घरघरमा नसर्ने रोग बढ्यो , सरुवा भन्दा बढी घातक !

<span class='c1'>घरघरमा नसर्ने रोग बढ्यो ,</span> <span class='c2'>सरुवा भन्दा बढी घातक !</span>

काठमाडौं, असोज २९ । घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन् ।

मुटु, मिर्गौला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन्, कुनै अध्ययनसमेत भएको छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसिडी एलायन्सद्वारा संयुक्तरुपमा सरुवा रोगसम्बन्धी हालै आयोजना गरेको एक कार्यक्रमका सहभागीले नसर्ने रोग रोकथाम गर्न नयाँ नीति ल्याउनुपर्ने सुझावसमेत दिएका थिए ।

पछिल्लो समय मन्त्रालयले आफ्नो बजेट विनियोजन गर्दा ८५ प्रतिशत रोग उपचार र १५ प्रतिशत रोग रोकथामका लागि खर्च गर्ने गर्दछ । रोकथामका लागि कम रकम विनियोजन गर्दा रोग लागेपछि मात्र उपचार गर्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढिरहेको जनस्वास्थ्य विज्ञको भनाइ रहेको छ ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनीले धेरैजसो तयारी खाद्य वस्तु खाने प्रवृत्तिले नसर्ने रोगी बढिरहेको चर्चा गर्दै खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन आग्रह गरे । पछिल्लो समय सरकारले विशेष गरी नसर्ने रोग (मुटु, मिर्गौला, क्यान्सर) को उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्दै आएको छ । साथै धुवाँमुक्त चुल्हो निर्माणमा रु ४० हजार अनुदानसमेत दिँदै आएको छ । अर्कोतर्फ धुलो, धुवाँजस्ता प्रदूषणका कारणले पनि नसर्ने रोग बढिरेहको बताइएको छ ।् 

उनले भने, ‘नसर्ने रोग हुन नदिन सूर्तीसेवन एवं मदिरापान सेवन छोड्नुपर्छ । स्वस्थकर, पोसिलो खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।’

स्वास्थ्य मन्त्रालय, नसर्ने तथा मानसिक रोग नियन्त्रण शाखाका प्रमुख फणिन्द्रप्रसाद बरालले पछिल्लो समय नसर्ने रोग घरघरको स्वास्थ्य समस्याका रुपमा देखा परेको चर्चा गर्दै नसर्ने रोगका बारेमा सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

जनस्वास्थ्य विज्ञ डा केदार बरालले नसर्ने रोग नियन्त्रणका लागि नयाँ नीतिको आवश्यकता औँल्याउँदै त्यस्तो रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोगमध्ये मुटुको रोगीको सङ्ख्या बढिरहेको बताए । उनले एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको देखाएको जानकारी दिए ।

मधुमेह रोग विशेषज्ञ डा प्रदीपकृष्ण श्रेष्ठले पछिल्लो समय पेटमा सेतो बोसोको मात्रा बढेका कारण मधुमेहका रोगी बढिरहेको पाइएको बताए । बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद् किशोर प्रधानाङ्गले महिला क्यान्सर रोगीको सङ्ख्या बढिरहेको जनाए । उनले क्यान्सर रोगीलाई दिइने सहयोग रु पाँच लाख पुर्‍याउनुपर्ने सुझाव दिए ।

आयुर्वेद चिकित्सक सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके नसर्ने रोगको जोखिम कम हुने बताइन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सूर्तीजन्य पदार्थ र मदिरापान नियन्त्रणमा ध्यान दिन सुझाव दिए । प्रा डा शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग बढेको नभई नसर्ने रोगको सङ्ख्या बढेको जानकारी दिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्