दसैँसम्ममा डेढ लाख भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

दसैँसम्ममा डेढ लाख भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

काठमाडौँ, साउन १५, भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउने भएको छ ।
विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।
भूकम्पका कारण प्रभावित जिल्लामध्ये बढी गुनासा आएका स्थानमा सर्वेक्षण गर्न प्राधिकरण आफैले प्राविधिक खटाउन लागेको हो ।  यसरी खटिने प्राविधिले डेढ महिनामा त्यस्ता पीडितको सर्वेक्षण गरिसक्ने प्राधिकरणले जानकारी दिएको छ ।
त्यसका लागि प्राधिकरणले विभिन्न जिल्लामा खटिएका कर्मचारीलाई तालिम दिइसकेको छ भने उहाँहरूले स्थलगत रूपमा खटिने इन्जिनियरलाई तालिमसहित गाउँ गाउँमा जान सहजीकरण गर्ने बताइएको छ ।
त्यस्तै कतिपय स्थानमा निर्माणाधीन घरको सुपरीवेक्षण र पीडितले आफ्नै प्रयासमा बनाइसकेका घर सरकारले तोकिदिएको मापदण्डअनुसारको भूकम्प प्रतिरोधी भए नभएको प्रमाणित गर्ने काम प्राविधिकले समयमा नगरिदिएको गुनासो पनि प्राधिकरणमा थुप्रिएका छन् ।  त्यसरी बनाएका घरलाई भूकम्प प्रतिरोधी बनाउन थप सुधार गर्नुपर्ने भएमा त्यो समेत गर्न लगाई एकमुष्ठ तीन लाख रुपियाँ उपलब्ध गराउने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले त्यसका लागि  बनेका घरका ‘करेक्सन म्यानुअल’ बनाएर त्यसअनुसार काम गर्न प्राविधिकलाई निर्देशन भएको प्रवक्ता भूषालले बताउनुभयो ।  प्राधिकरणका अनुसार हालसम्म ४५ हजार २३५ जनाले निजी आवास निर्माण सम्पन्न गरिसकेको छन् ।  प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्म १४ जिल्लामा एक लाख १४ हजारभन्दा बढी घर निर्माण भइरहेका छन् भने प्रक्रियागत रूपमा घर निर्माण गरेर तेस्रो किस्ताको माग गर्नेको सङ्ख्या सात हजार ८ सयभन्दा बढी छ ।  प्राधिकरणले आगामी दसैँसम्ममा करिब डेढ लाख भूकम्पपीडितले नयाँ घर बनाएर प्रवेश गर्ने देखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्