देश, प्रदेश र मधेश – कृष्ण अधिकारी

देश, प्रदेश र मधेश – कृष्ण अधिकारी

उन्मुक्त कलम–४
समयले पात्रो फेर्यो । बितेको पात्रोले के गर्यो र के गरेन भनेर मूल्याङ्कन गर्ने दिन थियो तर फुर्सद कसैलाई छैन । मुलुकमा चुनाव लागेको छ अनि फुर्सद छैन, मधेशमा आन्दोलन जागेको छ अनि फुर्सद छैन ।

आगामी पात्रोले के गर्नु पर्छ ? र के गर्नु हुँदैन ? त्यसको कार्यक्रम बनाउनु पनि कसैलाई खाँचो छैन । कसैलाई चुनाव चाहिएको छ । कसैलाई आन्दोलन चाहिएको छ । दुई दशकसम्म खाली रहेका स्थानीय तहका कुर्सी ताकेर अर्कालाई छोट्याएवापत आफू लामो हुने खेल सुरु भएको छ । त्यसैले कसैलाई फुर्सद छैन ।
चुनाव भएन भने गणतान्त्रिक संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्वयन भएन भने के हुन्छ ? यो संविधान असफल भयो भने कुन संविधान सफल हुन्छ ? विचार गर्ने पनि कसैलाई फुर्सद छैन । नेकपा एमाले सबै कुरा छोडेर चुनाव गराऊ भन्छ, किन ? मधेशी मोर्चा सबै कुरा छोडेर हामीलाई अधिकार देऊ भन्छ, किन ? सत्ताधारीहरू चुनाव र मधेशीको आन्दोलन बीच च्यापिएको देखिन्छ । त्यो च्यापमा पनि देश र जनता पर्दैनन्, पर्छ भने सत्ता पर्छ, झण्डा, डण्डा र द्रव्य पर्छ ।

[perfectpullquote align="right" cite="" link="" color="" class="" size=""]चुनाव भएन भने गणतान्त्रिक संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्वयन भएन भने के हुन्छ ? यो संविधान असफल भयो भने कुन संविधान सफल हुन्छ ? विचार गर्ने पनि कसैलाई फुर्सद छैन ।[/perfectpullquote]

एमालेको मुद्दामा देश छ, प्रदेश छ तर मधेश देखिँदैन । मधेशीहरूको मुद्दामा देश छैन, प्रदेश पनि छैन र मधेश मात्र छ । त्यसमाथि पनि प्रायोजित मुद्दाको बाहुल्यता छ । नेपाली काँग्रेसले आन्तरिक बाटो भुलेको धेरै भैसक्यो । काँग्रेसले सही बाटो नहिँडुन्जेल राष्ट्रले पनि बक्रमार्ग हिँडिरहनु पर्छ भन्ने कुरा जनताले बुझेका छन् तर काँग्रेसका नेताले बुझेको देखिँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको जाल फ्याँक्नुमा उपलब्धी देखेन क्यारे जाल थन्क्यायो । गाई र हिन्दू धर्मको अस्त्र पनि बिसाएर हिँड्ने छाँट देखिँदैछ । यी सबै घटना श्रृङ्खलाले मुद्दा सत्ता र सुविधाको मात्रै हो भनेर बुझे फरक नपर्ला ।
चित्रबहादुर के.सी., नारायणमान बिजुक्छे, वैद्य र विप्लवहरूले लहड बोले राष्ट्रभक्ति पूरा हुन्छ । खासमा सकारात्मक योेगदान दिन नसक्ने र गर्न नजान्नेहरूका लागि सुगम मार्ग हो असन्तुष्टि र विद्रोह । असन्तुष्टि पोख, नकारात्मक कुरा गर, कर्तव्य पूरा भयो । सायद कम्युनिष्ट चरित्रको एउटा आयाम होला यो पनि । बाबुराम भट्टराई र हिसिलाहरूले आफ्नो राष्ट्रवाद, निष्ठा र बौद्धिकता कतै धरौटी राखेका छन्, यो जुनीमा उनीहरूले त्यो उकासेर ल्याउलान् भन्ने आशा मरिसक्यो । मान्छे अन्तर्राष्ट्रिय जाति हो भन्ने दीक्षाबाट दीक्षित बाबुराम नेपालको सिमा मेट्न लागेका छन् भन्ने आरोप समेत लाग्न थाल्यो । उनीमाथि लागेको यो आरोप गलत सावित होस् भन्ने कामना गर्न सकिन्छ तर बाबुराम भट्टराई नेपाली माटोको योग्य छोरो बन्न सकेनन् भन्ने कुरा पनि ठोकुवा गर्न सकिन्छ ।
नेता पार्टी र छिमेकीको नानाभातीका खेलको कारण राष्ट्र धरापमा परेको छ । गणतन्त्र मेरो एजेण्डा हो भनेर जस लिन खोज्ने प्रचण्डसँग गणतन्त्रलाई संस्थागत गर्ने योग्यता भने रहेनछ । त्यसैले आज मुलुक देश, प्रदेश र मधेशको मुद्दामा समय नष्ट गरिरहेको छ । राजसंस्था फ्याँक्नु भन्दा धेरै कठिन काम रहेछ गणतन्त्रलाई संस्थागत गर्नु भन्ने कुरा अब चाहिँ गणतन्त्रवादीहरूले पनि बुझेको हुनुपर्छ ।
मधेशको असन्तुष्टि अहिलेको मूल समस्या देखिएको छ । यसको दोष गणतन्त्र र धर्म निरपेक्षतालाई पनि दिइँदैछ । युरोपेली युनियनको क्रिश्चियनवादी चङ्गुलमा फसेर बनाइएको धर्म निरपेक्षता असी प्रतिशत नेपालीलाई मन परेको छैन तर राजनीति र धर्मलाई अलग–अलग राख्नु सान्दर्भिक होला भनेर मात्र स्वीकार गरिएको मुद्दा हो यो । अमेरिका र बेलायतमा वाइवलमा हात राखेर सपथ खानु पर्ने, यहाँ गीतामा हात राख्न किन नहुने भन्ने तर्क छ । यसलाई सम्बोधन गर्ने हो भने नेपालमा धर्म निरपेक्षता टिक्न सक्ने छैन । मधेशको असन्तुष्टि आज मात्र उठेको समस्या हैन । इतिहासको कालखण्डमा जतिबेला यहाँको राजनीति तरल हुन्छ, त्यतिबेला मधेशमा समस्या खडा गर्ने गरिएकै छ । खासमा यो समस्या मधेशको मौलिक समस्या हैन, भारतीय प्रायोजन हो ।
भारत किन मधेशमा समस्या प्रायोजन गरिरहन्छ ? यो पाटोलाई बुझ्नु जरुरी छ । नेपाल भारत परिवेष्ठित छ । हिमालय रेञ्ज पार गरेर चीनसँग कारोबार गर्न सम्भव छैन । नेपालसँग अपार जलसम्पदा छ, जो भारतलाई चाहिएको छ । यहाँ जडिबुटी र भर्जिन खानीहरू छन् जसमा भारतका आँखा लागेका छन् । नेपालमा राजनैतिक स्थिरता र शान्ति सुव्यवस्था भयो भने नेपाल आफैँले उत्खनन् गर्छ यी सम्पदा । त्यसलाई रोकेर आफ्नो हातमा पार्न नेपालमा सधैँ अस्थिरता फैलाउनु र जनतालाई कङ्गाल बनाउँदै जानु उसको रणनीति देखिन्छ । हात पारेका आयोजना पनि रोकेर राख्ने अर्को खतरनाक प्रवृत्ती देखिएको छ उसको । अरूण तेस्रो उसले होल्ड गरेर राखेको छ, फास्ट ट्रयाक पनि त्यसै गर्छ उसले हात पार्यो भने । यही उद्देश्यका लागि भारतले मधशी नेताहरूलाई प्रयोग गर्ने गरेको छ तर अर्को कटुसत्य के छ भने मधेशका ७० प्रतिशत मधेशी जनता भारतको यो दुष्ट्याइँप्रति आक्रोशित रहेका छन् । मधेशी जनताको यो भावनाको कदर गर्ने हो भने मधेशी नेताले भत्ता पचाउन कसैको कठपुतली हुन छोड्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्