चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ८ खर्ब २४ अर्ब रुपैयाँ

चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ८ खर्ब २४ अर्ब रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ८ खर्ब २४ अर्ब रुपैयाँ देखिएको छ । यो घाटा गएको वर्षको सोही अवधिको भन्दा ३२.१७ प्रतिशत बढी हो ।
यो रकम नेपालको आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेटभन्दा ३५ प्रतिशतमात्रै कम हो । आगामी आर्थिक वर्ष सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ११ महिनामा मुलुकमा ८ खर्ब ९३ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा ६८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । गएको वर्ष सोही अवधिमा ६ खर्ब ८५ अर्ब रुपैयाँको आयात भएको थियो भने ६१ अर्ब रुपैयाँको निर्यात भएको थियो ।
विभागका अनुसार गएको भन्दा यस आर्थिक वर्षको ११ महिनाको आयात निर्यातको दर साढे १६ प्रतिशत बढेको छ । यो वर्ष निर्यातभन्दा आयात १३ गुणा बढी छ । जबकि गएको आर्थिक वर्षमा त्यो दर ११ गुणामात्रै थियो ।
चालू आर्थिक वर्षको ११ महिनामा आयात बढेको र निर्यात घटेको देखिन्छ । जसमा गएको वर्षभन्दा यस वर्ष समग्र व्यापारमा आयातको हिस्सा १.१७ प्रतिशतले बढेको छ भने निर्यातको हिस्सा १३.०७ ले घटेको विभागको आँकडाले देखाउँछ ।
चालू वर्षको समग्र ११ महिनाको व्यापारमध्ये निर्यातको हिस्सा ७.१ प्रतिशतमात्रै छ । बाँकी ९२.९ प्रतिशत आयातको हिस्सा छ । गएको आवको सोही अवधिमा निर्यातको हिस्सा चालू वर्षभन्दा १.१ प्रतिशतले बढी अर्थात् ८.२ प्रतिशत थियो भने आयातको हिस्सा ९१.८ प्रतिशत थियो ।
विभागले जनाएअनुसार यो ११ महिनाको अवधिमा जिवीत पशुमात्रै २ अर्ब रुपैयाँको आयात गरिएको छ । त्यस्तै दूधजन्य पदार्थ, प्राकृतिक महलगायत २ अर्ब ३६ करोड, तरकारीलगायत वस्तु १९ अर्ब ५८ करोड, जनावर तथा प्राकृतिक (भेजिटेबल)जन्य बोसोलगायत तेल २५ अर्ब ४२ करोड, खनिजसम्बन्धी इन्धन, तेल, मैनलगायत आयातका लागि १ खर्ब २७ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्