उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ

उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं । माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ ।माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यस दिन अन्य समयभन्दा बढी खपत हुने गर्दछ ।

टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्। यस बर्ष चाकुको माग अनुसार उत्पादन बढाउन गारो भएको टोखाका उद्यमी न्हुँच्छे नारायण श्रेष्ठले बताउँछन् । उनले धेरै बर्षदेखि नै यही पेशामा अंगालेको भन्दै यसपाली पहिलाको भन्दा बढी व्यापार भइरहेको बताए । उनले भने, ‘चाकुको व्यापार यसपाली विगतभन्दा धेरै भईरहेको छ । माग अनुसारको काम गर्न नै समय पुगिरहेको छैन् । राम्रो व्यापार भइरहेको छ । यो पहिलादेखि नै हाम्रो बाबुबाजेहरुले गर्दै आउनुभएको पेशा हो ।’

यस्तै, सोही स्थानका व्यापारीमनदेवी जोशीले पनि टोखाको चाकु स्वास्थ्यका हिसाबले र सुत्केरीहरुको लागि पनि उपयोगी मानिएकाले चर्चा पाएकाले यसपाली पहिलाभन्दा राम्रो व्यापार भएको बताए । उनले भने, ‘टोखाको चाकु पहिलादेखि नै चर्चामा आएको हो । चाकुले स्वास्थ्यको लागि राम्रो गर्ने र सुत्केरी अवस्थामा पनि खान मिल्ने भएकाले सबैको मनपनि पराउनु भएको छ । यसको माग पनि धेरै आएको छ । पहिलाको सालभन्दा पनि धेरै राम्रो व्यापार भइरहेको छ । धेरै राम्रो हुदैँ गएको छ ।’

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा मात्र नभई नारायणघाट, पोखरा, बुटवल, विराटनगर लगायतका सहर बजारसहित विदेशसमेत निर्यात हुने गरेको छ।सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । माघे संक्रान्ति सामाजिक, आर्थिक, समाज र स्वास्थ्य सबै दृष्टिले महत्वपूर्ण मानिन्छ । माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व भएकाले जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । यसले जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि खानपान उपयोगी मान्ने गरिन्छ ।

माघ १ गतेका दिन विभिन्न नदीका घाटहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड हुने गर्छ । नवलपरासीको देवघाट, सुनसरीको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शंखमुलको बागमती किनार आदी ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो हुने गर्छ ।
यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पूराणमा उल्लेख गरिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्