११ फाल्गुन २०७६, आईतवार

प्रदेश १ का २७ स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु

विराटनगर । प्रदेश १ का विभिन्न सत्ताइस स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु भएको छ । करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा प्रदेश सरकार र स्थानीय तहसमेतको सहभागिता हुने गरी मंगलबार कार्यक्रम शुभारम्भ गरिएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विभिन्न १६ बालबालिकालाई व्हिलेचयर वितरण गरी विराटनगरमा कार्यक्रम शुभारम्भ गरिएको हो ।मुख्यमन्त्री राईले सरकारले सबै नागरिकलाई उत्तिकै अवसर र सहज जीवनयापन गर्न दिनुपर्ने समाजिक सिद्धान्तको आधारलाई अंगिकार गर्दै कार्यक्रम शुभारम्भ गरिएको बताए ।

करुणा फाउन्डेसनका अध्यक्ष डा. भगवान कोइरालाले प्रदेश १ मा उदाहरणीय रुपमा कार्यक्रम शुभारम्भ हुनुले अपाङ्गता भएकाहरुको पहिचान, अवस्था र उनीहरुलाई गर्न सकिने सहयोगको पहिचान हुने बताए । भने,‘‘यो कार्यक्रम सकिँदा पाँच वर्षमा यसको रिजल्ट देखिने छ ।’’

उनले धेरै जनसंख्या भएको प्रदेश १ मा अपाङ्गता भएकाहरुको अवस्था जानकारी प्राप्त भएपछि स्थानीय तहहरुमा स्वास्थ्य केन्द्रको क्षमता अभिवृद्धि गरिनुपर्ने बताए । कार्यक्रम सुरु भएका स्थानीय तहहरुमा समुदायमा आधारित पुनर्स्थापना केन्द्रसमेत सञ्चालनमा आउनेछन् । यस अन्तर्गत अनौपचारिक शिक्षा, व्यावसायिक तालिम त्यसपछि बीउ पूँजीको व्यवस्था, दौंतरी शिक्षा, बाल क्लब गठन स्थानीय तह सुदृढीकरणलगायत क्रियाकलाप आयोजना हुने प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार कार्यक्रमले अपांगता भएका व्यक्तिहरुलाई सामाजिक रुपमा अन्तरघुलन गराउनसमेत मद्दत मिल्ने छ ।

यो सम्पूर्ण कार्यक्रम सञ्चालन गर्नको लागि बजेट एक अर्ब ८६ करोड ६ लाख २४ करोड लाग्ने अनुमान गरिएको छ । जसमा प्रदेश सरकारबाट ६१ करोड ८० लाख, स्थानीय तहहरुबाट ६१ करोड ८० लाख र करुणा फाउन्डेसन नेपालबाट ६२ करो ४४ लाख उपलब्ध हुने छ ।

कार्यक्रमको लक्ष्य जन्मजात तथा जन्म पश्चात हुने अपांगता न्यूनीकरण गर्ने, मातृशिशु मृत्युदर न्यूनीकरण गर्ने एवम् अपांगता भएका व्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्ने रहेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कार्यक्रमको कार्यान्वयन गर्न स्थानीय तहको ठूलो भूमिका हुने भएकोले पूर्णत सहयोग गर्ने बताए । कार्यक्रममा साहित्यकार झमककुमारी घिमिरे र चित्रकार आमिर बमजनलाई सम्मान गरियो । बमजनले कार्यक्रमस्थलमै मुखले चित्र बनाएर देखाएका थिए ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस