कृष्ण अधिकारी

कृष्ण अधिकारी

२०११ श्रावण १६ गते जन्मनु भएका कृष्ण अधिकारी परिचित पत्रकार तथा लेखक हुनुहुन्छ । लामाे समय पत्रकारीताकाे अनुभव संगाल्नु भएकाे अधिकारीकाे जर्मनी यात्रा स्मृति २०५६ मा र कथासङ्ग्रह ‘कान्छो सार्की’ २०६८ प्रकाशित छन् । समसामायिक विषयमा लेखिएका उहाँका लेखहरु राष्ट्रिय पत्रपत्रिकामा नियमितरुपमा प्रकाशित हुँदै आएका छन् ।
कृष्ण अधिकारी

उन्मुक्त कलम–८
न्यालममा दुई रात बस्नुको अर्थ बसिरहने वाा सुतिरहने हैन रहेछ । त्यहाँको हावा पानी र कमजोर अक्सिजनसँग अभ्यस्त हुनु रहेछ । त्यसैले हामी बजारभन्दा माथिको एउटा डाँडामा गयौँ । गयौँ कसरी भन्नुहुन्छ भने पञ्चमीका पाइला गनेजस्तो अथवा भनौँ नानीले ताते गरेजस्तो बिस्तारै र छोटाछोटा पाइला सार्दै धेरैबेर लगाएर गयौँ । उकालो बाटो त्यसैपनि सजिलो थिएन । झार जङ्गल बुटाबुटी केही नभएको हुँदा कुनै कुरालाई समातेर सुरक्षित बन्ने अवस्था थिएन । माथि डाँडामा पुग्दा तेज हावा चलिरहेको थियो । हावाले बौद्धमार्गीहरूका ध्वजापताकाहरू जोडजोडसँग हल्लाइरहेको थियो । हिउँले छपक्क ढाकेका हिमालहरू नजिकै देखिन्थे ।
यात्राको क्रममा पुष्पचन वंशाली राजस्थान, निर्मलप्रसाद र मञ्जुदेवीप्रसाद कोलकताहरूसँग घनिष्टता बढिसकेको थियो । एकजना पुरी थरका मान्छे पनि हाम्रो निकट थिए । ती पनि कोलकाताकै थिए । हामी चार जनाको अलग्गै समूह बनिसकेको थियो । खाने, सुत्ने र कुराकानी गर्ने कुरामा मन मिलेको थियो हाम्रो । प्रसङ्गवस निर्मलकुमारले ती पुरीलाई देखाउँदै भने “ए तो इङ्लाजी है ।” मैले सोधे के हो इङ्लाजी भनेको ? अनि उनले विस्तारपूर्वक बताए । पाकिस्तानमा एउटा हिन्दू भवगतीको प्रशिद्ध मन्दिर छ । त्यो सतीदेवीको मस्तिष्क पतन भएको शक्तिपीठ हो । त्यसलाई इङ्लाज शक्तिपीठ भनिन्छ । यी पुरीजी त्यहाँ पुगेर आएका मान्छे हुन् । जसरी मुस्लिमहरू ‘हज’ गरेर आएपछि हाजी हुन्छन् त्यसैगरी इङ्लाज तीर्थ गरेर फिरेपछि इङ्लाजी भन्ने चलन छ, उनले जानकारी गराए । त्यस्तो शक्तिपीठमा धेरै हिन्दू जान्छन् होला हैन भारतबाट ? मैले सोधेथेँ । जान त धेरै जाने थिए तर पाकिस्तान सरकारले भिषा नै दिँदैन, उनले जवाफ दिए ।
हामीले नेलममा दुई रात बिताइसकेका थियौँ । बिहान चाँडो उठेर तयार पर्नु र गाडीमा बस्नु हाम्रो काम थियो । नुहाउने कुरा त कल्पना गर्दा पनि जाडो हुन्थ्यो । शेर्पा सहयोगीहरूले हाम्रा सामानहरू ट्रकमा लोड गरे । खाना कहाँ खान दिने हुन् थाहा छैन । ब्रेकफास्ट र सुप दिए त्यो बिहान । हाइअल्टिच्युटका कारण केही मीठो लाग्दैन । तातो सुप अलिक मीठो लाग्ने । त्यही सुप अलिक मजाले दिउन् शेर्पा भाइहरूले भनेर बेलुका २÷४ बोतल वियर किनेर दिएको थिएँ मैले पनि । नभन्दै उनीहरूले पनि गुन तिर्न थालेका थिए सुप थपिदिएर ।
बाक्ला मोजा, ताता जुत्ता, ताता लुगामाथि डाउन ज्याकेट टोपी, मखलर, दुवै कानमा रुवा, मुखमा चुइगम र हातमा एक बोतल पानी थिए सबैसँग । अत्यन्तै चिसो हुरी चल्ने हुनाले रुवाले कान थुन्नुपर्ने रहेछ । लेक लाग्ने सम्भावनालाई कम गर्न मुखमा केही चपाइरहनु पर्ने, त्यसैकारण मुखमा चुइगम हुन्थ्यो सबैको । बोतलको पानी एकएक छिनमा मुखमा टाँसेर घुट्की लगाइरहनु पर्ने, जसले गर्दा लेक लाग्नबाट सुरक्षित हुन सकिने । यतिले पनि भएन भने ‘डाइमोक्स’ नामको औषधि थियो गोजीमा तर सामान्य समस्यामा ‘डाइमोक्स’ नलिनु भन्ने जानकारी गराइएको थियो । अलिक बढी नै समस्या भए खानापछि आधा डाइमोक्स लिनु, त्यो भन्दा पनि बढी भए डिनरपछि एक चक्की लिनु भनिएको थियो र डाइमोक्सले एलर्जी हुन सक्ने चेतावनी पनि दिइएको थियो । यस बाहेक पनि, सन्चो र अरू केही औषधि थियो मसँग ।
म बोर्डरबाट नेलमसम्म जापानीज जीप गाडीमा चढेको थिएँ तर नेलमबाट बसमा चढेँ । सानो गाडीमा भन्दा ठूलो गाडीमा सहज लाग्यो यात्रा । जीप गाडीका ड्राइभरले ड्राइभिङ सिटमै बसेर बुङबुङ सिगरेट उडाउँदै गाडी हाँकेको देखेर अस्ति अनौठो लागेको थियो । आज बसको ड्राइभरले पनि एकएकछिनमा सिगरेट सल्काउँदै गाडी कुदाइरह्यो । जीप ड्राइभरलाई पनि मैले सूर्य चुरोटको १० खिल्लीवाला बट्टा उपहार दिएको थिएँ । बसको ड्राइभरलाई पनि एक डिब्बा दिएँ, “लेऊ नेपाली सिगरेट चाख” भन्दै । उसले पनि केही भन्यो सिगरेट हातम लिएपछि, मैले बुझिन । मैले भनेको पनि उसले बुझ्ने कुरै थिएन । अलिक घनिष्टता बढोस् भनेर मैले सिगरेटको बट्टा दिएको थिएँ तर घनिष्टता बढाउने तत्व त भाषा रहेछ, त्यसैले यात्राभरि त्यो ड्राइभर र म बीच घनिष्टता हुन सकेन ।
हाम्रा गाडीहरू उत्तरतिर लागे । झन् माथि गयो झन् जाडो थियो, झन्–झन् अक्सिजनको कमी थियो । म झन् सारोसारो चुइगम चपाइरहेको हुन्थेँ । झार जङ्गलको नामोनिसान थिएन । न्यालममा त यदाकदा बुटा देखिन्थे बजारको तल्लो भागतिर । माथि त लाग्थ्यो, यो मृत भूमि हो, यहाँ मृत्यु मात्र छ जीवन छैन । हामी हिँडिरहेको बाटोभन्दा तलतल बाक्लै हिउँ देखिन्थ्यो तर माथि बालुवा थियो, बालुवाका थुप्रा थिए र तेज चलिरहेको हावाले बालुवा उडाएर अर्को ठाउँमा थुप्रो लगाइरहेको छ जस्तो लाग्थ्यो । हिउँ थिएन त्यहाँ मैले ठानेँ यहाँ त हिउँको पनि मृत्यु भएको रहेछ ।
आँखालाई छल्ने केही थिएन । टाढा–टाढासम्म देख्न सकिन्थ्यो । सम्म परेका नागी र फाँट जस्ता देखिन्थे, हजारौँ विगाहा जमीनमा पाकेको गहुँ खेती जस्तो देखिने, तर कुनै अनाज थिएनन्, कुनै प्राण थिएनन् । मरुभूमि थियो, बालुवा र ढुङ्गाको मनोरम दृश्य थियो । हाम्रा गाडीहरू रोकिए । मान्छेहरू लघुशङ्काका लागि ओर्लिए गाडीबाट । महिलाहरू छन्, पुरुषहरू छन्, युवती र तन्नेरीहरू छन् । आँखाले ठम्याउन सक्नेसम्म हेर्न सकिन्छ । आँखालाई छेक्ने केही छैन । त्यसमाथि हाम्रो गाइड आएर भन्छ “तपाईंहरू पेसाब फेर्न टाढा नजानु, यहीँ छेउछाउमा बस्नु ।” किन ? भनेर सोधेँ मैले र उसले भन्यो “टाढा जानुभयो भने फिरेर आउन कठिन हुन्छ र समय पनि लाग्छ । छिटो हिँड्नु भो भने तपाईंको सास फुलेर समस्या आउन सक्छ किन भने यहाँ अत्यन्तै न्यून छ अक्सिजन ।” सबै महिला पुरुषले गाइडको कुरा माने र त्यहीँ नजिकै टक््रयाकटुक्रुक बसे लाजलाई डाउन ज्याकेटले छोपेर ।


प्रतिक्रिया लेख्नुहोस