कृष्ण अधिकारी

कृष्ण अधिकारी

२०११ श्रावण १६ गते जन्मनु भएका कृष्ण अधिकारी परिचित पत्रकार तथा लेखक हुनुहुन्छ । लामाे समय पत्रकारीताकाे अनुभव संगाल्नु भएकाे अधिकारीकाे जर्मनी यात्रा स्मृति २०५६ मा र कथासङ्ग्रह ‘कान्छो सार्की’ २०६८ प्रकाशित छन् । समसामायिक विषयमा लेखिएका उहाँका लेखहरु राष्ट्रिय पत्रपत्रिकामा नियमितरुपमा प्रकाशित हुँदै आएका छन् ।
कृष्ण अधिकारी

उन्मुक्त कलम–७
न्यालमको नेपाली पहिचान “कुती” हो भन्ने कुरा त मैले पहिले नै लेखिसकेको छु । इतिहासको कालखण्डमा भोट जाने नेपालीहरूका लागि एउटा आधारभूमि रहेछ कुती । अरू ठाउँमा दुर्लङघ्य हिमाल भएको हुँदा यो भोटेकोशीले बनाइदिएको बाटोबाट नेपाल भोट आवतजावत हुने रहेछ । भोट भनेको तिब्बत हो चीन हैन, राजधानी ल्हासा ।
हाम्रो सप्तकोशी नदीका सात नदी मध्येको एक सुनकोशी हो । नेपाल र भोट (आज चीन) को साँधमा बनेको “मितेरी” पूल त्यही सुनकोशी माथि बनेको हो । त्यो सुनकोशी नदी नै हो भोटेकोशी भनेको पनि । तिब्बतीहरू भोटमा यसलाई अर्कै नामले जान्दछन् होला तर भोटबाट आएको हुँदा भोटेकोशी, यो नेपालले नै राखेको नाम हो । तल बग्दै आएपछि सुनकोशी । जम्मा तीन नदी छन् नेपालमा हिमाल पारीबाट आएको त्यो मध्येको यो एउटा नदी हो सुनकोशी ।
हाम्रो यात्रा यही नेलममा आएर अडिएको छ दुई रातका लागि । ६९ सालको जेष्ठ १८ गते बेलुका त्यहाँ पुगेका हौँ हामी । राती त सुतेर बित्ला, दिनभरी के गर्ने भन्ने चिन्ता थियो । यसैकारण म न्यालमका वारेमा खोज्न थाले । खोज्दा के भेटियो भने यसको उत्तरको पहाडलाई “कार्लिङ” भनिँदो रहेछ, दक्षिणमा “कि” पहाड । पूर्वमा “फुक्तो” पहाड र पश्चिममा “लातो” पहाड । वजारको पुछारमा चाङवो नदी रहेछ । मलाई लागेको छ चाङवो भोटेकोशीको एक अंश हो वा भोटेकोशी नै हो, तर पुष्टी गरिदिने मान्छे भेटिएन ।
नेपाल र चीनको समयमा २ घण्टा ५० मिनेटको फरक रहेछ । खासमा यो समय भनेको काठमाण्डौं र वेइजिङको आधारमा पर्ने फरक हो । काठमाण्डौंबाट १५० किलोमिटर पूर्वोत्तर अथवा मितेरी पूलबाट ४० किलोमिटर उत्तर जाने बित्तिकै समयको फरक पर्ने त हैन नै । अझ भनौँ भने मितेरी पूलको वारि तातोपानी बजारमा १७० मिटर ढिलो र पारी खासा बजारमा १७० मिनेट छिटो समय पुग्ने त कुरै आउँदैन ।

