छन् । ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा अतिनै तीव्र गतिमा कुदाइने गरिएको ट्राफिक प्रहरीको निश्कर्ष छ । बनावटका हिसाबले अरु सवारी जस्तो सजिलो नहुने टिपर निश्चित गतिमा कुदाउन आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
मोरङको बेलबारी उद्योग बाणिज्य संघका महासचिव विवेक मिश्र टिपरमा चालकको लापरवाही धेरै रहेको बताए । व्यवसायी र सरोकारवाला निकाय टिपरको गति र त्यसबाट बढिरहेको दुर्घटना न्यूनीकरण गर्ने दिशामा अघि बढ्नुपर्ने मिश्रको सुझाव छ ।
तीव्र गति र सडक दुर्घटना न्यूनीकरण मुख्य उदेश्य राखेर ट्राफिकले २०७५ चैत ११ गतेबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा र उदयपुरमा सञ्चालित टिपरमा ‘टाइम कार्ड’ पनि लागू गरेको छ ।
यो नियमअनुसार ट्राफिक प्रहरीले तोकेको र चालकलाई वितरण गरिएको कार्डमा उल्लेख भएको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तर ट्राफिकलाई छल्दै टिपर अत्याधिक गतिमा चलाइन्छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले दुर्घटन न्यूनीकरणका लागि ‘टाइम कार्ड’ प्रणालीलाई कडाईका साथ लागू गरेर टिपर चालकलाई अनुशिक्षण र प्रशिक्षण दिने काम पनि भइरहेको बताए ।
तीव्र गतिमा कुद्ने र नियम उल्लंघन गर्नेलाई धमाधम कारबाही पनि गर्ने काम भइरहेको उनको भनाइ छ । विभिन्न सडक र संरचना निर्माणको काम भइरहेका कारण यो बेला पूर्वी तराईका जिल्लामा टिपरको चहलपहल अलि बढी नै छ । एसपी दाहालले कुन सडकमा टिपर चलाउन उपयुक्त छ भन्ने अध्ययन गरेर मात्रै सञ्चालनको अनुमति दिँदा संरचनाकै हिसावले जोखिमपूर्ण हुने समस्या टर्ने बताए । प्रदेश १ मा चार हजार आठ सय बढी टिपर सञ्चालनमा छन् ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस