कालजयी सर्जक

कालजयी सर्जक

बद्रीप्रसाद दाहाल/गाेरखापत्र
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका एक स्वप्नद्रष्टा असल मानिस हुनुहुन्छ । तिथिअनुसार उहाँको जन्म गाईतिहारे औँसी भए पनि गते मुताबिक आज कात्तिक २७ गते उहाँले धराधाममा पदार्पण गर्नुभएको थियो ।

प्रायः साहित्यका सबै विधामा कलम दौडाउने उहाँ कविता र निबन्ध क्षेत्रका अनुपमेय व्यक्तित्व हुनुहुन्छ । प्रतिभा, अभ्यास र व्युत्पत्तिका त्रिवेणी देवकोटा अशिक्षित अर्धशिक्षित र प्राज्ञिक सबैका मनमस्तिष्कलाई खिच्नसक्ने सामथ्र्य राख्नुहुन्थ्यो आफ्ना सिर्जनाका माध्यमबाट । यसैले त उहाँलाई बहुआयामिक र बहुभाषिक सर्जकका रूपमा दर्ज गरिएको हो ।

‘कवि बोलोस् जसरी चराहरू बोल्छन्, न कि उस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई ।’ महाकवि देवकोटाको यही अहं मान्यता थियो कवि र कविताका सम्बन्धमा । कविता हार्दिक सहजतामा आडम्बर अर्थात् देखावटी ठाँटबाँट, बोक्रे धाक, सेखी, घमण्ड, स्वाङ र नक्कलीपन धुजाधुजा पारेर उन्मुक्त जन्मन सकून् चराहरूका स्वरझैँ, जसले अन्तहृदय भित्रका ध्वनि प्रतिध्वनित गरून् । त्यसै भएर उहाँले दृढतापूर्वक भन्नुभयो– ‘‘सत्यको श्रद्धा र हृदयको समीपवर्तित्व नै कविको वाणी हो ।’’ ‘साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा तीव्र भएर बस्छ ।’ सहज, सरल र स्वाभाविकतालाई अनुवरण गरी आफ्नो माटोमा परमानन्दको सुगन्ध भेट्टाउने उहाँको महान् उदात्त यी दूरदृष्टिपूर्ण सङ्कथन नै महाकविको कविताबारेको अवधारणा हो । त्यसै भएर भारतका सुप्रसिद्ध विद्वान् राहुल सांकृत्यायनले (भनिन्छ उहाँ छत्तीस भाषामा कलम चलाउने खुबी राख्नुहुन्थ्यो ।) देवकोटाको विलक्षण प्रतिभा देखेर यस्तो उद्गार व्यक्त गर्न‘भएको थियो– ‘‘भारतका सुविख्यात सुमित्रानन्द पन्त, जय शङ्करप्रसाद र सूर्यकान्त निराला तीन सर्जक व्यक्तित्वहरू जोड्दा एउटा देवकोटा बन्दछ ।’’ राहुलले त स्पष्ट भनिदिनु भयो गौतम बुद्धपछिको मानव अवतार देवकोटा हुन् । अनुसन्धानमूलक समालोचनाका गवेषक व्यक्तित्व राममणि रिसालले देवकोटाको समग्र सिर्जना विधाहरूको अध्ययन र अनुसन्धान गरी भन्नुभयो– ‘‘किम्बुको हरियो पात चपाएर साहित्यको रेसम ओकल्ने कवि हुन् देवकोटा ।’’ कति मार्मिक तथ्यपरक अभिव्यक्ति छ उहाँको ।

गद्यपद्य दुवैमा उत्तिकै कलम चल्ने देवकोटा आत्मपरक, भावपरक र निजात्मक निबन्धका अनुपम स्रष्टा हुनुहुन्छ । ‘निबन्ध रौँचिरा दर्शन होइन, न हो पाण्डित्य प्रदर्शनको ठ्यासपूm । यो एक किसिमको धूर्त बदमास ठिटो हो, जो सडकमा हिँड्दा कहिले ढुङ्गा हान्छ, कहिले कतै आनन्दले फुलेर हेर्छ, तर घोरिँदैन पाठघोकुवा हलन्ते मिजासले । यो टेबुल गफ हो चस्मादार अध्यापकको व्याख्यान होइन, न त बमन वेदान्त ।’ यही मान्यता बोकेर शारदा पत्रिकामार्फत उहाँले नेपाली निबन्धलाई आधुनिकता दिँदै अन्तर्राष्ट्रिय स्तरमै उचाल्नुभयो । राष्ट्रभक्ति, संस्कृतिप्रतिको अनुराग, कल्पनाको ऐश्वर्य, सुधारवादी चेतनाका प्रवाह, विकृति एवं विसङ्गतिमा थप्पड, प्रकृतिप्रतिको उदात्त प्रेम, वैचारिक आत्मपरक शैली, कल्लोल र ज्वारभाटा उहाँका निबन्धगत प्रवृत्ति वा विशेषता हुन् । उहाँका २००२ सालमा प्रकाशित तीन दर्जन निबन्धको सँगालो ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, १९९८ सालमा प्रकाशित पाश्चात्य निबन्धकारका चुनेका निबन्धको नेपाली अनुवाद ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ र २०३९ सालमा राजेन्द्र सुवेदीको सम्पादनमा प्रकाशित १६ वटा निबन्धको तेस्रो सङ्ग्रह ‘दाडिमको रूखनेर’ प्रकाशित छन् । कथालाई देवकोटा यसरी नियाल्नुहुन्थ्यो– कथा एउटा आँखीझ्याल हो, जहाँबाट सानो संसार चियाइन्छ । लक्ष्मी कथासङ्ग्रह उहाँको ज्वलन्त आख्यान कृति हो । यसैले त देवकोटा महाकवि, महानिबन्धकार हुँदै नेपाली भाषा–वाङ्मयका सम्राट् बन्नुभएको हो । उपन्यास, नाटक, गीतीकाव्य छ सयभन्दा बढी फुटकर कविता, आठ दर्जन कृतिहरू दिने चिन्तनीय मेधा थियो उहाँमा ।

बाबु पण्डित तिलमाधव र आमा अमर राज्यलक्ष्मीका साहिला छोराका रूपमा १९६६ साल कात्तिक २७ गते गाई तिहारको दिन काठमाडौँ डिल्लीबजार धोबीधारामा आँखा खोल्नुभएको तीर्थमाधव देवकोटा अर्थात् लक्ष्मीप्रसादले । कवि एवं पण्डित तिलमाधवले लक्ष्मीप्रसाद पाँच वर्षको हुने बित्तिकै अक्षर चिनाउने काम गर्नुभयो । दस वर्ष पुग्दानपुग्दै उहाँले ‘घोर दुःख सागर संसार जान भाइ, नगरे घमण्ड कहिल्यै मर्नू छ हामीलाई’ भन्ने दार्शनिक चेतनाले भरिएको पहिलो कविता लेख्नुभयो । आठ वर्षमा व्रतबन्ध संस्कारले बाँधिनुभएका उहाँले अमरकोष, स्तोत्ररत्नावली र अन्य संस्कृत ग्रन्थहरूका श्लोक पिताको प्रेरणाले घाँटीमै झुन्ड्याइ सक्नुभएको थियो । अङ्ग्रेजी पढेर ट्युसन पढाउने हुटहुटीको भूत चढेकैले महाकवि दरबार हाइस्कुलमा भर्ना हुुन भएको थियो । १५ वर्षको उमेरमा मनदेवी चालिसेसित वैवाहिक बन्धनमा बाँधिनुभएका उहाँ सोह्र वर्षमै म्याट्रिक पास गरी त्रिचन्द्र कलेजमा विज्ञानको छात्र बन्नुभयो । उहाँ बीस वर्षको हुँदा भारतमा गएर कला र कानुन शास्त्रमा स्नातक गर्नुभयो । अङ्गे्रजी साहित्यमा स्नातकोत्तर गर्ने उहाँको धोको विभिन्न व्यावहारिक कारणले पूरा हुन सकेन तर उहाँको स्वाध्यायनको क्षितिज अत्यन्त विस्तृत र गहिरो थियो ।

