श्रीलंका टापु: जहाँ छैन निर्वाचनको चर्चा

श्रीलंका टापु: जहाँ छैन निर्वाचनको चर्चा

विदुर कटवाल
देशैभरि स्थानीय तहको चुनावी माहोल तात्तिएको बेला उदयपुर र सुनसरीको भुभाग समेटिएको श्रीलंका टापुलाई भने निर्वाचनको वास्तै छैन । हरेक दिन सप्तकोशीसँग पौंठेजोरी खेल्ने बासिन्दालाई नजिकिँदै गरेको निर्वाचनको बारे कुनै चासो नरहेको देखिएको छ ।

सप्तकोशीको बिच भंगालोमा रहेको श्रीलंका टापु नयाँ संरचनाअनुसार उदयपुरतर्फको बस्ती वेलका नगरपालिका २ र ९ नम्बर वडामा परेको छ भने सुनसरीतर्फ बराहा नगरपालिकाको ६, ७ र ९ नम्बर वडामा छ । टापुमा १२ हजारभन्दाबढी घरधुरी रहेका छन् ।

नगरबासी भएपनि सो क्षेत्रका बासिन्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत, बजार लगायतका अति आवश्यकीय पूर्वाधारबाट पूर्णरूपमा वञ्चित छन् । स्वास्थ्यचौकी भवन भएपनि स्वास्थ्यकर्मी बस्दैनन् । विद्यालय भएपनि गुणस्तरीय शिक्षा पाउने अवस्था छैन ।

बेलका–२ का स्थानीय लक्षमण थापाले अन्य गाँउघरमा लागेको स्थानीय निर्वाचन टापुलाई नलागेको बताउनुभयो । नेताहरुले आफ्नो गाउँलाई ‘भोट बैंक’को रूपमा हेर्ने गरेकोले स्थानीय दिक्क रहेको उहाँको भनाइ छ । त्यसो त चारैतिर सप्तकोशीले घेरिएको टापुमा नेताहरू पनि कमै मात्र पुग्ने गरेका छन् ।
सप्तकोशीको बगरमा रहेको ऐलानी जमिनलाई पशुपालनका माध्यमबाट जीविको पार्जन गर्नेहरुमध्ये भोट संकलनको लागि यस क्षेत्रका अगुवालाई वडाको नेता बनाउँदै आएका छन् । ऐलेनी जमिनमा बसिरहेका सर्वसाधारण नगरपालिका बनेपछि जग्गादर्ता होला कि भन्ने आशमा भने छन् ।

बाहुन, क्षत्री र आदिवासी जनजातिको बसोबास रहेको टापु भौगोलिक कारणले पछि परेको क्षेत्र हो । स्थानीयले त्यसको सम्बोधन गर्न छुट्टै गाँउपालिका बनाउन माग गरेका थिए । तर, त्यसको सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
टापुका सर्वसाधारण किनमेल र ओखतीमुलो गर्न नजिकको बांगे बजार पुग्न डुंगा चढेर जाने गर्छन् । सिसौलीघाट र राजावसामा डुंगा लाग्छ । पूर्व सुनसरीको प्रकाशपुर बजार नजाने हो भने पश्चिम उत्तर उदयपुरको बेलका नगरपालिककाको रामपुरबजार पुग्नुपर्छ । कोशीको भंगालोमा जता गए पनि डुँगा नचढी सुखै छैन ।

बाढीले हरेक बर्खामा गर्ने कटान नरोकिँदा सो ठाउँबाट मानिसहरू बसाइँ सर्ने क्रम पनि बढेको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष नजिकै पर्ने भएकाले बथानका बथान जंगली हात्ती पसेर खाद्यान्न र फलफूल बली नष्ट गरिदिने पीडा अर्कोतिर छ । स्थानीय धु्रव थापाले बाली लगाएपनि भित्र्याउन पाइएला कि नपाइएला भन्ने चिन्ता हुने गरेको बताउयनुभयो ।

उदयपुर केन्द्रविन्दु बनाएर २०४५ भदौमा भूकम्पका कारण उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोशीले धार परिर्वतन गर्दा टापु निर्माण भएको थियो । सप्तकोशी नदीले साबिकको बहाब छाडेर दायाँबायाँ दुवैतिर धार परिवर्तन गरेपछि साविक तीन गाविसका चार वडाका बासिन्दा सप्तकोशीको घेराबन्दीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्