डा. प्रकाश बुढाथोकी

जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दशैँको वातावरण एक हप्ता पहिले देखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालो बजारी हो तर प्रायः वस्तुमा शत प्रतिशत बढीसम्म नाफा लिनु र त्यसमा पनि गुणस्तर नहुनु नेपाली बजारको आम चरित्र जस्तै बनेको छ । सिङमा रातो लगाइएको चौपाया अस्वस्थकर र हरियो रंग लगाइएका चौपाया स्वस्थकर भएकाले रातो खसी अस्वथकर भएका तथ्य सार्वजनिक भैसकेको अवस्थामा यसतर्फ अब उपभोक्ता आफैले सचेत हुनुपर्ने अवस्था छ ।
शरीरको बनोट र कामको प्रकृतिअनुसार दैनिक ३० देखि ५० ग्राम मासु खानाले आवश्यक खनिजपदार्थको मात्रा पुग्छ किनभने एक सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन, चारदेखि पाँच ग्राम चिल्लोपदार्थ, एक देखि १.५ ग्राम खनिजपदार्थ, ६० ग्राम पानी तथा भिटामिन ए बी सी पाइन्छ । स्वस्थ धेरै मोटो र बोसो तथा रोग नभएको खसीको मासु बधस्थलमा काटेर उपयुक्त पकाउने विधि त्यस्तै छाला नखाने र सफा पानीले मासुलाई सरसफाइ गर्नुपर्छ । मासुमा एउटा ब्याक्टेरिया भए सात घण्टामा २० लाखभन्दा बढी पुग्छ तथा तीन घण्टामै दुर्गन्धित हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार खाना ५ डिग्री भन्दा माथि र ६० डिग्री सेल्सियसभन्दा तल राख्नुहँुदैन, ७० डिग्री भन्दा बढी तापक्रममा पकाएर वा तताएर ६० डिग्री तापक्रमको खाना खानुपर्छ ।
अझ विशेष गरी दशैँमा मासु र मद्यपान एकअर्काका पूरक भएको सन्दर्भमा समस्या थप जटिलता बन्छ । चाडबाडमा होलिडे हार्ट सिन्ड्रोम अर्थात् मुटुको धडकन बेताल हुने, छिटोछिटो चल्ने र हृदयघात भई अस्पताल पुग्ने अत्यधिक हुन्छन् । ३० ग्राम इथानोल वा सात सय मिलिलिटर बियर वा तीन सय मिलिलिटर वाइन वा ६० मिलिलिटर ह्विस्कीले पुरुषले तथा यस परिमाणको आधा मात्राले महिलाको मुटुमा असर नगरे पनि पेटमा खराबी, दिमागमा असर, ग्रन्थीमा असर, रोग विरुद्ध लड्ने क्षमतामा कमी ल्याउँछ । अझै मसलेदार, चिल्लो, पीरो मासुका साथ रक्सी सेवनले पेट, कलेजोमा असर, पेटको अल्सर र क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्यान्क्रियाज ग्रन्थीमा नकारात्मक असर पर्दछ । तसर्थ मासुका साथ दोब्बर मात्रामा सलाद हरियो सलाद, फलफूल र रेसादार खाना सेवनले फाइदा पुग्दछ ।
त्यसो त स्वस्थ र फूर्तिलो रहन मासु नै चाहिन्छ भन्ने छैन किनभने मासुबाट प्राप्त हुने प्रोटिन अन्य पौष्टिक पदार्थ दूध, घ्यू तथा फलफूलबाट पनि प्राप्त गर्न सकिन्छ । स्वादकै कारणले वा चाडबाड मनाउनकै लागि पनि मानिसले मासुको लतबाट छुट्कारा पाउन सकेका छैनन् । उपभोग गर्ने मासु अस्वस्थ भइदिनाले १६० प्रकारका रोगहरूले आक्रमण गर्न सक्छन् । एकातिर प्रोटिनको मात्रा ज्यादै कम भएको र संक्रमित बुढा, थारा, रोगी चौपायाको मासु बनाइन्छ भने अर्कोतिर रोग नलागेका र मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा बध गर्ने, सडक– पेटी, नालीमा मासु खुल्ला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । त्यसैमा झन् मासु बिक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले र खुला रूपमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनाले झन् संक्रमित हुने गरेको देखिन्छ । पश्चिमा शैलीमा जस्तै सडक किनारमा परिकार खाने तथा तयारी र डब्बाबन्ध खाना स्वास्थ्यका लागि बेफाइदाजनक छन् । कचिला जस्तो काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ । कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ, कार्बन बन्दछन् र पचाउन गाह्रो, विभिन्न रोगहरू तथा क्यान्सर समेत हुन्छ ।
सबैभन्दा बढी संक्रामक, किटाणुहरूको बस्ती भएको तथा स–साना रौँ रहने भएकोले छाला फ्याकेर खाँदा राम्रो हुन्छ । रौँ एसिडमा पनि गल्दैन, शरिरले पचाउन पनि सक्दैन, रक्तनलीहरूमा जम्मा भई अवरोध गर्दछ । राँगा, खसी, बङ्गुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किनभने कोलेस्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ ।
प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धुम्रपानको फूर्तीफार्ती र बासीतासी अचार नभए तथा जुवातास नखेले चाड माने जस्तो नहुने सोचाइ पनि धेरैमा पाइन्छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिँगटा लाग्ने, आ“खा पोल्ने बिझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मृगौला सम्बन्धी, कलेजो सम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ ।
अन्तमा, आयो दशैँ ढोल बजाई, गयो दशै ऋण बोकाई भने झँै चाडपर्व मनाउनै ऋण काड्नपर्ने, तिर्न भएका सम्पति बेची सुकुम्बासी बन्नुपर्ने वा तिर्नकै लागि विदेशिनु पर्ने र दशा साबित बन्दै गएको छ । तसर्थ चाडबाड मनाउँदा आफ्नो घाँटी तथा स्वास्थ्य हेरेर मनाउने बानी बसाल्न जरुरी छ ।


प्रतिक्रिया लेख्नुहोस