भनिन्छ पन्ध्रभन्दा बढी भाषा बोल्ने क्षमताका धनी उहाँ नौ भाषामा आँखा चिम्लिएर साहित्यका विविध विधामा कलम चलाउने क्षमता राख्नुहुन्थ्यो । विशेषतः काव्य विधाका मेधावी साधक देवकोटाको कवितायात्रा १९९१ पछि अस्वाभाविक ढङ्गले बग्न थाल्यो । अङ्ग्रेजी, हिन्दी, संस्कृत, मैथिली, नेपालभाषा र बङ्गालीलगायतका भाषासाहित्यका अध्येता उहाँले थुप्रै फुटकर कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास, कथा र गद्य एवं पद्य शैलीका काव्यको सिर्जना गरेर सिर्जना संसारका अनुपम कुवेर नै बन्न पुग्नुभयो । उहाँ साहित्यरूपी उदधिका ठ्याक्कै वरुणदेता नै हुन् भन्ने मान्यता धेरैले राख्छन् । उहाँको आशु कवित्वको चमत्कारले तीन महिनामै शाकुन्तल महाकाव्यको वजनदार ग्रन्थ दिनपुग्यो भने सुलोचना महाकाव्य दस दिनमा । त्यसैगरी प्रकृतिका पूजारी देवकोटाले कुञ्जिनी खण्डकाव्य भने रातको बाह्रै घण्टामा तयार गरिदएर चमत्कारै देखाउनुभयो ।

देवकोटा विश्वभरकै स्रष्टाहरूमा अत्यधिक चर्चित बन्न पुग्नुभयो । परोपकार, मानवता, दुःखी र विपन्नका सेवामा समर्पण हुने उहाँको दिनचर्या साँच्चैको दधीचि आदर्शबाट प्रेरित थियो । यसै सन्दर्भमा उहाँको ‘वन’ शीर्षकको रोचक कविताका केही हरप– जसलाई संस्कृतका प्रखर विद्वान् तथा पौराणिक आख्यानकार पण्डित बदरीनाथ भट्टराईद्वारा सम्पादित पद्यसङ्ग्रहका केही अंश यहाँ उद्धृत छ–
शक्ति प्रियाले आई बोलिन्– दिन्छु म मीठो मेवा ।
मैले बोलेँ– मेरो अमृत मानिसहरूको सेवा ।।
योगी बोले– चढाऊ समाधि खुल्छ तिमीकन स्वर्गद्वार ।
मैले बोलेँ– ‘हेर्नुछ मैले भाइहरूको घरबार ।।
धर्म बोले– कुन मन्दिरमा पूजा गर्छौं आऊ ।
मैले बोलेँ– वीरहरूको बलिदान भएको ठाउँ ।।

लाइब्रेरी काण्डपछि हानिएर बनारस पुग्नुभएका उहाँ राणाशासनविरुद्ध आक्रोशित हुनुहुन्थ्यो । लगत्तै युगवाणी भन्ने पत्रिका प्रकाशन र सम्पादन गरी नेपाली जनतामा क्रान्तिचेतनाको दीप बाल्न थाल्नुभयो । त्यही समयमा उहाँले पहाडी पुकार कविता लेखेर परिवर्तनको पक्षमा यसरी बोल्नुभयो–
ज्यानै पो जाओस्, प्राणै पो जाओस् पर्वाह गर्दैनौँ ।
मानिसलाई चाहिने हक नलिई छोड्दैनौँ ।।

त्रिचन्द्र, पद्मकन्या र कमर्श कलेजहरूमा अङ्गे्रजी र नेपाली भाषाका प्राध्यापक बनेर उहाँले आफ्नो जीवनलाई ‘मस्तिष्कको काम आराम होइन अभ्यास हो’ भन्ने अध्येता संस्कृतिलाई उजागर गर्नुभयो । आधुनिक नेपाली कवितामा स्वच्छन्दतावाद (अतीतप्रतिको मोह, देशप्रेम, प्रकृतिचित्रण, क्रान्तिको चेत, शास्त्रीयताको बन्धनबाट मुक्त, जीवन र जगत्को स्वतन्त्र चिन्तन गर्ने सिद्धान्त) सित हातेमालो गर्दै नेपाली साहित्यमा यसको प्रवेश गराउनुभयो । अठारौँ शताब्दीमा जर्मन दार्शनिक तथा मूर्धन्य समालोचक फ्रेडरिक स्टेगल (१७७२–१८२९)द्वारा प्रतिपादित सिद्धान्त जसले जर्मन, बेलायत र फ्रान्समा व्यापकता पाएको थियो । त्यही दृष्टिकोणलाई केही मौलिकता दिएर उहाँले नेपाली साहित्यमा भिœयाउनुभयो । झ्याउरेमा पनि कविता हुन्छ ? भनी नाक चेप्य्राउनेलाई मुनामदन जस्तो खिरिलो मझौला काव्य दिएर सबलाई चकित बनाइदिनु भयो । यसैले त देवकोटा कालजयी महापुरुष, बहुआयामिक, बहुभाषिक ज्ञाता र महाकवि तथा महानिबन्धकार बन्न पुग्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्