डेंगुबाट कसरी बच्ने ?

डेंगुबाट कसरी बच्ने ?

डेंगु ज्वरो एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालो–सेतो छिर्केमिर्के रङको हुन्छ । सहर तथा नगरोन्मुख बस्तीहरूमा पाइने यस्ता लामखुट्टे बस्ने स्थान नष्ट गर्नु नै रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले खुला स्थानमा राखिएका मोटरगाडीका टायर, प्लास्टिकका बोतल, प्लेटसहितको गमला, फुटेका भाँडाकुँडा तथा खपटा, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थान र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएका पानीका भाँडाहरू नष्ट गर्नुपर्छ । त्यस्तै, यस जातका लामखुट्टेले आफ्नो वृद्धिविकास पानी जम्ने स्थानमा गर्ने भएकाले घरवरपर पानी जम्ने खाल्डो भएमा पुर्नुपर्छ ।
डेंगुका लक्षण
डेंगु अति तीव्र खाले विषाणुजन्य रोग हो । यो रोग लागेमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबर आउने हुन्छ । केही बिरामीको शरीरमा सुरुमै रातो बिमिरा आउँछन् । त्यस्तै, शरीरमा डन्डिफोरजस्ता डाबर देखिन्छन् । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तश्राव हुन्छ । तर, डेंगु हिमोराजिक फिभरबाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून छ । यस्ता बिरामीलाई विशेष हेरचाह गर्न अस्पताल भर्ना गर्नुपर्छ । यो रोगका बिरामी सामान्यतया वैशाखदेखि मंसिर महिनासम्म देखिने गरेका छन् ।
यो रोगबाट बच्ने उपायहरू
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । त्यसैले पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । हातखुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
डेंगु सार्ने एडिज लामखुट्टेले मानिसको बस्तीवरिपरि प्राकृतिक वा कृत्रिम रूपले जमेको पानीमा फुल पार्छ । त्यसैले बाटा, बाल्टिन, प्लेटसहितको गमला, एयरकन्डिसनर, लोटा, गिलास, कतारो, खुला बोतलहरू, थोरैभन्दा थोरै पनि पानी जम्ने भाँडाहरू (जस्तै– सिसीको बिर्को), खुला पानीको ट्यांकी वा खुला पानीका भाँडाहरू नष्ट गर्नुपर्छ । पानी जम्ने स्थान राख्नु हुँदैन ।
डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्छ । यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ । -नयाँपत्रिका

डा. भीम आचार्य
निर्देशक
इपिडिमियोलोजी तथा
रोग नियन्त्रण महाशाखा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्