९ माघ २०७६, बिहीबार

सिद्धबाबा विरुद्धको मुद्दाको सुनुवाई स्थगित, विराटनगरको उच्च अदालत अगाडि धर्ना

विराटनगर । सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी विरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ । उच्च अदालत विराटनगरमा बिहीबारका लागि मुद्दाको सुनुवाई हुने तय भएको थियो ।
कायम मुकायम मुख्य न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा सुनुवाईका लागि मुद्दाको पेसी तोकिएको थियो । पीडित पक्षकै निवेदनका आधारमा मुद्दाको सुनुवाई आगामी बिहीबारका लागि सरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिनुभयो । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ ।
सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता एक महिला अनुयायीले बलात्कार गरेको आरोप सहित किटानी जाहेरी दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यही मुद्दा उच्चमा पुगेको हो । सरकारी वकिलको तर्फबाट कृष्णबहादुरलाई थुनामा राखेर पुर्पक्षको मागदाबी सहित पुनराबेदन दर्ता भएको छ भने, कृष्णबहादुरले आफु निर्दोष रहेकोले सादा तारेखमा छुट्नु पर्ने माग गर्दै उच्च अदालतमा गएका हुन् ।अदालतत अगाडि धर्ना
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि बिहीबार बिन्न् िअधिकारवादीले धर्ना दिएका छन् । पीडितका पक्षबाट दिइएको धर्नामा अधिकारकर्मी, अगुवा महिला एवं एनजिओकर्मी सहभागी थिए । उनीहरुले बलात्कार आरोपी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग राखेका छन् ।
एक महिला अनुयायीले सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी सिद्धबाबा विरुद्ध दिएपछि सुनसरी प्रहरीले उनलाई पक्राउ गरेर जवरजस्ती करणी मुद्दामा मंसिर १६ गतेबाट अनुसन्धान थालेको थियो । उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालत विराटनगरमा पुगेको यही मुद्दाको सुनुवाईका लागि पेशी बिहीबारलाई तोकिएको थियो । मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यस अघि नै लगाउमा राखिसकेको छ ।
जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो । यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस