ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा

प्रदेश १ को राजधानी विराटनगरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा निस्कन थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको पहल र कलेजसँगको सहकार्यमा विद्यार्थीहरु सडकमा निस्किएर अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन थालेका हुन् । विद्यार्थीको सहयोगका कारण सडकमा सवारी आवागमन प्रभावकारी बन्ने, सवारी जाम हट्ने, ट्राफिक व्यवस्थापन चुस्त बन्ने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ट्राफिक प्रहरीले आइतबारदेखि विराटनगरको लर्डबुुद्ध कलेजमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी आवश्यक प्रशिक्षण दिन थालेको छ । त्यसको अगुवाई मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रबहादुर खड्काले गरेका छन् । आवश्यक प्रशिक्षण पाएपछि विद्यार्थीहरु स्वयंसेवकका रुपमा सडकमा निस्किएर ट्राफिकको सहयोगीको भूमिका देखिन थालेका हुन् ।

इन्सपेक्टर खड्काका अनुसार विराटनगरमा सडक अनुशासन पालना नगर्ने, जेब्रक्रसको प्रयोग नगरिकन जथाभावी रुपमा सडक पार गर्ने, पैदल यात्रुले सडकको पेटी प्रयोग नगरिकन सवारी साधन आवतजावतलाई नै असर पुग्ने गरी व्यस्त रहने सडक प्रयोग गर्दै हिँडडुल गर्ने क्रम बढ्दो छ । त्यस्तै विराटनगरमा अव्यवस्थित रुपमा निषेधित क्षेत्रमा जथाभावी सवारी साधनको पार्किङ गर्ने, चालकले लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा सवारी साधन चलाउने, पैदल यात्रु तथा सवारी चालकले नियमको पालना नगर्ने, चालकले मापसे (मादक पदार्थ सेवन) गरेर गाडी चलाउने, ‘सिल्ट बेल्ट’ एवं जुत्ता र पोसाक तथा मोटरसाइकल चलाउँदा हेल्मेटको ‘क्लिप’ नलगाउने समस्या पनि धेरै रहेको जानकारी उनले दिए ।

त्यस्तै चालक अनुमति पत्र (लाइसेन्स) नलिइकन सवारी साधन चलाउने, छिटो पुग्ने र धेरै यात्रु ओसार्ने तथा बढी कमाउने होडमा एकअर्काबीच प्रतिस्पर्धा गर्ने, सवारी साधनले निषेधित क्षेत्रको ख्यालै नगरिकन जथाभावी सडक पार गरिदिने एवं दुर्घटनाग्रस्त क्षेत्रको प्रवाह नगरिकन तीव्र गतिमा गाडी कुदाउने समस्या पनि जल्दोबल्दो रुपमा देखा परेको छ ।

जनशक्ति कम रहेको अवस्थामा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएर लैजानुपर्ने चुुनौतीका सामु ट्राफिक प्रहरीले विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणबाट ट्राफिक नियमको उल्लंघन र पालनाका बारेमा सिकेपछि विद्यार्थीहरु सहयोगी बनेर सडकमा निस्कँदै ट्राफिक प्रहरीलाई मद्धत गर्न थालेका हुन् ।

प्रशिक्षणपछि विद्यार्थीले सडक अनुशासनको पालना र पैदल यात्रुलाई बाटो काट्दा जेब्रक्रस तथा हिँडडुल गर्दा सडक पेटीको प्रयोग गर्न सिकाउन थालेको जानकारी खड्काले दिए । उनका अनुसार निषेधित ठाउँमा पार्किङ नगर्न, मापसे नगरिकन र नियमको पालना गरेर मात्रै सवारी चलाउन, ‘सिल्ट बेल्ट’ एवं जुत्ता र पोसाक तथा हेल्मेटको ‘क्लिप’ लगाउन चालकलाई विद्यार्थीले अनुरोध गरेर ट्राफिक नियमको पालनामा सहयोग गरिरहेका छन् ।

लर्डबुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले विद्यार्थीलाई पढाईमा मात्रै केन्द्रीत गर्नेभन्दा पनि प्रशिक्षणमार्फत सडकको नियम र कानुनका बारेमासमेत जानकारी दिन थालिएको बताए । यस्ता अतिरिक्त क्रियाकलापले व्यक्तित्व विकास गर्न, नियम र कानुनका बारेमा जानकारी राख्न तथा विद्यार्थीलाई समाजसेवा र सामाजिक कार्यमा अग्रसर हुन मद्धत पुग्ने उनको बुझाइ छ ।

