गोकर्ण दयाल
बैतडी, फागुन ५ गते । सँगैका दौँतरी जागिर र वैदेशिक रोजगारीमा भाँैतारिएका बेला बैतडीका एक युवा उद्यमीले ९० घार मौरी पालेर वार्षिक दस लाख रुपियाँ आम्दानी गर्नुभएको छ । दशरथ चन्द नगरपालिका–५ पोटाका ३३ वर्षीय सुदर्शन लेखकले माहुरीपालन व्यवसायबाट वाषर््िाक दस लाख रुपियाँ आम्दानी गर्नुभएको हो ।
सेरेना जातको मौरी पालेका लेखकले मह र मौरीका घार बेचेर आम्दानी गर्नुभएको हो । मौरीपालन व्यवसायबाट यस वर्ष मात्रै लेखकले सबै खर्च कटाएर दस लाख रुपियाँ बचत गरेको बताउनुभयो ।
नागार्जुन मौरीपालन उद्योग दर्ता गरी व्यावसायिक मौरीपालनमा लागेका लेखकले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । मौरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुनसक्ने तथा अरिङ्गालले खाने समस्या रहेको भन्दै रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिनुभएको हो ।
गत साउनयता मात्रै लेखकले १२ क्विन्टल मह बेचेको बताउनुभयो । यस वर्ष मौरीको घार थपेको र रोगले नोक्सान नगरे अझै मह उत्पादन हुने उहाँको विश्वास छ ।
गाउँमा उत्पादन गरेको मह धनगढीदेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ । प्रतिकिलो आठ सय रुपियाँमा बिक्री हुने महका लागि बजारको समस्या नभएको लेखकले बताउनुभयो ।
सेरेना जातको माहुरीको मह भीर माहुरीको जस्तै गुणस्तरीय हुने भएकाले मनग्ये आम्दानी हुने गरेको छ । वर्षमा दुई दर्जनभन्दा बढी मौरीसहितका घारसमेत बिक्री हुन्छन् ।
मौरीका लागि चरन क्षेत्र उपयुक्त भएकाले यो व्यवसाय फस्टाउँदै आएको लेखकको भनाइ छ । मौरीका लागि चरन क्षेत्र चिउरीलगायतका फलपूmल प्रशस्त फल्ने जिल्ल्लाको दशरथ चन्द नगरपालिका, सिगास, दोगडा केदार, डिला सैनी गाउँपालिकाका केही वडा उपयुक्त मानिन्छन् ।
मौरीपालनका लागि उपयुक्त भएका ठाउँका किसानलाई व्यावसायिक रूपमा क्षमता बढाउने खालका कार्यक्रम आवश्यक भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
लेखक मात्र होइन मौरीपालन व्यवसायमा जिल्लाका अन्य किसान पनि लागेका छन् । केही वर्षअघि घरको भित्ता र मुढेघारमा एक–दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् ।
गत वर्ष बैतडीमा ९५ मेट्रिक टन मह उत्पादन भएको थियो । यो वर्ष दस मेट्रिक टन मह उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा चार हजार सात सय आधुनिक घार र सात हजार आठ सय मुढेघार रहेको केन्द्रले जनाएको छ । उपयुक्त मौसम र मौरीमा रोगको प्रकोप नदेखिएकाले मह उत्पादन बढेको केन्द्रका प्रमुख चन्दले जानकारी दिनुभयो ।
मह बेचेरै लाखौँ आम्दानी गर्नुका साथै स्थानीय युवालाई रोजगारी पनि दिँदै आएका मौरी व्यवसायीले सरकारी निकायबाट भने आशा गरे अनुसार सहयोग नपाएको गुनासो गर्दै आएका छन् । सरकारले व्यवसाय गर्न चाहने किसानलाई सहयोग नगरेको उनीहरूको गुनासो छ । कुनै अनुदानका कार्यक्रममा व्यवसायीलाई नसमेटेको किसानको गुनासो छ ।