कृषि प्राबिधिकको काम योजना अधिकृतमा, प्राबिधिक अभावमा कागती खेतीमा समस्या

कृषि प्राबिधिकको काम योजना अधिकृतमा, प्राबिधिक अभावमा कागती खेतीमा समस्या

सुमन तिमल्सिना
बिराटनगर, कात्तिक ७
मोरङको पाटिगाउँ र याङ्सिलामा ३० बिगाहा क्षेत्रफलमा किसानले कागती खेती भर्खरै शुरु गरेका छन् । उनीहरुको भर्खरै रोपेको बिरुवामा समस्या देखियो, प्राबिधिक पठाउन जिल्ला कृषि विकास कार्यालयमा पटक पटक खबर गरे तर प्राबिधिक पुग्न सकेनन् ।
हसनदहका भरत भट्टराई र बिमल भट्टराईले कागती खेती शुरु गरेको बल्ल एक बर्ष पुग्दैछ, अहिले कागतीका बिरुवामा रोगको संक्रमण देखिएको छ प्राबिधिकलाई खबर गरेको भएपनि जिल्ला कृषि विकास कार्यालयले प्राबिधिक पठाउन सकेन । किसानहरु तनावमा छन् ।
सुन्दर हरैचा नगरपालिका किसान नरेन्द्र राईले गत बर्षमात्र रोपेको कागतीको बिरुवामा अहिले पात छिद्रा पार्ने रोगको संक्रमण देखिएको छ । घरेलु औषधीको प्रयोग गरेको भएपनि अहिले सम्म कसैले पनि समस्याको समाधानमा चासो दिएनन ।
यि माथि उल्लेखित प्रतिनिधिमुलक घटनाले किसानलाई लगाएको कागती खेतीमा समस्या देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा प्राबिधिकको अभावको कारण किसानहरुले कागतीमा पाउँदै आएको समस्याको बारेमा उचित समाधान पाउन सकेका छैनन । किसानले लगाएको कागतीको समस्या हरेक समाधान जिल्ला कृषि विकास कार्यालयका प्राबिधिकहरुबाट पाउँदै आएकोमा अहिले त्यस्तो अबस्था छैन । हसनदहका किसान भरत भट्टराईले ४ पटक बढी जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराईसकेको भएपनि कसैले पनि समाधान नदिएको बताउनुभयो । उहाँले जिल्ला कृषि विकास कार्यालयमा भएका बिषयबिज्ञहरुलाई संघिय संरचना अनुसार स्थानीय तहमा पठाईएपनि किसानले पाएको समस्याको उचित समाधान पाउन सकेका छैनन । किसानको समस्या सुन्ने कृषि प्राबिधिकहरु स्थानीय तहमा गएको भएपनि प्राबिधिक समस्याको सामाधान गर्ने प्राबिधिक नहुँदा किसानको समस्या चुलिएको हो । पाटिगाउँ र यांसिला गाउँहरु अहिले केरावारीमा पर्छ यो गाउँमा ३० बिगाहा भन्दा बढीमा कागतीको पकेट कार्यक्रम शुरु भएको छ । तर यहाँ केरावारी गाउँ पालिकाको कृषि बिषयको जानकारको रुपमा कृषि प्रसार शाखाका फणिन्द्र भट्टराई हुनुहुन्छ, उहाँले किसानको समस्याको बारेमा समाधान दिन नसक्ने किसानको भनाई छ । लेटाङ नगरपालिकामा कृषि बिषय बिज्ञको रुपमा कृषि विकास कार्यालयका योजना अधिकृत श्रीधर खनाल रहनु भएको छ, उहाँसँग कृषि सम्बन्धी प्राबिधिक ज्ञान छैन ।

