विमल घर्तीमगरको कप्तानीमा यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

विमल घर्तीमगरको कप्तानीमा यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

विमल घर्तीमगरको कप्तानीमा नेपालको यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाली युवा टोलीका प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलअघि २३ सदस्यीय टोली छनोट गरेका हुन्।

एएफसी यु–२३ छनोट खेलको तयारी गरिरहेको नेपाल र बंगलादेशले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछन्।

बंगलादेशसँग खेल्ने टोलीले युएईमा हुने एएफसी यु–२३ छनोट फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ(एन्फा)ले बताएको छ।छनोट खेल जुलाई १५ देखि हुनेछ।

राष्ट्रिय टोलीका स्ट्राइकर विमलले कप्तानको जिम्मेवारी पाउँदा रक्षक अनन्त तामाङले उपकप्तानको भूमिका पाएका छन्।अनन्त पनि राष्ट्रिय टोलीका सदस्य हुन्। गोलकिपरमा एलन न्यौपाने, अशोक बराल, किशोर गिरी परेका छन्।रक्षक अनन्त, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जिसीले टोलीमा स्थान बनाए।

मिडफिल्डबाट हेमन्त थापामगर, सुमन लामा, सुनील बल, पूजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत तथा स्ट्राइकरमा विमल, अन्जन विष्ट, सन्जोग राई र विश्व श्रेष्ठ रहेका छन्।मंगबलार हुने मैत्रीपूर्ण खेललाई  नेपाल र बंगलादेश दुवै टोली आआफ्नो कमजोरी सुधार गर्ने अवसरको रूपमा लिएका छन्।  मैत्रीपूर्ण खेलबाट कमजोरीलाई पत्ता लगाउँदै टोलीको आत्मविश्वास बढाउने दुवै टोलीको लक्ष्य हुनेछ।

नेपालले युएईमा हुने छनोट प्रतियोगिताको समूह 'डी' को पहिलो खेलमा जुलाई १५ मा घरेलु टोलीसँग खेल्नेछ। जुलाई १७ उज्वेकिस्तान र १९ मा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

समूहको शीर्ष टोली प्रतियोगिताका लागि छनोट हुनेछ। नेपालले सबै खेल अल इन सिटीस्थित ताहनन बिन मोहमद रंगशालामा खेल्नेछ। दक्षिण एसियाली टोली बंगलादेश पनि कठिन मानिएको समूह 'इ' छ। बंगलादेशले जोर्डन, ताजकिस्तान र प्यालेस्टाइनसँग खेल्नेछ। छनोट चरणको समूह विजेता टोलीले एएफसी यु–२३ प्रतियोगिता खेल्न पाउनेछ।

नेपाली टोलीका व्यवस्थापक  सन्जीव मिश्रले बंगलादेशविरुद्धको खेलले युवा टोलीको कमजोर र बलियो पक्षको परीक्षण हुने बताए। उनले भने, 'युवा टोलीले कुनै प्रतियोगिता खेल्न पाएको छैन। उनीहरूले कस्तो खेल्छन् भन्ने थाहा पाउन पनि मैत्रीपूर्ण खेलले सहयोग गर्छ। फेरि हामी छनोट चरणमा बलियो टोलीसँग खेल्न गइरहेका छौं। युएई जानुअघि मैत्रीपूर्ण खेलले टोलीको आत्मविश्वास बढाउने विश्वास छ।' - नागरिकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्