“बन्द अवज्ञाको अर्को विषम पाटो ” – चिरन्जिबी तिम्सिना

“बन्द अवज्ञाको अर्को विषम पाटो ” – चिरन्जिबी तिम्सिना

 

जोसुकैले गरेको बन्द किन सफल हुन्छ ? समाज लाई केहि योगदान दिनपर्छ भन्ने मान्यता राख्ने केहि जोशिला युवाहरुले प्ले-कार्ड बोकेर नेपाल खुल्ला छ भनेर 'वाल' मा आउनु एउटा सांकेतिक अपिल मात्र हो, जुन सकारात्मक कदम हो र यसले दीर्घकालमा पक्कै राम्रो प्रभाव पार्नेछ । तर अहिले बन्दको सर्वत्र विरोध भए पनि सवारी साधन गुडेका छैनन्, कलकारखाना ठप्प छन् र विधार्थीहरु फुर्सदिला भएका छन् । म जस्ता धेरै निराशा र अन्यौल विच के गर्ने के नगर्ने दोधारमा छन ।

आखिर किन हुन्छ त बन्द सफ़ल?

जवाफ प्रष्ट छ - राज्य छैन, राज्यले सुरक्षाको प्रत्याभुती दिन सकेको छैन र राज्य एवं तिनका निकाय प्रति हाम्रो भरोसा विल्कुल छैन । अर्थात अवज्ञा गर्ने क्रममा तपाईंको ज्यान धनमा कुनै क्षति पुगे, 'मेरो देशको सरकारले अपराधीलाई सजाय र मलाई न्याय दिनेछ', भन्ने विश्वास जनतामा छैन ।

मानौ तपाईंले बन्द अब नसहने भनेर गाडी नीकाल्नु भयो तर अलि पर पुग्ने वित्तिकै ३ जनाको एउटा समुहले सिसा फोडिदिन्छ, गाडी तोड्फोड गर्छ । अब बुझ्नुस घनचक्कर र साढेसाती दुवै एकसाथ सुरु भयो ।

शुरुमा एकहुल मानिसले घेरेर बन्दको बेला गाडी निकाल्नै नहुने अर्ती दिन्छन, अलि पर नसुन्ने गरी अर्को समुहले 'हिरो' बन्न खोजेकाले त्यसो भएको टिप्पणी गर्नेछन । बल्ल प्रहरी आउनेछन , तिनले पनि त्यहि दोहो-याउने छन् र गाडी लिएर रिपोर्ट लेखाउन जिप्रका पठाउने छन् । जिप्रका पुग्नुस, तपाईं आफैले जानीजानी सिसा फोडेको, गाडी तोडेको जस्तो महशुस हुनेगरी केरकार गर्नेछन । लाइसेन्स माग्नेछन, ब्लुबुक हेर्नेछन र दुवै ठिक रहेछ भने त अवाक होलान तर ब्लुबुक वा लाइसेन्स म्याद गुज्रेको रहेछ भने बुझ्नुस तपाईंलाई ' अढैया ' पनि लाग्यो । अब कोहि चिनेको तपाईंको आफन्त प्रहरीलाई प्रभावमा पार्नसक्ने छन् भने थोरै राहत मिल्न सक्छ ।

नहुनु भैहाल्यो, अब वर्षै पिच्छे ४०-४५ हजार बुझाएको इन्स्युरेन्स कम्पनीले क्षति पूर्ति देला कि भनेर चक्कर काट्नुहोस्, अहं मरे तिनका मानिस आउँदैनन । ५ दिन पछि सर्भेयर आउँछ । गाडी बनाउने ग्यारेजले १ लाख लाग्छ भन्छ, सर्भेयरले प्लास्टिक, शिसा आदि आदि बाद भन्दै मोटामोटी १५-२० हजार आउँछ भन्छ । अब उसले पनि रिपोर्ट दिन हप्तौ लगाउन सक्छ । तपाईं आफुले प्रिमियम बुझाउने गरेको एजेन्टलाई फोन गर्नुस उसले 'अन्डरराइटिङ्' विभागको हवाला दिएर हैरान पार्छ ।

थाक्नु भो? अझ लडाई बाँकी छ, बन्द त्यसै असफल हुन्छ ?

गाडी नचलेको १ महिना पुगिसक्यो, हजारौं रुपियाँ त्यसै सकिसक्यो, आम्दानी शुको छैन तर भोलि २० तारिख - बैंकको किस्ता बुझाउने दिन । तपाईं त चोटले रन्थनिएको मान्छे विर्सन पनि सक्नु हुन्छ तर तपाईंको 'क' श्रेणीको व्यवसायिक व्यांकरले कसरी भुल्न सक्छ, उसले नियुक्त गरेको मधुर स्वरकी धनी 'म्याम' ले तपाईंलाई आजै अग्रीम् जानकारी गराउने छिन । एकै छिन पछि ' सफ्ट रिमाइन्डर ' भन्दै एस एम एस त पक्कै आउँछ । अब कमाइ भए, पैसा भए त तिर्नु तर गाडी नै ग्यारेजमा थन्के पछि के ले तिर्नु ? तपाईं त्यहि सोच्नु हुन्छ तर 'जनताको पैसा' ले चल्ने ब्यांकले 'किस्ता ओभरड्यू' राख्ने कुरो कल्पना पनि गर्न सक्दैन । अनि त के फोनै मुला त कति गर्छ गर्छ ।

अब रह्यो, तपाईंको देश वा राज्य वा सरकार ! भूकम्पले ज्यान लग्यो घर लग्यो १५ हजार दिन्छु भन्थ्यो ३ महिना भो, खोइ १ रुपैयाँको टिकट टासेर खाम बन्दी गरेर पत्र-मन्जूसामा खसालेको हो की क्याहो, पुग्दैन त पिडितकहाँ । हुलाकिले अप्रेसन गरेको (?) पनि हुन सक्छ ।

हो त्यस्तो सरकारले केहि देलाकी भन्नु के जाति होला र खाउला भन्नु जस्तै हो । ऊ त छदाछदैंको देश बेरहम तरीकाले चिर्छ, जनता बोल्छन, सडकमा आउछन, ऊ गोली दाग्छ - भोलि १० लाख दिने घोषणा गर्छ, वश !!

अब भन्नुस, यस्तो परिस्थितिमा बन्द अवज्ञा कसरी हुन्छ ? अहिले तपाईं हामी मौन वसेको बन्दकर्ताको समर्थनका लागि किञ्चित होइन तर गर्ने के ? सिस्टम माथि लेखे जस्तो छ देशको, कहीँ कतै आश गर्ने ठाउँ छैन । अघि नै लेखिसकेँ, समाज अराजक र राज्य गैर जिम्मेवार अनि सामान्यजन अत्यन्त कमजोर रहेकाले जसले जहिले बन्द गर्दा पनि बन्द सफल जस्तो देखिएको हो, जन समर्थन होइन ।

अकारण ज्यान गुमाउनेहरु ( सरकारले १० लाख दिने भनिसक्यो, आन्दोलनकारी सायद सहीद को दर्ज्यानी चिन्ह माग गर्दैछन) प्रति श्रद्दान्जली !!!

विराटनगर
२०७२-०५-०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्