‘ट्राफिक नियमका बारेमा जानकारी गराएर विद्यार्थीलाई सडकमा परिचालन गर्दा सबैलाई फाइदा पुग्छ,’ उनले भने, ‘जसका कारण ट्राफिक व्यवस्थापन चुस्त हुनुका साथै विद्यार्थीहरुले पनि बाहिरी वातावरणमा राम्ररी घुलमिल हुने र नियम तथा कानुनका बारेमा जानकारी राख्ने अवसर प्राप्त गर्छन् ।’ भट्टराईका अनुसार विद्यार्थीले ट्राफिक व्यवस्थापन र नियमका बारेमा सहयोग गर्दा दुर्घटना र सडकका अनेक अवरोध न्यूनीकरण हुँदै जाने भएकाले सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा राखिएको छ । ट्राफिक प्रहरीको सहयोगमा जनचेतनामुलक हिसाबले कलेजमा अध्ययनरत सबै विद्यार्थीलाई प्रशिक्षित गर्न सप्ताहव्यापी प्रशिक्षण राखिएको उनले बताए ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले सडक अनुशासनका बारेमा प्रशिक्षित गराएर स्वयंसेवकका रुपमा कलेजमा अध्ययनरत विद्यार्थीसँग सहयोग लिँदा ट्राफिक नियमको पालना गराउन सजिलो भएर ट्राफिक व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको बताए । त्यही भएकाले पछिल्लो समय बढ्दो दुर्घटना न्यूनीकरणका लागि शैक्षिक क्षेत्र लक्षित कार्यक्रमलाई तीव्र पारिएको जानकारी उनले दिए ।

शैक्षिक संस्था र विद्यार्थीसँग सहकार्य गर्दा सकारात्मक नतिजा प्राप्त हुने अपेक्षा ट्राफिक प्रहरीले राखेको छ । प्रत्येक दिन बिहान र दिउँसो कलेजका विद्यार्थीलाई कक्षा लिएर नियमका बारेमा जानकारी दिँदै पाँचदेखि छ जनाको समूह बनाई १२ वटासम्म टिमलाई सडकमा स्वयंसेवकका रुपमा सडकमा परिचालन गर्न थालिएको छ । एसपी शर्माले विभिन्न कजेल र शैक्षिक संस्थासँग सहकार्य गर्दै कार्यक्रमलाई विस्तार गरेर लैजाने योजना रहेको सुनाए ।

कलेज पोशाकमा सडकमा खटिने विद्यार्थीले सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिँदा चालक र पैदल यात्रुले समेत सहज रुपमा स्वीकार गर्ने गरेको उनको भनाइ छ ।
विराटनगरमा मात्रै एक साताभित्रमा आठ सयजति विद्यार्थीलाई प्रशिक्षित गराएर सबै सडक प्रयोगकर्तालाई विद्यार्थी मार्फत सचेत गराउने तयारी रहेको उनले बताए । आवश्यक प्रशिक्षण पाएपछि ट्राफिकको सहयोगी बनेर स्वयंसेवकका रुपमा निस्कने विद्यार्थीले सडकमा अनुगमन गर्दै सचेतनामुलक सन्देश दिने गरेको एसपी शर्माको भनाइ छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की भन्छन, विद्यार्थीको सहयोगबाट ट्राफिक सम्बन्धी समस्या, असर तथा बढ्दो दुर्घटना न्यूनीकरणमा ठूलो मद्धत पुग्नेछ । जसका कारण सवारी सञ्चालन सहज भएर सडकमा देखिने अनेक अवरोध र बाधा हट्ने उनको विश्वास छ । डीआईजी कार्कीले सडकमा पछिल्लो समय देखिएको समस्या तत्काल हल गर्न निर्देशन दिएपछि विद्यार्थीलाई प्रशिक्षित गराएर स्यवंसेवकका रुपमा परिचालन गर्ने उत्तम उपाय ट्राफिक प्रहरीले अवलम्बन गरेको हो । तस्बिर:कोशी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्