संयुक्त उद्यममा जुट्दै एकल महिला व्यावसायिक उत्पादनमा लागे

संयुक्त उद्यममा जुट्दै एकल महिला व्यावसायिक उत्पादनमा लागे

दमक । झापाको दमक-५ की खेमकुमारी ओलीको दैनिकीमा केही समययता परिवर्तन आएको छ। अरुवेला सधैं घरमै हुने उनी अचेल दिन भरि स्यानीटरी प्याड उत्पादन गर्छिन्। केही समयको तालिम पछि उनी अन्य एकल महिलाहरूसँगै मिलेर यसको व्यावसायिक उत्पादनमा लागेकी हुन्।

उत्पादन गरेपछि कहाँ बेचौँला भन्ने तनाव पनि छैन। यसको सबै जिम्मा नगरपालिकाले लिएको छ। उनी मात्रै होइन, उनीजस्ता एकल महिलाहरू अहिले संयुक्त रूपमा यसको व्यावसायिक उत्पादनमा लागेका हुन्। यहाँका एकल महिलाहरू उद्यमशिलताका लागि संगठित भएका हुन्। उनीहरूले एकल महिलाको सञ्जाल गठनसँगै आयमूलक काम शुरु गरेका छन् भने त्यसबाट प्राप्त आम्दानीलाई नियमित बचतमा समेत सञ्चित गर्न थालेका छन्। एकल महिला समूह, दमक बनाएर संगठित भएका उनीहरू हाल सेनीटरी प्याड उत्पादनमा जुटेका छन्। समूहमा आवद्ध महिलाहरूले संयुक्त रूपमा प्याड बनाउने गर्छन्। उनीहरूले बनाएका प्याड नगरपालिकाले खरिद गर्ने निश्चित गरेको छ। त्यसैले उनीहरूलाई बजारको समस्या पनि छैन।

‘हामी दिनभरि भेला भएर यहाँ बनाउँछौँ, बनाएको सबै नगरपालिकाले किनिदिने भनेपछि कहाँ बेच्नु भन्ने समस्या पनि छैन’ संयुक्तरूपमा प्याड उत्पादन गर्दै आएकी दमक-५ की खेमकुमारी ओलीले भनिन् ‘एकै ठाउँ भेला भएर काम गर्दा अनुभव पनि आदानप्रदान हुन्छ भने सामूहिक भावनाको पनि विकास हुँदो रहेछ।’ सामूहिक रूपमा प्याड उत्पादन गर्नुपूर्व डेढ दशकदेखि घरैमा टेलर्स व्यवसाय गरेरसमेत नियमित आम्दानी गर्दै आएको उनले बताइन्।

सीप र आम्दानी नभएका महिलाहरूलाई भने संयुक्तरूपमा उद्यम शुरु गरेपछि आत्मविश्वास पनि बढेको छ। घरमा दिन भरि त्यसै बस्नु भन्दा यहाँ आए पछि सीप सिकेकाले यसैबाट आम्दानीसमेत गर्न सकिने हिम्मत बढेको दमक-१० की अम्बिका श्रेष्ठले बताइन्। अहिले प्याड बनाइ रहेको र आगामी दिनमा अन्य पोशाक बनाउनसमेत सिक्ने र यसैबाट थप आम्दानी गर्ने उनको योजना छ। उनीसँगै दमक-८ की गायत्रा भट्टराई पनि दिन भरि अरू साथीहरूसँगै प्याड बनाउने कार्यमा जुट्ने गरेकी छन्। नगरपालिकाले तालिमपछि आम्दानीको बाटोसमेत देखाएकाले अरू साथीहरूसँगै दिन भरि काम गर्ने गरेको उनले बताएकी छन्।

समूहमा २९ वर्षदेखि ६५ वर्षसम्मका एकल महिलाहरू आवद्ध छन्। उमेर र अनुभवको विविधताले पनि समूहमार्फत एक अर्काका अनुभव आदनप्रदान, सीप आदान प्रदान र उद्यम सञ्चालनका लागि पनि सामूहिक भावना जागेको समूहकी संयोजक सावित्रा प्रसाईंले बताइन्। सामूहिक रूपमा सीप सिकेको र उद्यमका लागि पनि सामूहिक रूपमा अभ्यास गरिरहेको उनको भनाइ छ। अहिले एकल महिलाहरू पुनः प्रयोग गर्न मिल्ने प्रकारको प्याड उत्पादन गरी रहेका छन्। उनीहरूका लागि आवश्यक कच्चा सामग्री (कपडा), सिलाई मेशिन तथा अन्य औजारहरूसमेत नगरपालिकालेनै व्यवस्था गरि दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्