फुर्सदको समयमा, मेरो मस्तिष्क भरी हिजो मात्र घुमिरह्यो । काठमाण्डौंबाट ११० किलोमिटर कोदारी राजमार्ग हिँडेर मितेरी पूलसम्म आउँदा बाटोको आसपासमा देखेका दृश्यहरू पर्याप्त गरिवी झल्काउने भिरपाखाका झुप्रा घरहरू इन्द्रावतीमा मेलम्ची मिसिएर आएको छ रे । इन्द्रावती तरेपछि काभ्रे तुरियो, सिन्धुपाल्चोक लागियो रे । सुकुटे, वलेफी बजार, खाडी चौर, अँँधेरी, सुनकोशी जलविद्युत, लामो साँघू हुँदै हाम्रो बस हिडिरह्यो । सशस्त्रको चेक कति हो कति, त्यस्तो सुरक्षा जाँच त द्वन्दकालीन आपतकालमा मात्र थाहा पाएको थिएँ मैले त । यहाँ त सधैं पो द्वन्दकाल जस्तो । झोला खोतल्ने, गाडी चेक गर्ने । म गन्दै गएँ एक, दुई, तीन, अँधेरीसम्ममा पाँचौँ चेक, लामोसाँघु सम्म छैटौं चेक । तातोपानी पुग्दा आठौं चेक पार गरेका थियौं हामीले । लाामोसाँघुमा त फूलडाला खाली ट्रक फित्ताले नापेर चेक गरेको पनि देखियो । नेपालको आवश्यकता हैन यो सुरक्षा जाँच, चीन सरकारका लागि हो भन्ने अड्कल काटँे मैले । १०२ मेघावाटको भोटेकोशी जलविद्युत आयोजा पनि झल्याक झुलुक देख्न सकियो । हामी चढेको बस भोटेकोशीलाई कहिले दायाँ पाथ्र्यो र कहिले बायाँ पारेर हिँड्थ्यो ।
मितेरी पूलमा लाइन लागेपछि शेर्पा भाइहरूले आफ्नो गलामा लगाएका र हातको नाडीमा चूरा बनाएर लगाएका बुधिची माला झिकेर लुगाको भित्री भागमा लुकाए । कसैले झोलाको भित्र पट्टी कोचे । यो बुधिचीको पनि अनौठो कथा छ । बुधिची उत्पादन हुने काभ्रे जिल्लाको “तिमा” भन्ने ठाउँ मात्रै हो । किंवदन्ती अनुसार एक समय तिमाका मान्छे सारै गरिब भएछन् । उनीहरूको गरिबी दीनहिन अवस्था देखेर एकदिन भगवान प्रकट हुनु भएछ र बुधिचीको सृष्टि गर्नु भएछ अनि मान्छेहरूलाई दिएर भन्नुभएछ । “लौ तिमीहरूले यही उत्पादन गरेर बेच अनि जिविका चलाऊ ।” त्यसपछि तिमाका मान्छेहरू गरिवी र अनिकालबाट मुक्त भएका थिए रे । बुधिची विश्व भरिमा केवल यही तिमामा मात्र पाइन्छ भनिन्थ्यो पहिले, अहिले त सबैतिर उत्पादन र व्यापार थालिएको छ रुद्राक्षकै शैलीमा । रुद्राक्ष ठूलो दानाको महत्व छ भने बुधिची सानो दानाको महत्व बढी छ । विश्वभरका बौधमार्गीहरूले जप्ने माला हो बुधिची । त्यसैले यसको अत्यन्तै ठूलो माग, महत्व र मूल्य छ । १०८ दानाको माला मुठीमा अट्ने होस् भन्नका खातिर सानो दानाको महत्व बढी भएको हो ।
किन माला लुकायौ भाइ ! भनेर सोधेथें मैले शेर्पा नाइकेलाई । उसले दायाँबायाँ हेर्दै भन्यो, यो माला लगाएर म गएँ भने मलाई प्रवेश नदिन सक्छ । उसको के जान्छ र जे बोल्यो त्यही कानुन जस्तो हुन्छ । सन्की चढेर जान पाउदैनस् भन्यो भने सक्किगयो । दलाई लामाको लकेट र फोटा त वर्जित नै छ, न लगाउन पाइन्छ न बोक्न पाइन्छ । भन्यो शेर्पा भाइले । तिब्बतमा दलाई लामा र बुद्धधर्मलाई अलग गर्नै नसकिने सम्बन्ध छ । बुद्धधर्ममा दलाई लामा छ र दलाई लामामा बुद्ध धर्म छ । त्यसैले चिनियाँ सरकार बुद्धिष्टहरूले जप्ने बुधिचीको मालासँग डराउँछ । दलाई लामाको फोटो र लकेटसँग डराउँछ । कसैको गोजीबाट, कसैको झोलाबाट दलाई लामाको हंस चीन भित्रिन्छ कि भन्ने कुरामा चीन अत्यन्तै सजग देखिन्छ । कोदारी राजमार्गमा हाम्रा बसहरूमा आठ आठ पल्ट भएको जाँच पनि हाम्रा लागि हैन चीनकै लागि हो भन्ने निश्कर्ष निकालेँ मैले र अत्यन्तै कम अक्सिजन भएको न्यालय बजारमा छोटो छोटो पाइला सार्दै दिनभरी घुमिरहेँ ।


प्रतिक्रिया लेख्नुहोस