बिनु तिम्सिना
महाभूकम्प, मधेशी मोर्चाको बन्द, भारतको नाकाबन्दी लगायतका विभिन्न समस्याका बाबजुद पनि वर्षदिनमा आउने महान चाड दशैँको रौनकताले छपक्कै छोपेको छ । सबै वर्ग र समुदायका मानिसहरु आफ्नो गच्छेअनुसार दशैं मनाइरहेका छन् । सबै आ–आफ्नो घरपरिवारमा खुसी हुँदै वर्षदिनको चाड मनाइरहेका छन् । तर आफन्त र आफ्नै सन्तानबाट परित्यक्त बृद्धबृद्धाहरुभने विगतको दशंै सम्झिएर बस्न बाध्य छन् ।
देशमा देखिएका विभिन्न समस्याका बाबजुद पनि हिन्दु नेपालीहरुलाई दशैको रौनकताले छोपेको छ । ठूलासाना सबै वर्षदिनको चाड दशैमा रमाइरहेका छन् । सबै आफ्नै गच्छेअनुसार मिठोमसिनो खाएर परिवारमा रमाइरहेका छन् । तर विराटनगरस्थित बिराटेश्वर बृद्धा आश्रमका जेष्ठ आमाबाहरु भने आफ्ना विगतका रमाइला दशै सम्झिदै मन अमिलो पारेर बस्न बाध्य भएका छन् । कलैया घर भएकी ७९ वर्षिया आभादेवी आचार्य यो आश्रममा आउनुभएको भर्खर तिन महिनाभयो । आफ्ना आफन्त र सन्तान नै नभएर भने उहाँ यहाँ आउनुभएको हैन । उहाँका २ छोरा र १ छोरी काठमाडौंमा हुनुहुन्छ । सबैजना सम्पन्न भएपनि आफन्त र सन्तानको माया नपाएपछि उहाँ आश्रमको साहारामा आउनुभएको हो । पहिलेका वर्षहरुमा आफ्ना परिवारसँगै बसेर मनाएका दशंै सम्झदा उहाँका आँखा भरीए ।
छ महिनाअघि आउनुभएकी भोजपुरकी ९१ वर्षीय विष्णु श्रेष्ठको पनि व्यथा यस्तै छ । पाँच छोरा र एक छोरीकी धनी उहाँको पनि अहिले आश्रमको बसाइ भएको छ । उमेर छँदा आफ्ना परिवारसंगै मनाएका दशै उहाँलाई अझै झल्झल्ति याद छ ।
यता सतासीधामका दिपकशर्मा उप्रेतीको पनि यस्तै व्यथा छ । घरभरी छोराबुहारी हुँदहुदै उहाँ आश्रममा आश्रय लिन आउनुभएको छ । बल छउन्जेल परिवार चलाउनुभएका उहाँले बुढेसकालमा छोराबुहारीको व्यवहारले आजित भएर आश्रय खोज्दै हिड्नु परेको छ ।
यस्तै यस्तै कथा र व्यथा छ इतिहासका साक्षी जेष्ठ नागरिकहरुको । अहिले विराटेश्वर बृद्धाश्रममा २५ जना आमा र १९ जना बुबाले आश्रय लिइरहनुभएको छ । बदलिदो परिस्थितिसँगै बढ्दैगएको एकल परिवारको संस्कारले जेष्ठ आमाबाबुहरुलाई आफ्नै सन्तानको मायाँबाट टाढा बनाएको छ । घरभरी छोरा बुहारी र नातिनातिना हुँदापनि वर्षदिनको चाडमा एक्लै आश्रममा दिनहरु बिताउनुपर्दा कसकोपो मन नरोला र । तर मन रोएर र चित्त दुखाएर पनि के गर्ने ? आफैले जन्माएका सन्तानले हेला गरेपछि ।