झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

बनियानी । झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो ।

चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिनुभयो । जिल्लामा चालु आवको पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए । उक्त सङ्ख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आवमा ६५७ सवारी साधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या अत्यधिक रहेको चापागाईँ बताउनुहुन्छ । “जिल्लामा बर्सेनी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “मोटरसाइकल दुर्घटना बढी छ ।” सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उहाँको भनाइ छ । जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईँ बताउनुहुन्छ ।

ट्राफिक कार्यालयले चालु आवको ६ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २३ हजार २०० सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

कारबाहीवापत उनीहरुबाट रु.एक करोड ५६ लाख २२ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्