अब त्रिभुवन विश्वविद्यालयमा पनि योग डिप्लोमा कक्षा सञ्चालन तयारी

अब त्रिभुवन विश्वविद्यालयमा पनि योग डिप्लोमा कक्षा सञ्चालन तयारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एक वर्षे योग डिप्लोमा कक्षा सञ्चालन तयारी गरेको छ। विश्वविद्यालयको संस्कृत विभागको पहलमा योग शिक्षा पठनपाठन शैक्षिक उपाधिकै रुपमा गराउने तयारी भएको जानकारी योग शिक्षक डा.सुबोध शुक्लाले दिए।

जुनसुकै संकायमा स्नातक गरेका विद्यार्थीले एक वर्षे योग डिप्लोमा पढ्न पाउने गरी कक्षा सञ्चालन तयारी भएको हो। विषय समितिको बैठकले योग शिक्षाको पाठ्यक्रम प्रस्ताव गरिसकेको छ। त्रिवि, संस्कृत विभागले सोही आधारमा पाठ्यक्रम तयारी लागि छलफल अघि बढाएको जानकारी उनले दिए।

'व्यस्त दैनिकीले मानिस मानसिक रुपमा पूर्ण रुपमा थकित हुन्छन्,' डा.शुक्लाले नागरिकसँग भने, 'शारीरिक ब्याम नपुगेर उनीहरू मानसिक र शारीरिक रुपमै रोगी बन्दै छन्। योग शिक्षा आवश्यक्ता भएकाले प्राज्ञिक रुपमै विश्वविद्यालय पठनपाठनको तयारीमा छ।'

नेपाल ऋषिमुनिको योग भूमि हुनुका साथै योग शिक्षा अभ्यासका लागि प्राकृतिक रुपमै योग्य भएकाले पनि योग शिक्षा विश्वविद्यालय तहमै पठनपाठन गराउनु निकै आवश्यक देखिएको उनले जनाए। योग शिक्षाले निरोगी बनाउने र चेतना जगाउने भएकाले विश्वविद्यायले प्राज्ञिक रुपमै पठनपाठन गराउन लागेको उनले बताए।

एक वर्षे योग डिप्लोमा कोर्ष दुई सेेमेस्टरको हुने छ। योग शिक्षा व्यवाहारिक र प्राक्टिकल भएकाले एक वर्षे डिप्लोमा कोर्षका लागि करिब ५० हजार रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ। त्रिवि परिसरमै पठनपाठन गराइने एक वर्षे डिप्लोमा योग शिक्षा पाठ्यक्रमले योग एवं मानव चेतना, प्रणायम, आसन, योग प्रत्याहार, धारणा, ध्यान, समाधिलगायत विषय समेट्ने छ। यो कोर्षअन्तर्गत शरीर विज्ञान, योग दर्शन, प्राकृतित्क चिकित्सा, साउना, सनबाथ, मडबाथ, योग र अल्टरनेटिभ थेरापी र योगा हेल्थ एन्ड फुड विषयमा प्राक्टिकल हुनेछ।

त्रिवि, संस्कृत विभाग प्रमुख नारायण गौतमले योग शिक्षा पढ्न चाहने विद्यार्थीले संस्कृत भाषा जान्नुपर्ने बताए। योग शिक्षाका धेरैजसो पुस्तक संस्कृतमै भएकाले यो भाषा अनिवार्य जान्नुपर्ने उनको भनाइ छ।

'हाललाई विषय समितिले एक वर्षे योग डिप्लोमा कोर्ष ६ सय पूर्णांकको बनाउने गृहकार्य  सुरु गरेको छ,' विभागीय प्रमुख गौतमले भने, 'हामीले तीन महिनाभित्र एक वर्षे योग डिप्लोमा कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छौं,' उनले थपे, 'एक वर्षे डिप्लोमा कक्षा सञ्चालनपछि दुई वर्षे स्नातकोत्तर तहको पठनपाठन गराउने सोच त्रिविको छ। पहिलो ब्याचमा २५ विद्यार्थी भर्ना लिने तयारी छ।'

मानविकी तथा सामाजिक संकाय शास्त्रका डिन चिन्तामणि पोखरेलले नेपालमा शैक्षिक उपाधिको रुपमा योग शिक्षा नभएकाले त्रिविले पठनपाठन गराउन लागेको बताए। आधुनिक मेडिकल साइन्सले बनाएका औषधि सेवनले मात्र मानव जीवन स्वस्थ नहुने र यस्ता औषधिको बढी सेवनले दीर्घकालिन साइड इफेक्ट पर्ने भएकाले मानव स्वास्थ्यका लागि योग शिक्षा आवश्यक्ता भइसकेको उनले जनाए।

'स्वस्थ जीवन बाँच्न योगले सिकाउँछ,' डिन पोखरेलले भने, ' कुनै तनावबिनै शरीरलाई स्वस्थ राख्न योग शिक्षाले सिकाउने भएकाले त्रिविले यसलाई शैक्षिक उपाधिकै रुपमा अघि बढाउन थालेको हो।' उनले थपे, 'हालसम्म नेपालमा योग शिक्षा तीन महिने, ६ महिने तालिमको रुपमा मात्र सीमित छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्