प्रेम देवान
विराटनगर १५ फागुन ।
सम्भवत कमैलाई थाहा होला विराटनगरको विरेन्द्र सभागृह कहिले र कसले यसको सिलान्यास र उद्घाटन गर्यो भनेर । हामी कमै मात्र छौ होला विरेन्द्र सभागृहमा प्रवेश नगर्ने । बर्षमा सयवढी कार्यक्रम यही सभागृहमा कार्यक्रम हुँदै आएको छ । सिजनको बेला महिनामा १० देखि १२ वटासम्म कार्यक्रम गर्ने एक मात्र स्थान बिरेन्द्र सभागृह हो । कुनै ठुला कार्यक्रम गर्नु पर्यो भने यसको अन्य बिकल्प छैन ।
करिब एक हजार मानिसको क्षमता रहेको भवनको अवस्था भने जिर्ण भग्नाशेष अवस्थमा पुगेको छ ।
आज भन्दा ४३ बर्ष अगाडी निर्मित भवनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्मको सभासम्मेलन हुने गर्दछ । विक्रम सम्वत २०३१ साल कार्तिक ७ गते कोशी अञ्चललाधीश वीरेन्द्र बहादुर शाहबाट यस सभागृहको सिलान्यास भएको थियो । २०३३ साल फागुन ६ गते स्वर्गिय राजा वीरेन्द्रवीर विक्रम शाहबाट वीरेन्द्रसभागृहको उद्घाटन गर्नुभएको थियो । सम्भवत प्रदेश नम्बर १ मा नै होला सबैभन्दा ठूलो मानिएको विराटनगरमा रहेको विरेन्द्र सभागृह । यही सभागृहमा मुलकका राष्ट्रपति तथा प्रधानमन्त्रीहरु आए ठुला ठुला भाषणहरु गरेका छन् । यही सभागृहबाट राष्ट्र निर्माण देशको योजना निर्माणका कामहरु पनि भएका छन् ।
एक महिना पनि भएको छैन, माघ २२ गते यही सभा भवनमा प्रदेशसभाका सभामुख र प्रदेश सभा सदस्यहरु मात्र हैन प्रदेश नम्बर एकका मुख्यमन्त्रि देखि अन्य मन्त्रिहरुले यही स्थानमा सपतखाएका थिए । ठुलो सभागृह र सरकारी स्तरबाट बनाईएको सभा भवन भएकोले पनि यहाँ अधिकांश कार्यक्रम हुने गरेको छ । सरकारी कार्यक्रम मात्र हैन । लायन्स, लियो, जेशिष, रोटरी क्लवका लगायत अन्य सामाजिक संघसस्थाहरुको अन्तराष्ट्रिय स्तरका सभा सम्मलेन पनि यही सभागृहले सोभा बढाएको छ ।
आयोजकले पैसा तिरेअनुरुपको सभाहलको अबस्था भने अस्तब्यस्त छ । पछिल्ला दिनहरुमा यही सभागृहमा आयोजना गरिएका कार्यक्रमबाट आयोजकले टिकाटिप्पणी पनि ब्यहार्दै आएका द्धछन् ।
सभागृहकाले दिएको सास्ती
विरेन्द्र सभागृह बाहिरबाट जति आकर्षित देखिन्छ, त्यति नै भित्री रुप बिग्रिएको छ । बिरेन्दै्र सभागृहको ब्यथा फरक छ । सभागृहमा कार्यक्रममा सहभागि हुन जानेहरु लगाएको कपडा च्यातिएको आक्रोस पोख्दै बाहिरिन्छन् भने कतिपय फोहोर लाग्यो भन्दै निस्कीएका घटनाहरु लामै भईसकेको छ । भर्खरै मात्र विरेद्र सभागृहमा एक कार्यक्रम सहभागी बन्न पुगेको विराटनगरका एक सञ्चारकर्मीको पाईन्ट नै च्यातियो । एक जना शिक्षक सामान्य घाइते नै बन्न पुगे । नाम नखुलाउने सर्तमा भन्दै थिए, ‘यतिका ठूलो कार्यक्रममा आएको छु कसरी च्यातिएको पाईन्ट देखाउदै जानु ।’ लाजमर्दो छ यति एउटा कुर्सिको काटी पनि राम्ररी ठोक्न नसक्नेले कसरी महानगरको विकास गर्छन् ? उनले भने ।’
तपाईलाई खुल्दुली भईरहेको हुनुक्छ, सभागृहको कार्यक्रममा जाँदा कपडा च्यातिने वा घाईते हुने भन्ने बिषय । सभागृह भित्र राखिएको फुटेका, भाँचिएका कुुर्सीले धेरैलाई हैरान पारिसकेको छ । सभागृहको लथालिङ्ग अबस्था देखेर जो कोहीलाई पनि अचम्म लाग्ने गर्छ ।
पहिलो पटक आउने अतिथी लगायत सर्वसाधारण पनि कुर्सिहरु देखेर डराउने गर्दछन् । कहिले काँही त सभागृह भिडले खचखच भरिन्छ । कतिपय त त्यही टुटेफुटेको कुर्सीमा पनि बस्नु पर्ने बाध्ययता रहन्छ र बसेका पनि छन् ।
एक कार्यक्रममा सहभागि हुन पुगेका बिराटनगर १ का एक जेष्ठ नागरिकले भने, ‘बिराटनगर महानगरपालिकाको यस्तो राम्रोे हललाई किन यस्तो बेहाल बनाएका होलान् ?’