पथरी सनिश्चरे नगरपालिकाको हसनदहमा का भरत भट्टराई र बिमल भट्टराईले ८ बिगाहामा कागती खेतीमा समस्या देखिएको छ । रोगकिराको बारेमा जानकारी हुनु पर्ने बिषयबिज्ञको आबस्यकता किसानले महशुस गरेका छन् । तर यो नगरपालिकामा कृषि विकास मन्त्रालयले योजना अधिकृत किसुनदेव राउतलाई पठाएको छ । यसरी अमिल्दो गरी कृषि क्षेत्रमा भएको कर्मचारी ब्यवस्थापनले किसान आजित भईसकेका छन् । एक ठाउँबाट अर्को गाउँमा गएका कृषि प्राबिधिकले आफ्नो गाउँपालिका र नगरपालिका बाहेकका अन्यत्रका किसानलाई सेवा दिन छाडेका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङमा रहँदा बागवानी विकास अधिकृतको रुपमा रहनु भएका काँशी कुमार चौधरी अहिले रंगेली नगरपालिकामा हुनुहुन्छ । उहाँ भन्नुहुुन्छ, कागती किसानका समस्या आईरहेका छन्, प्राबिधिक नहुँदा समस्या भएको छ । मसँग समस्याको बारेमा राख्नुहुन्छ, आफ्नो कार्यक्षेत्र नमिल्दा जान सकिन्न, राज्यले मिलाएकै छैन ।’
जाँतेमा बिनोद वस्तीले ४ बिगाहामा कागती खती गदै आएको भएपनि महिनै पिच्छे आउने प्राबिधिकहरु समस्या पर्दा आउन छाडेको गुनासो गर्नुभयो । कगती खेती गर्दै आएका हसनदह, सुन्दर हरैचा र पाटीगाउँका किसानमा बढी समस्या देखिएको छ । पातमा खैरो दाग लाग्ने, पात मुजा परेको, डाँठमा लस्सा देखिने समस्या रहेको छ । एक सय बढी किसानले धेरथोर कागती खेती गर्दै आएको मोरङमा ५० बढी किसानले ब्यवसायिक कागती खेती गर्दै आएका छन ।
पछिल्लो समयमा किसानको समस्याको समाधान गर्ने प्राबिधिक जिल्ला कृषि विकास कार्यालयमा नपाउँदा समस्या रहेको बताएका छन् । यस्तै जिल्ला कृषि कार्यालय मार्फत काम हुँदा असोज मसान्त सम्ममा ७० प्रतिशत काम पुरा हुने गरेकोमा स्थानीय तह कार्यान्वयनमा गएसँगै कृषि सम्बन्धी कार्यक्रमको शुरु समेत नभएको वागवानी विकास अधिकृत चौधरीले जानकारी दिनुभयो । उत्पादनका आधारमा १५ प्रतिशत मात्र मोरङको कागतीले धान्ने गरेको भएपनि अन्य आयातित भारतीय कागतीले धानेको छ भने पाँचथर तथा तेह्रथुम जिल्लाको कागती मोरङमा खपत हुँदै आएको छ ।

स्थानीय खटिएका कृषि प्राबिधिकहरु
विराटनगर महानगरपालिका, राकेश यादव, बाली विकास अधिकृत
लेटाङ नगरपालिका श्रीधर खनाल, योजना अधिकृत,
रंगेलीका नगरपालिका काँशी कुमार चौधरी, बागवानी
रतुवामाई नगरपालिका, नरेशकुमार पण्डित, कृषि प्रसार अधिकृत
उर्लावारी नगरपालिकामा, लाक्पारिडर शेर्पा, प्रास मत्स्यपालन
पथरी नगरपालिका किसुनदेव राउत, योजना अधिकृत
वेलवारी नगरपालिका, रुद्र फुयाँल, मत्स्य विकास अधिकृत
सुन्दर हरैचा नपा, हृदयराम पोखरेल, कृषि प्रसार अधिकृत
कानेपोखरी गाउँपालिका, कुशेश्वर सलेता, प्र,स. वागवानी
केरावारी गाउँ पालिका, फणिन्द्र भट्टराई, प्रा.स. कृषि प्रसार
सुनवर्सी नगरपालिका, रामनारयण मण्डल, योजना अधिकृत
जहदा गाउँपालिका, रामदेव सिंह, प्रास बाली संरक्षण
कटहरी गाउँ पालिका, लेखनाथ भण्डारी, बाली संरक्षण प्रा.स.
बुढीगंगा गाउँपालिका, राजनारायण चौधरी, प्रा.स. कृषि प्रसार
धनपालमाथ थान ओम प्रकाश सिंह, प्रास, बाली विकास
ग्रामथान माधव उपाध्याय, प्रास, कृषि प्रसार
मिक्लाजुङ गाउँपालिका, मोहन मिश्र, प्रास, बाली संरक्षण,

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्