रोनाल्डो बने फिफा वर्ष खेलाडी

रोनाल्डो बने फिफा वर्ष खेलाडी

रियल मड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यो वर्षको फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सोमबार राति सार्वजनिक गरेको अवार्डमा रोनाल्डो उत्कृष्ट चुनिँदै वर्ष खेलाडीको उपाधि जितेका हुन् ।

रोनाल्डोले यो उपाधि जित्ने क्रममा  बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पेरीस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारलाई पछि पारेका थिए । पुरुष तर्फको वर्ष खेलाडीको उपाधि जित्ने क्रममा रोनाल्डोले ४३.१६ प्रतिशत मत पाएका थिए । दोस्रो स्थानका मेस्सीले १९.२५ प्रतिशत र नेयमारले ६.९७ प्रतिशत मत पाएका थिए ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘दि बेस्ट’ नामक यो अवार्ड रोनाल्डोले लगातार दोस्रो पटक प्राप्त गरेका हुन् ।
फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बेलुन डी ओर अवार्डबाट छुट्टिएर गत वर्षबाट अलग्गै ‘दि बेस्ट’ नामक यो अवार्ड प्रदान गर्दै आएको छ ।
रोनाल्डोले समग्रमा यो अवार्ड जितेको पाँचौ पटक हो । उनले फिफा बेलुन डी ओर तीन पटक जितिसकेका छन् ।
लगातार दोस्रो पटक उपाधि जितेपछि रोनाल्डोले यो उपाधि जित्नु आफ्नो लागि सबैभन्दा ठुलो क्षण रहेको बताए । उपाधि जितेपछि रोनाल्डोले भने, “मैले लगातार दोस्रो पटक यो उपाधि जित्न सफल भएँ । यो मेरोलागि निकै ठुलो क्षण हो, यो उपाधि जिताउन हुने मेरो परिवार, क्लब, देश, टिम मेट, समर्थकहरुलाई धन्यवाद ।”

रोनाल्डोले गत वर्ष क्लबलाई दुई उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए । रियलले गत वर्ष च्याम्पयन लिग र ला लिगा उपाधि जितेको थियो । रोनाल्डोको कप्तानीमा पोर्चुगलले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा समेत स्थान बनाई सकेको छ  । रोनाल्डोले क्लब र राष्ट्रको लागि सन् २०१७ मा ४४ गोल गरिसकेका छन् ।

यस्तै फिफाले प्रदान गर्ने वर्ष महिला खेलाडीको उपाधि नेदरल्याण्डकी लिके मार्टिन्सले जितेकी छिन् । वर्ष प्रशिक्षकको उपाधि रियल मड्रिडका जिनेदान जिदानले जित्दा महिला वर्ष प्रशिक्षकको उपाधि नेदरल्याण्डका सरिना विग्मनले जितेकी छिन् । त्यस्तै वर्ष गोलकिपरको उपाधि युभेन्टस र इटालीका जियानलुइजि बुफोनले जित्दा फिफा पुस्कास अवार्ड आर्सनलका फ्रान्सेली स्ट्राइकर ओलिभर जेरुडले जितेका छन् ।

फिफाले सोमबार राति नै प्रदान गरेको फिफा फेयर प्ले अवार्ड टोगोको फ्रान्सिस कोनेले पाउदा फिफा फ्यान अवार्ड सेल्टिक फुटबल क्लबले पाएको छ । यस्तै फिफाले सार्वजनिक गरेको फिफा वर्ष टिममा रोनाल्डोसहित मेस्सी, नेयमार, बुफोन, सर्जियो रामोस, मार्सेलो,बोनुची, डानी आल्भेस, आन्द्रे ईनिएस्टा र टोनी  क्रुज परेका छन् ।
लण्डनमा आयोजित एक कार्यक्रमकाबीच फिफाले वर्ष खेलाडीहरुलाई पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्