देशको आर्थिक अवस्था : चैतमा सार्वजनिक ऋण घट्यो, सावा फिर्ताको दायित्व बढ्दै

<span class='c1'>देशको आर्थिक अवस्था : चैतमा सार्वजनिक</span> <span class='c2'>ऋण घट्यो, सावा फिर्ताको दायित्व बढ्दै</span>

सरकारलाई आन्तरिक तथा बाह्य ऋणको सावा फिर्ताको दायित्व बढ्दै गएको छ। दायित्व अनुसार ऋण फिर्ता बढ्दै गएपछि सार्वजनिक ऋण चैत महिनामा भने घटेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चैत महिनामा २६ अर्ब ४६ करोड रूपैयाँको सावा भुक्तानी भएको छ। तर, यो महिना १७ अर्ब ३४ करोडको ऋण प्राप्ति भएको छ।

चैत महिनामा प्राप्ति गर्ने ऋणको तुलनामा भुक्तानी गर्ने ऋण नौ अर्ब ११ करोड रूपैयाँले बढी छ। यो महिना ठूलो मात्रामा सरकारले आन्तरिक ऋणको सावा भुक्तानी गरेको छ। कार्यालयका अनुसार चैतमा १२ अर्ब ६९ करोड आन्तरिक ऋण प्राप्ति गरेको छ। तर यो समयमा २२ अर्ब ६५ करोड रूपैयाँ सावा भुक्तानी गरेको छ।

त्यस्तै, बाह्य ऋण भने तीन अर्ब ८० करोडको भुक्तानी गरेको छ भने चार अर्ब ६५ करोड प्राप्ति गरेको छ।

चैत महिनामा प्राप्ति गरेको ऋणको तुलनामा नौ अर्ब बढी सावा फिर्ता गरेपनि समग्रमा भने दुई अर्ब ४७ करोड ऋण घटेको छ। फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको थियो। तर, चैत महिनामा आइपुग्दा २३ खर्ब ८५ अर्ब ७९ करोड कायम भएको छ।

सामान्यतया ऋण लिइएको मुद्रा तिर्नुपर्ने समयमा बलियो भयो भने नेपालले बढी रकम तिर्नुपर्ने हुन्छ। त्यस्तै कमजोर भयो भने तिर्नुपर्ने दायित्व घट्छ। त्यस्तो ऋणको मुद्रा बलियो भएको कारण चैत महिनामा नौ अर्बको ऋण कम भए पनि समग्रमा भने दुई अर्ब ४७ करोड मात्रै घटेको हो।

कार्यालयका प्रमुख दीर्घराज मैनालीले भूकम्पकालीन समयमा लिइएको ऋणको सावा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको कारण पनि भुक्तानी दायित्व बढ्दै गएको बताए।

चालु वर्षको नौ महिनामा (२०८० को साउनदेखि चैतसम्म) सरकारले दुई खर्ब ३८ अर्ब ऋण उठाएको छ।

तर, यो अवधिमा एक खर्ब ५२ अर्ब रूपैयाँ सावा मात्रै फिर्ता गरेको छ। सरकारले आन्तरिक ऋणको एक खर्ब २६ अर्ब रूपैयाँ र वैदेशिक ऋणको २५ अर्ब रूपैयाँ सावा भुक्तानी गरेको हो।

त्यस्तै, ५६ अर्ब ६५ करोड ७२ लाख रूपैयाँको ब्याज भुक्तानी भएको छ। समग्र चालु वर्षमा उठाइएको ऋण मध्ये २९ अर्ब ७८ करोड रूपैयाँ बराबरको स्रोत मात्रै वित्त व्यवस्थापन बाहेकको काममा उपयोग गर्न पाएको छ।

आन्तरिक ऋणको सावा फिर्ता बढेपछि ऋणको अनुपात समेत फेरिएको छ। कार्यालयका अनुसार चैतसम्ममा समग्र ऋणमा बाह्य ऋणको अनुपात ५०.५६ प्रतिशत अर्थात १२ खर्ब ६ अर्ब पुगेको छ। त्यस्तै आन्तरिक ऋणको अनुपात ४९.४४ प्रतिशत अर्थात ११ खर्ब ७९ अर्ब रूपैयाँ पुगेको छ।

सरकारले चालु वर्षमा दुई खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकाे थियाे। जसमा चैतसम्म एक खर्ब ७६ अर्ब रूपैयाँ उठाएकाे छ। त्यस्तै दुई खर्ब १२ अर्ब ७५ कराेड बाह्य ऋण उठाउने लक्ष्य राखेकाे थियाे। चैतसम्म जम्मा ६२ अर्ब ९४ कराेड प्राप्ति गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्