यस्तो संरचना
सभाहलको अगाडी रहको राम्रो देखाउन बनाईएका विम पनि जिर्णभई भत्किन थालेको छ । सभाहलमा ठूला आवाजमा घन्काईने साउण्ड सिस्टमले पनि कहिलेकाही थर्केर विमका माटाहरु झर्ने गरेका छन् । ट्वाईलेट बाथरुम पनि उस्तैछन् ट्वाईलेटका ढोकाहरु सबै धमिराले खाएर छियाले भाँचिने अबस्थामा छन् । सभाहलको वेईटिङ रुममा पनि धमिरा लाग्न थालेकाछन् । सभाहलको वरीपरिको वातावरण सफा र हरियाली हुनु पर्ने हो ठ्क्कै त्यसको फरक छ ।
बाहिरबाट आउने कलाकारलाई पनि विरेद्रसभागृहको अवस्था देखाउन लाजमर्दो भएको बिभिन्न समयमा कार्यक्रम आयोजना गर्दै आउनु भएका निराजन लुईटेलले गुनासो गर्नुभयो । बेला बेलामा विभिन्न फेशन शो जस्ता कार्यक्रमहरु गर्दै आएका लुईटेलले हलमा माकुराको जालो र भित्तामा ठोकिएका काँटीका प्वालले स्टेजको शो नै बिगिएको बताउनुभयो । ‘पैसा पनि तिरेको हुन्छ बिजुलीको बिल पनि तोकिएको भन्दा बढी लिने गर्दछन्, लुईटेलले भन्नभयो, ‘बर्षौ देखि बाहिर राखिएका सवारीहरुले त सभा भवनको शो झनै विगारेको छ।’
नेपाल भारतसरकारको सहयोगमा संचालित विग्रएर थन्कीएको एमुलेन्स देखेर बेला बेला हुने कार्यक्रममा आएका अतिथी तथा सर्वसाधरण पनि तर्सने गर्छन् । १० बर्षभन्दा पहिले देखि थन्क्याएर राखिएको थोत्रो एमुलेन्स यसरी राखिनुले सभा भवन परिसर कवडी गोदाम जस्तै देखिने गरेको नगरपालिकाका नगर रक्षक गुनासो गर्छन् ।
उठाएको रकम कहाँ खर्च हुन्छ
विरेन्द्रसभागृह विराटनगर महानगरपालिकाको मातहतमा चल्दैछ । शुरुमा बिरेन्द्र सभागृह संचालक समितिले संचालन गर्दै आएकोमा पछि यो स्वामित्व महानगरपाकिलामा आएको हो । कसैले कार्यक्रम गर्नुपर्दा महानगरसँग अनुमति लिनु पर्छ । अनि महानगरले पनि कार्यक्रम गर्न दिए वापत रकम लिँदै आएको छ । राजनैतिक दलसँग ३ हजार भाडा लिँदै आएको छ । भने संघसस्था, स्कुल कलेज, वित्तियसस्थासँग ५ हजार र टिकट लिने साँस्कृतिक कार्यक्रम गर्नु पर्दा दैनिक ८ हजारका दरले रकम लिने गरिएको छ। तर उठेको रकमबाट भने सभाहलको मर्मतमा एक रुपैयाँ पनि खर्च भएको देखिँदैन । यसरी सभागृहबाट गत बर्ष मात्र २ लाख २० हजार उठेको देखिन्छ । उठेको रकम बिराटनगर महानगरपालिकाको राजश्व दाखिलामा देखिएपनि बर्षमा उठ्ने सरदर २ लाख देखि २ लाख ५० हजार सम्मको रकम राजश्व शाखामा दाखिला हुने आन्तरिक राजश्व महाशाखाका प्रमुख अर्जुन कुमार थपलियाले जानकारी दिनुभयो । तर मर्मत सम्हारको लागि रकम खर्च अहिले भएको छैन । तत्काल मर्मत सम्हार र रङ रोगनका लागि स्टीमेट निर्माणको काम भईरहेको छ ।
सभसाहल निर्माणमा ७ करोड लाग्ने
महानगरपालिका मेयर भीम पराजुलीले महानगरपालिकाले आर्थिक बर्ष ०७४÷७५ को निती तथा कार्यक्रम सार्वजनिक गर्दै सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम नगरभित्रका पुराना तथा जिर्ण अवस्थमा रहेका ऐतिहासिक भवनको मर्मत तथा सम्भार गर्ने घोषणा गर्नु भएको थियो । तर आज यतिका दिन भईक्दा पनि हिजो जस्तो थियो आज पनि त्यस्तै नै छ ।
विराटनगर अहिले महानगर मात्र छैन एक नम्बर प्रदेशको अस्थाई राजधानी पनि हो । विराटनगरलाई एक नम्बर प्रदेशको स्थायी राजधानीको लागि सभागृहको ब्यवस्थापन पनि अर्को पाटोको रुपमा रहेको छ । राजधानीको एउटा गहनालाई संरक्षण गर्नु आवश्यक छ । देखाउनको लागि पनि महानगरले यसको स्तर उन्नतिको लागि ७ करोड लाग्ने बिराटनगर महानगरपालिकाको भनाई छ । मेयर पराजुलीले पुनारो संरचना भएकोले सभागृहको अबस्था बिग्रिएको स्वीकार गर्दै तत्काल कुर्सी, वायरिङ र सरसफाईको लागि काम शुरु गर्न लिखित निर्देशन दिई सकेको आवर विराटनगरलाई जानकारी दिनुभयो । ‘सभागृहको डिपिआर तयार भईसकेकोले ७ करोडको स्टिमेट छ, मेयर पारजु्लीले भन्नुभयो, विराटनगर महानगरको आन्तरिक बजेटले नभ्याउने भएकोले खास बजेट छ्ुट्याएको छैन ।’
उहाँकाअनुसार, सहरी विकास मन्त्रालय लगायतका दातृ निकायसँग वातानुकुलित सभाहल निर्माणको लागि लविङ भईरहेको छ ।