११ फाल्गुन २०७६, आईतवार

डिडिसीबाट डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब

काठमाडौं । कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान (डिडिसी)बाट पछिल्लो समयमा डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ।

पछिल्लोपटक डिडिसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार ५०० मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो। डिडिसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप)ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना बितिसक्दा पनि दोषी कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गरिएको छ। डिडिसीले अध्ययन प्रतिवेदनसमेत गुपचुप राखेको छ। डिडिसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट) गायब पारिएको छ।

यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँच सय किलो धुलो दूध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयारी घिउ हिनामिना भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो ८०० रुपैयाँ, ठोस पदार्थको प्रतिकिलो ५७५ र तयारी घिउको बजार मूल्य करिब ८५० रुपैयाँ पर्छ। डिडिसीका महाप्रबन्धक बैकुण्ठ अधिकारीले समेत बालाजु आयोजनाबाट ‘केही उत्पादन ठूलो परिमाणमा कमी भएको’ अवस्थामा फेला परेको स्वीकार गरे।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस